कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातादेखि गाउँपालिका पूरै अन्धकार

प्राधिकरण नुवाकोट प्रमुख भन्छन्, 'नोलाइट शाखामा फोन गर्नुस्, सबै कुरो मलाई के थाहा’
कृष्ण थापा

नुवाकोट — जिल्लाको पञ्चकन्या गाउँपालिकामा करिब साता दिनदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीय मर्कामा परेका छन् ।

एक सातादेखि गाउँपालिका पूरै अन्धकार

पञ्चकन्याका कविलास, थप्रेक, मानेथोक, कातिकेगाउँ, कालिकास्थानलगायत ठाउँमा विद्युत् अवरोध भएपछि पुनर्निर्माण र स्थानीयको दैनिकमा समस्या आएको हो । काठमिल, प्लम्बिङ, टिन लगाउने काम हुन सकेको छैन । त्यस्तै धान, कोदो, मकै पिस्ने मिल नचल्दा स्थानीय मर्कामा परेका छन् ।


विद्युत अवरुद्ध भएपछि गाउँपालिकाको नियमित कामसमेत प्रभावित भएको अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताए । उनले भने, 'बिजुली गएर पालिकामा काम गर्न अप्ठेरो भएको एक साता भयो, प्राधिकरणमा सोध्दा बनाइरहेका छौं भन्छ ।’


गाउँपालिका कार्यालयकी प्राविधिक कर्मचारी निर्मला तामाङले बिजुली नआउँदा जरुरी काम हस्तलिखितबाट गर्दै आएको बताइन् । उनले भनिन्, ‘बिजुली गएको पाँच दिन भयो । महत्वपूर्ण काम भए लेखेर चलाइरहेका छौं । अझै बिजुली आउने ठेगान छैन ।’ उनका अनुसार गाउँपालिकाको मठभञ्ज्याङ क्षेत्रमा बुधबार जेसीबी डोजरले तार चुँडाएपछि झन् समस्या निम्तिएको छ ।


स्थानीयले भने विद्युत प्राधिकरण रसुवा-नुवाकोट वितरण प्रशाखा खरानीटारले बिजुलीको मर्मत गरेको जनाएर पन्छिने गरेको आरोप लगाउने गरेका छन् । उक्त गाउँपालिकाको एकलेमानेमा एक महिनादेखि स्थानीयवासीले बिजुली बाल्न पाएका छैनन् । प्राधिकरण खरानीटार शाखाले भने प्राविधिकहरु खटाएर समस्या पहिचान र मर्मतको काम भइरहेको बताएको छ । बस्तीमा टाँगिएको तार जुधेर सर्ट भएको आशंका गरिएको छ ।


विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोषकुमार अग्रवालले जानकारी नभएको भन्दै गैरजिम्मेवार प्रतिक्रिया दिए । ‘भर्खर सरुवा भएर आएको छु,’ उनले भने, 'नोलाइट शाखामा फोन गर्नुस्, सबै कुरो मलाई के थाहा ।’ उनी केन्द्रमा आएको एक महिना भन्दा बढी भइसकेको छ ।


प्रकाशित : वैशाख १२, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?