कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो

गणेश राई

काठमाडौँ — यतिखेर देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी छ । त्यसैले शिक्षकहरू आफ्नो सेवा क्षेत्रभित्र अभियानलाई लिएर सचेतना र्‍याली प्रदर्शनमा व्यस्त छन् । नक्सालस्थित नन्दी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना लिन थालेको तेस्रो दिनमा ४० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो

तीमध्ये ३५ जना बोर्डिङ स्कुलबाट भर्ना हुन आएका छन् । राजधानीको एक बोर्डिङमा पढ्दै गरेका करणकुमार मण्डल र उनकी बहिनी अर्चना मण्डल नक्सालस्थित नन्दी माविमा भर्ना भएका छन् ।

यी दुई विद्यार्थी एकै बाबुआमा छोराछोरी हुन् । करण कक्षा ९ र अर्चना कक्षा ७ मा भर्ना भएका हुन् । अर्चना अब्बल छात्रामा पर्छिन् । कक्षा ६ मा प्रथम छात्रा हुन् भने करण औसत विद्यार्थीमा पर्छन् । ‘सामुदायिक विद्यालयमा पढ्दा पछि सरकारी छात्रवृत्ति पाउन सकिन्छ,’ निजी कम्पनीमा काम गर्ने अभिभावकपुत्र करण भन्छन्, ‘तर, त्यो भन्दा पनि हामीले पढेको स्कुलमा सर, मिस फेरिरहनु हुन्छ । पढाइ सुरु हुँदा एउटा र जाँच हुने बेलामा अर्कै हुन्छ । मासिक शुल्क, पुस्तकालय र कम्प्युटरको फी तिरिरहनुपर्छ । तर, पुस्तकालय र कम्प्युटर नाममात्र छ । भाडाको घर सानो कोठामा पढाइन्छ । त्यसैले सरकारी स्कुल खोजेर भर्ना भएर पढ्न थालेको हो ।’

त्यसैगरी रोशनी तामाङ र रोजिना तामाङ दिदी–बहिनी पढ्दै गरेको बोर्डिङ स्कुल छाडेर नन्दी माविमै भर्ना हुन आएका छन् । रोशनी कक्षा ८ र रोजिना कक्षा ५ मा भर्ना भएका हुन् । ‘नन्दी माविमा पढ्ने साथीले यहाँ राम्रो छ, फिस पनि तिर्नु पर्दैन भनेर यहाँ पढ्न आएका हौं,’ रोशनीले भनिन्, ‘यहाँ राम्रो रहेछ । वरिपरि खुला ठाउँ, फराकिलो कक्षा कोठा, खानेपानी, शौचालय रहेछ, राम्रो लागेको छ ।’ यी चार विद्यार्थी उदाहरणमात्र हुन् । भर्ना अभियान सुरु भएयता विद्यालय हेर्न आउने अभिभावक र विद्यार्थी बढेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं.१ को नागपोखरी पूर्वतर्फ यो विद्यालय रहेको छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले आफ्नी छोरी सनश्रीलाई समेत यही विद्यालयमा पढाएका छन् । ‘सनश्री कक्षा ७ की प्रथम छात्रा हुन्,’ प्रधानाध्यापक गीता काफ्ले भन्छिन्, ‘उनी बोर्डिङ स्कुल छाडेर कक्षा ४ देखि यहीँ पढ्दै छिन् ।’ यहाँ कक्षा नर्सरी, केजीसमेत पढाइन्छ । त्यसपछि कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यम र नेपाली माध्यमबाट फरकफरक सेक्सनमा पढाउन थालेपछि अभिभावकको ध्यानाकर्षण बढेको प्रधानाध्यापक काफ्लेले बताइन् ।

शैक्षिक सत्र २०७४ मा ४ सय ९२ जना विद्यार्थी भर्ना भएका थिए । तीमध्ये ४ सय २८ जना मात्र अन्तिम परीक्षामा सामेल भए । ‘भूकम्पपछि घर बनाउन जाने अभिभावकले आफ्ना छोराछोरी साथै लिएर गएकाले विद्यार्थी बीचमै छाडे,’ प्रधानाध्यापक काफ्ले भन्छिन्, ‘भूकम्पको राहत लिनैपर्ने भएकाले अभिभावकले विद्यालयलाई जानकारी दिएर घर गए । फेरि फर्किन पनि सक्छन् ।’ साथै, ७३ जनाले एसईई दिएका छन् । पढाउने ३७ शिक्षक कार्यरत छन् ।

सहायक प्रधानाध्यापक बलराम पौडेल यो वर्ष विद्यार्थी संख्या बढ्ने पूर्वानुमान गरेको बताउँछन् । किनभने २०७२ को भूकम्पपछि नन्दी माविको नयाँ भवन संरचना बनेको छ । विभिन्न संघसंस्थाको सहयोगमा भौतिक पूर्वाधार सम्पन्न भएपछि समुदायका अभिभावकको चासो बढेको हो । विद्यालयका तीनतले भवनमा पुस्तकालय, कम्प्युटर र ल्यापटपको अलगअलग दुई कक्ष, विज्ञान प्रयोगशालाको व्यवस्था गरिएका छन् । पाँच कोठाको एकतले पक्की भवन, प्रिफेबबाट बनेको पाँच कोठे कक्षाकोठा रहेका छन् ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?