कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षाका २६ नयाँ भवन अलपत्र

६ विद्यालय भवन निर्माण अलपत्र

नुवाकोट —  नयाँ विद्यालय भवन बनाउने आसमा बसेका सुन्दरीकन्या आधारभूत विद्यालयका प्रधानाध्यपक सोनाम लामाले समयमा निर्माण सुरु गर्न पाएनन् । 

शिक्षाका २६ नयाँ भवन अलपत्र

नयाँ भवन बनाउने रकम शिक्षा कार्यालयले विद्यालयको खातामा पठाइदेला र भवन बनाउन सुरु गराैँला भनेर बसेका लामा रकम नआएपछि शिक्षा कार्यालय पुगे ।


शिक्षाले जिल्ला आयोजना कार्यान्वयन इकाईबाट फाइल नआएको भनेपछि उनी कार्यान्वयन इकाईमा पुगे । ‘सम्झौता गरेको निकै समयमा भो भनेर इकाईको कार्यालय गएँ,’ उनले भने, ‘फाइल माग्दा इकाईका एक इन्जिनियरले टेबुल घर्राबाट फाइल झिकेर दिए ।’ सम्झौता गरेर छाडेको फाइल अगाडि नबढदा नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेन । उक्त विद्यालयले सम्झौता गरेको फाइल इकाईले सदर गरेर शिक्षा कार्यालयका लागि पठाउनुपर्ने प्रावधान छ ।


नयाँ भवन निर्माणका लागि विद्यालयले व्यवस्थापन समितिको निर्णयसहित गत मंसिर २७ गते सम्झौता गरेको जनाएको छ । ककनी गाउँपालिका ४ दोभानमा रहेको विद्यालयले नयाँ भवन बनाउन भनेर भूकम्पले भत्केका कक्षाकोठा भवनका संरचना भत्कायो । ‘जग ठिक्क पारेर बसेको भवन बनाउने पैसा नआएन, प्रअ लामाले भने, ‘भत्केका संरचना भत्काएर फाल्नै ३/४ लाख रुपैयाँ सकियो । अहिले विद्यार्थीलाई नभत्काएको पुरानो भवनमा राखेर पठनपाठन गराइरहेको उनले बताए ।


‘नयाँ भवनका लागि प्राविधिकले सबै तयारी गरेर इन्जिनियरको सहीछाप गर्न मात्रै बाँकी थियो,’ उनले भने, ‘फाइल त त्यत्तिकै रहेछ । अनि घर्राबाट झिकेर दिए, के भन्नु ।’ उनको विद्यालय दुईकोठे भवन टस्ट्रको बन्नुपर्ने थियो । इकाईमा कार्यरत प्राविधिकले सदरमुकामको दूरीअनुसार स्कुलनजिक नभएको, ट्रस्ट इकाईले भनेका मान्छेबाट काम गर्नुपर्ने सर्त पहिला राखेर बार्गेनिङ गर्ने गरेको विद्यालयले जनाएको छ । सामरीको धनेश्वरी प्राविको हालत पनि यस्तै छ ।


इकाईले आफ्नै विद्यालय भवन निर्माणबाहेक शिक्षाका ७१ वटा भवनको समेत प्राविधिक पाटो हेर्ने जिम्मेवारी दिएको छ । कार्यान्वयन इकाईले २६ वटा विद्यालयको फाइल अझै शिक्षा कार्यालय पठाएको छैन । शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत गइसकेको छ ।


शिक्षा कार्यालयका अनुसार दुइटा भवन चारकोठे र बाँकी दुईकोठे गरी २६ वटाको रकम ४ करोड ५६ लाख रुपैयाँ फ्रिज हुने देखिएको छ । शिक्षा अधिकारी चन्द्रबहादुर खडकाले भने, ‘जसले जिम्मेवारी लियो । यता रकम फ्रिज हुने भो । स्कुल बनाउने चाहने बनाउन पाएनन् ।’


इकाई कार्यालयले भनेअनुसार काम नगर्दा फाइल रोकिएको विद्यालयको बुझाइ छ । इकाई प्रमुख वैकुण्ठ सुवेदीले आफू फिल्डमा रहेकाले यसबारे कुनै जानकारी नभएको बताए । ‘फिल्डमा छु,’ उनले भने, ‘पछि तथ्यांक हेरेर भनुँला ।’

प्रकाशित : वैशाख १०, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?