कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गमका होमस्टे पुग्दैनन् पर्यटक

रमेशकुमार पौडेल

चितवन — सिराईचुली चितवनको सबैभन्दा अग्लो पहाडी चुचुरो हो । त्यहाँबाट सूर्योदय र हिमशृंखलाको मनोरम दृश्य देखिन्छ । केही वर्षयता सिराईचुलीलाई चितवनको नयाँ पर्यटकीय गन्तव्यका रूपमा पनि प्रचार गरिँदै आएको हो । सिराईचुली पुग्ने पर्यटकलाई राख्न नजिकैको हात्तीबाङ गाउँमा होमस्टेहरू पनि खुले । तर ती होमस्टेमा पर्यटक भने देखिँदैनन् ।

दुर्गमका होमस्टे पुग्दैनन् पर्यटक

इच्छाकामना गाउँपालिका–१ मा पर्छ हात्तीवाङ गाउँ । हात्तीवाङमा बास बसेपछि बिहानै उठेर सिराईचुली गए सूर्योदय हेर्न भ्याइन्छ । ‘सूर्योदय हेरेर सौराहा जाने वा फर्केर हुग्दी हुँदै काठमाडौं पोखरा जाने भनेर यो पहाडी पैदल मार्गको अवधारणा आएको थियो ।’ हात्तीवाङ होमस्टे समितिका अध्यक्ष सन्तबहादुर मगरले भने । तर पहिला भनिए जसरी पदमार्गको खासै प्रचार प्रसार नभएको उनको गुनासो छ ।


चितवन जिल्ला विकास समितिले ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टीआरपीएपी) सञ्चालन गरेको थियो । कार्यक्रमअन्तर्गत पृथ्वीराजमार्गमा पर्ने धादिङको हुग्दीदेखि चितवनको शक्तिखोरसम्म चेपाङ पहाडी पदमार्ग विकास गरिएको थियो । पदमार्गमा सिराईचुलीजस्तै चरा हेर्नका लागि प्रख्यात चिसापानीगढी र ऐतिहासिक किल्ला उपरदाङगढीजस्ता पर्यटकीय क्षेत्र छन् । शक्तिखोरदेखि नजिकै छ सौराहा । त्यसैले काठमाडौंबाट हुग्दी हुँदै हात्तीवाङ बसेर सौराहा जाने तथा सौराहाबाट शक्तिखोर हुँदै हात्तीवाङ बास बसेर र हुग्दी झरेर काठमाडौं पोखरा जाने पर्यटकलाई बस्नका लागि होमस्टे तयार गरिएको हो । २०६० सालमा होमस्टे तयार गरिएको अध्यक्ष मगरले बताए । त्यो बेला आठ वटा रहेका होमस्टे हाल १३ पुगे । तर ३/४ वटा मात्रै राम्रोसँग चलेको उनले बताए ।


‘खुलेर के गर्नु राम्रोसँग चलेको भए स्याहार पनि पाउँथे । अहिले त एकाधको बाहेक धेरैको कोठा बिस्तारा लथालिंग छन् ।’ सन्तबहादुरले भने । कुनै बेला गाउँमा विदेशी पर्यटकहरू पनि आउँथे । अहिले फाट्टफुट्ट मात्रै देखिने गरेको उनले बताए । त्यही भएर होमस्टे चलाउनेहरूको जाँगर मरेको हो भन्छन् सन्तबहादुर । ‘एउटा समूह आएर बसे एक/दुई हजारको कारोबार हुने हो । महिना, दुई महिनामा अलिअलि आएपछि होमस्टे चलाउन कसले रुचि दिने ?’ सन्तबहादुरले भने ।


हात्तीवाङमा सुरुदेखि नै होमस्टे राख्नेमा तिलक राना पनि हुन् । उनको घरमा अझै पनि पाहुना आए बस्ने सुत्ने ठाउँ छ । कुनै बेला वर्षमा १ सय ५० जनासम्म राखेका उनले पछिल्लो समय १५/२० जना पनि राख्न पाएका छैनन् । ‘बढ्नेभन्दा घटो छ । कसरी चलाउने ?’ तिलकले भने । सरकारले हुग्दी, हात्तीवाङ, सिराईचुली, गढी, शक्तिखोर पर्यटक पदमार्ग सुरु गरे पनि प्रचारप्रसार राम्रोसँग नगरेको उनले बताए ।


उनले खाने बस्ने सस्तो दर भएपनि पाहुना नआएको गुनासो गरे । विभिन्न स्कुल कलेजबाट आउने विद्यार्थीका कारण केही होमस्टे धानिएको सचिव जगदीश पुरीले बताए ।


‘वर्षमा विभिन्न कलेजले १/२ सय विद्यार्थी घुमाउन ल्याउँछन् । कहिले काही फाट्टफुट्ट स्वदेशी/विदेशी पर्यटक पनि आउँछन् । तिनैका भरले एकाध होमस्टे चलेका हुन् ।’ सचिव पुरीले भने । उक्तमा क्षेत्र विपन्न आदिवासी चेपाङ समुदकायको बाक्लै बसोबास छ । टीआरपीएपीले चेपाङलाई पनि होमस्टे राख्न दिएको थियो । तर चेपाङले चलाएका होमस्टे सुरुमै बन्द भएको उनले बताए ।

प्रकाशित : वैशाख ९, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?