कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्णय कार्यान्वयन भएन

सडक मापदण्ड
टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकाले लागु गरेको सडक मापदण्डको कार्यान्वयनबारे विवाद उत्पन्न भएको छ । कतै मापदण्ड लागु गर्न कडाइ गरिएको छ भने कतै छोडिएकाले निर्णय कार्यान्वयन विवादमा तानिएको हो ।

निर्णय कार्यान्वयन भएन

मापदण्डका कारण लिखु तामाकोसी गाउँपालिकाका भूकम्पपीडित घर बनाउने अन्योलमा छन् । गाउँपालिकाले तिल्पुङदेखि सैपुको ढाँडेसम्मको सडकको मध्यभागबाट दुवैतर्फ ११/११ मिटर छोडेर मात्र घर/टहरा बनाउन पाउने मापदण्ड लागु गरेपछि कतिपय पीडितले घर बनाउन पाएका छैनन् । घर बनाउनका लागि डीपीसी गरेका केही लाभग्राहीलाई गाउँपालिकाले थप निर्माण कार्य गर्न दिएको छैन ।

सडकको मध्यभागबाट ८ मिटर छोडेर घर बनाउन डीपीसी हालेका नागदहका प्रमेश दमाईको घर गाउँपालिकाले निर्माण कार्य रोकेको महिनौं भयो । मापदण्ड उल्लेख गरेर पुनर्निर्माणमा खटिएका प्राविधिकलाई गाउँँपालिका अध्यक्ष गोविन्दबहादुर खडका आफैंले घरको दोस्रो र तेस्रो किस्ता रोक्नका लागि आदेश दिएपछि उनको घर थप निर्माण हुन नसकेको हो । ‘घर निर्माण सक्ने बेलासम्म अन्योल त छ नै ।’ दमाई भन्छन्, ‘वर्षा कसरी कटाउने भन्ने चिन्ता थपिएको छ ।’ उनले घर निर्माणको अनुमतिका लागि राष्ट्रिय मानवअधिकार आयोगसम्म गुहारेका छन् । जिल्लाका पुनर्निर्माणदेखि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा नियमितजसो धाएका दमाई भन्छन्, ‘मेरो कुराको कतै सुनुवाइ भएन ।’

सडक क्षेत्रमा घर बनाउन रोक्ने गाउँपालिकाले धोवी बजारमा बन्ने घरलाई सडक मापदण्ड लगाएको छैन । धोवीमा घर बनिरहेका छन् । एउटै सडकमा कतै मापदण्ड लागु हुने र कतै नहुने गरेको भन्दै सर्वसाधारण गाउँपालिकाको मनोमानी भएको गुनासो गर्न थालेका छन् । धोवी बजारमा सडक केन्द्रबाट ५ मिटर पनि नछाडि धमाधम भवन बनिरहेका छन् । धोवीलाई छोड्ने अन्यलाई रोक्ने कार्य उचित नभएको स्थानीयको गुनासो छ ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खडका धोवी बजारमा धेरै संरचना बनिसकेकाले बजारबाहिरबाट सडक लैजाने योजना रहेको बताउँछन् । ‘धोवी बजारलाई छोडेर अन्यत्रबाट सडक लैजान सकिने अवस्था छ,’ खड्काले भने । तर गाउँकार्यपालिकाको बैठकले भने धोवीको हकमा बेग्लै निर्णय नगरे पनि अध्यक्ष खड्का आफ्नो बोली नै निर्णय भएको बताए । ‘तपाईं कोसँग बोलिरहनुभएको छ ?’ खड्काले टेलिफोनमा भने, ‘गाउँपालिका अध्यक्ष बोलेपछि लिखित नभए पनि निर्णय भएको मान्नुस् ।’ तर कार्यपालिकाको लिखित निर्णयले मापदण्ड लागु भएपछि धोवीमा पनि अर्को निर्णय नहुँदासम्म सोही निर्णय नै लागु हुने जिकिर अन्य क्षेत्रमा बसोबास गर्नेको छ । उनीहरूले जति कडाइ धोवीसम्म पुग्ने सडकमा छ, त्यति अन्यत्र नभएको गुनासो गरे ।

थोरै जग्गा हुने भूकम्पपीडितलाई गाउँपालिकाको निर्णयले मर्का परेको छ । तिल्पुङमा पुनर्निर्माणमा खटेका प्राविधिक श्यामसुन्दर यादव भन्छन्, ‘मापदण्ड लागु भएकाले हामीले केही भन्न सकेका छैनौं ।’ मन्थली नगरपालिकाले भने १४ मिटरको मापदण्ड कायम गरेको छ । जोडिएको नगरमा १४ मिटरको सडक भए पुग्ने अनि लिखुमा २२ मिटरको सडक किन चाहिने भन्दै सर्वसाधारण उक्त निर्णयमा सुधार हुनुपर्ने अडानमा छन् । तर अध्यक्ष खडका आफ्नो निर्णयमा टसमस छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम रामेछापका अन्य गाउँपालिकाले पनि सडक मापदण्ड बनाएका छन् । तर लागू गर्न सकेका छैनन । गोकुलगंगा गाउँपालिकाले सडकको मध्यदेखि दायाँबायाँ ७/७ र खाँडादेवी गाउँपालिकाले १०/१० मिटर मापदण्ड तोकेका छन् । तर निर्णयविपरीत धमाधम सडक क्षेत्रभित्र भवन बनिरहेका छन् । गोकुलगंगा ३ रस्नालुमा सडक मापदण्डभित्र घर बन्न नदिएको प्राविधिक प्रमिका कार्कीले बताइन् ।

प्रकाशित : वैशाख १०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?