कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेब्रा क्रसिङमै जान्छ ज्यान

ट्रिपर र ट्रक चालकले गैरजिम्मेवार ढंगले गाडी चलाउँछन् : ट्राफिक प्रहरी
दीपेन्द्र विष्ट

काठमाडौँ — करिब एक महिनाअघि लोकन्थलीमा बा४ख ३०२० नम्बरको ट्रिपरले बा३४प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–५ देकोचा बस्ने ४९ वर्षीया इन्दिरा बिजुक्छेको ज्यान गयो । छ लेन सडकमा तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिँदा मृतकका श्रीमान् मोटरसाइकल चालक राजमान घाइते भए ।

जेब्रा क्रसिङमै जान्छ ज्यान

डेढ महिनाअघि शंखरापुर नगरपालिकाको कठनचोकमा ट्रिपरको ठक्करबाट पैदलयात्री विनोद कार्कीको मृत्यु भयो । बा४ख ५६१ नम्बरको ट्रिपरले ठक्कर दिँदा कार्कीको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भयो । महानगरीय ट्राफिक महाशाखाका अनुसार ९ महिनाको गाडी दुर्घटनालाई विश्लेषण गर्ने हो भने ट्रिपर र ट्रकको ठक्करबाट ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय ट्रिपर चालक नै सवारी दुर्घटनाको मुख्य कारण बनेको निष्कर्ष ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीका अनुसार ट्रिपर र ट्रक चालक अराजक बन्दै गएका छन् । यात्रुले सडक क्रस गर्दा ट्रिपरको ठक्करबाट ज्यान जाने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष ट्रिपर र ट्रकको ठक्करबाट मृत्यु हुनेको संख्या बढी देखिएको छ ।

साउनदेखि चैतसम्ममा १ सय ४३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत आव (२०७३/७४) मा गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय ८२ थियो भने ट्रक र ट्रिपरबाट मात्र ६८ जनाको मृत्यु भएको थियो । कम उमेरका चालक, चालकको गैरजिम्मेवारीपन, पर्याप्त कानुनको अभावले गर्दा ट्रक र ट्रिपरका कारण मृत्यु हुनेको संख्यामा प्रत्येक वर्ष वृद्धि हुने गरेको प्रहरीको दाबी छ ।

चालकले शृंखलाबद्ध रूपमा गाडी दुर्घटना गराउँदासमेत कारबाही गर्ने पर्याप्त कानुनी व्यवस्था छैन । ट्राफिक अधिकारीहरू लाइसेन्स रद्द गर्ने कानुन नभएसम्म यस्ता दुर्घटनामा कमी नआउने बताउँछन् । हालसम्म सामान्य जरिवानामा उन्मुक्ति पाउने र फेरि त्यसभन्दा जघन्य दुर्घटना गराउने प्रवृत्ति बढिरहेको छ । लापरबाहीले ज्यान लिने घटनामा पनि गतिलो कारबाही हुने गरेको छैन ।

गाडीको ठक्करबाट सामान्य घाइते भएमा पनि अस्पतालमा उपचारमा लाग्ने खर्चको झन्झटले चालकले घाइतेलाई किचेर मारेका घटनासमेत छन् । सवारी धनीले मृत्यु भएमा पीडितको आफन्तलाई ५ लाख रुपैयाँ तिर्नुपर्ने नियम छ । त्यो सवारी धनी वा व्यवसायीले भरिदिने भएकाले चालकको लापरबाहीमा कमी हुँदैन ।

त्यसका साथै, चालकको लापरबाहीले मृत्यु भएमा १० वर्ष जेल सजाय हुने कानुनी प्रावधान छ । तर, यो कानुनी व्यवस्थाअनुसार चालकलाई कारबाही हुने गरेको छैन । महानगरीय ट्राफिक प्रहरीका सहप्रवक्ता मुकुन्द मरासिनीले व्यावसायिक क्षमता नभएका कम उमेरका चालकहरूले ट्रिपर चलाउँदा बढी दुर्घटना भएको बताए । ‘सडक अनुशासनको ज्ञान नभएकाले गाडी चलाउँछन्,’ उनले भने, ‘अनि जेब्राक्रसमा समेत दुर्घटना गराउँछन् ।’

प्रकाशित : वैशाख १३, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?