कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरका सम्पदा नगरपालिकाले नै बनाउने

पुरातात्त्विक संरचनामा कंक्रिट प्रयोगको प्रस्ताव गरेपछि जर्मन सरकारसँगको सम्झौता भंग
लीला श्रेष्ठ

भक्तपुुर — भक्तपुर नगरपालिकाले भूकम्पमा क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा जर्मन सरकारसँगको सम्झौता भंग गरेको छ । पुरातात्त्विक संरचनामा मापदण्डविपरीत कंक्रिट प्रयोग गर्नेलगायतका प्रस्ताव ल्याएको भन्दै तीन वर्षअघिको सम्झौता तोडिएको हो ।

भक्तपुरका सम्पदा नगरपालिकाले नै बनाउने

नगरप्रमुख सुनील प्रजापतिले गत साता नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरसँग भेटेर औपचारिक रुपमै सम्झौता तोडेका हुन् ।


नगरपालिकाले सम्पदा पुनर्निर्माण मौलिक स्वरुप र पुरातात्त्विक सामग्रीबाटै हुनुपर्ने, उपभोक्ता समिति गठन गर्नुपर्ने अडान राखेको छ । जर्मन सरकारले जर्मन विकास बैंक (केएफडब्ल्यू) मार्फत सम्पदा पुनर्निर्माण गर्न २०७२ पुसमा नगरपालिकासँग सम्झौता गरेको थियो ।


केएफडब्ल्यूले रड तथा सिमेन्टसहितको कंक्रिट ढलान गर्नुपर्ने, आधुनिक प्रविधि अपनाउनुपर्ने, अन्तर्राष्ट्रिय परामर्श दाताको छनोटमा ठेक्का प्रणाली लागू गर्नुपर्नेलगायत प्रस्ताव राखेको थियो ।


सम्झौताअनुसार जर्मनीले नेपाल सरकारलाई उपलब्ध गराउने भनिएको ४० मिलियन डलरमध्ये १० मिलियन भक्तपुर नगरभित्रका सम्पदा पुनर्निर्माणमा खर्चने उल्लेख थियो । मुख्यमुख्य १० वटा सम्पदा र तीनवटा विद्यालय पुनर्निर्माण गर्ने सम्झौता थियो । यसअन्तर्गत पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, पुजारी मठ, राष्ट्रिय कला संग्रहालय, लाल बैठक, नगरपालिका र भूमिसुधारका पुराना भवन, बेताल द्यो छें, हाडाछें, त्रिपुरासुन्दरीस्थित जगन्नाथ क्षेत्र, खौमा बाहा, सालां गणेश क्षेत्र, च्याम्हासिंहदेखि भार्वाचोसम्म नगरको मुख्य सडकमा ढुंगा बिछ्याउने र श्री पद्म मावि, निकेतन मावि र शारदा मावि समेटिएका थिए । तर, सम्झौताको तीन वर्षमा जर्मनीले पुजारी मठ मात्र पुनर्निर्माणको प्रस्ताव गरेको नगरप्रमुख प्रजापतीले बताए ।
विश्व सम्पदामा सूचीकृत र अन्य ऐतिहासिक संरचना अन्तर्राष्ट्रिय टेन्डरमार्फत पुनर्निर्माण गर्दा समस्या हुने उनको बुझाइ छ । सम्पदा संरक्षणमा स्थानीयको समर्पणभाव समेटिनुपर्ने, मौलिकता जोगिने गरी निर्माण गर्नुपर्नेमा प्रजापतीले जोड दिए । ‘नगरले स्थानीयको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणका काम गरिरहेको छ,’ उनले भने, ‘उपभोक्तामार्फत गर्दा संरचना बलियो हुन्छ, यसप्रति उनीहरूको अपनत्व पनि रहन्छ ।’ स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्रीकै कारण पाँचतले मन्दिर, ५५ झयाले दरबार, भैरवनाथ मन्दिरलगायत सम्पदा सयौं वर्षसम्म जस्ताको तस्तै रहन सकेको प्रजापतीले बताए । नगरपालिकाले आफ्नै इन्जिनियरिङ कलेज सञ्चालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधि प्रयोगबाट बलियो र भूकम्पप्रतिरोधी संरचना निर्माणबारे अध्यापनसमेत गराइरहेको उनले जानकारी दिए ।


जर्मन राजदूत सेफरले केएफडब्ल्यूमार्फत गरिने सहयोग हाललाई बन्द भएको जनाउंदै भक्तपुरको विकास र सम्पदा संरक्षणमा अन्य उपयुक्त माध्यमबाट सहयोग गरिने प्रतिबद्धता जनाए । उनका अनुसार नगरपालिका र केएफडब्ल्यूबीच परियोजना सञ्चालनसम्बन्धमा देखिएका प्रमुख ३ वटा असमझदारीका कारण सम्झौता तोडिएको जनाएको छ । ‘सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रिय स्तरमै छलफल हुनेछ,’ उनले भने, ‘यसमा जर्मन सरकारका तर्फबाट पनि सहयोगको अवसर पाउने विश्वास छ ।’ उक्त भेटमा नगरप्रमुख प्रजापतीले भूकम्पको पीडामा रहेका भक्तपुरबासीहरूलाई सहयोग गर्ने जर्मन सरकार र नागरिकहरूलाई धन्यवाद ज्ञापन गरे । उनले भक्तपुरका सम्पदा संसारकै सम्पत्ति भएकाले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको प्रस्ट पारे ।


भेटमा नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, ७ का उकेश कवां, पर्यटन अधिकृत दामोदर सुवाल, जर्मन विकास सहयोग प्रमुख क्लाउडिया हिपे, शंकर पाण्डे र टीका ढकाललगायत पनि उपस्थित थिए ।


केएफडब्ल्यूले गर्ने भनिएका कतिपय
सम्पदाको पुनर्निर्माण नगरपालिकाले नै थालिसकेको र बाँकी सम्पदा पुरातत्त्व विभागसँग छलफल गरी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख प्रजापतीले बताए । ‘राष्ट्रिय कला संग्रहालयसँगैको राणाकालीन लालबैठकलाई मल्लकालीन शैलीमा निर्माणका लागि लगत इस्टिमेट, नक्सा तयार गर्नेलगायत काम सुरु भइसकेको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १९, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?