कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांस्कृतिक राजधानी घोषणा मात्रै

पाटन दरबार क्षेत्रसँग सम्बन्धित नाच धेरै छन् । अनेकौं जात्रा पनि यससँग जोडिएका छन् । सांस्कृतिक रूपमा ललितपुर निकै धनी छ । तर यी संस्कृति हराउने क्रममा छन् । यी सबैलाई जोगाउने नेताका प्रतिबद्धता कागजमै सीमित छ ।
प्रशान्त माली

काठमाडौँ — किरातीलाई मल्लले हराएको ठाउँ पाटन क्वय् (तल्लो) लाछी च्यासल टोल हो । च्यासल पाटन दरबार क्षेत्रबाट करिब ५ मिनेट उत्तर–पूर्वी कुनामा पर्ने सानो टोल हो । च्यासलको मुख्य आकर्षण भनेको झयाल्चा नाच (छायामार्फत देखाइने ३ सय ५० वर्ष पुरानो सिनेमा) हो । स्वदेशीले भन्दा बढी विदेशीले हेर्न रूचाउने नाच जेनतेन सञ्चालन छ ।

सांस्कृतिक राजधानी घोषणा मात्रै

उक्त ऐतिहासिक नाच प्रदर्शन गर्न ललितपुर महा– गनगरपालिकाबाट बर्सेनि ५ हजार रुपैयाँ मात्र दिने गरेको छ । स्थानीय गुठियारका अनुसार नाच सञ्चालक गर्न कम्तीमा एक लाख रुपैयाँ बढी आवश्यक पर्छ ।

प्रख्यात कात्तिक नाच १२ दिन मात्र सञ्चालनमा छ । मल्लकालीन राजा सिद्धिनर सिंहको पालामा सञ्चालित नाच परम्पराअनुसार कात्तिक महिनाभर सञ्चालन गर्नुपर्छ । कात्तिक नाच संरक्षण समितिका अनुसार नाच सञ्चालन गर्न कम्तीमा ५ लाख रुपैयाँ आवश्यक छ । ठेंचोको नवदुर्गा नाच दसैंमा पाटन दरबार क्षेत्रस्थित मूलचोकमा दुई पटक नचाउने परम्परा छ । विजय दशमीमा नचाउने परम्परा लोप भएको दुई दशक बितिसक्यो । यल सांस्कृतिक पर्व संरक्षण समिति र स्थानीय गुठियारको पहलमा २०६९ मा लोप भएको कोजाग्रत पूर्णिमा नचाउने नाच २०७४ मा पुन: सञ्चालन भयो । नाच सञ्चालन गर्न महानगरपालिकाबाट १० हजार रुपैयाँको व्यवस्था छ । नाच सञ्चालन गर्न ५ लाख रुपैयाँ आवश्यक छ ।

यस्तै, फागुपूर्णिमाका अवसरमा नचाइने हरिसिद्धि भवानी देवी र खोकनाको रूद्रायणी नाच पनि जेनतेन सञ्चालन भयो । महानगरपालिकाले दुवै नाच सञ्चालन गर्न आर्थिक सहयोग दिने गरेको छैन । काठमाडौंको पचली भैरव नाच आर्थिक अभावकै कारणले २ वर्षअघि पाटन दरबार क्षेत्रमा नचाइएन ।पाटन दरबार क्षेत्रसँग सम्बन्धित यी लोपोन्मुख नाचका केही उदाहरण मात्र हुन् । धेरै ऐतिहासिक जात्रा पर्वहरू लोप भइसकेका छन् । स्थानीय निकाय र प्रतिनिधिसभाको चुनावमा नेताहरूले यी अमूर्त पर्व र मूर्त सम्पदाको संरक्षण संर्वद्धन गरेर जिल्लालाई सांस्कृतिक राजधानी बनाउने घोषणा गरे । जनप्रतिनिधिले स्थानीय निकाय सम्हालेको नौ महिना बित्यो । तर, यसबारेमा एक पटक पनि छलफल भएको छैन । सांसद पम्फा भुसाल भन्छिन्, ‘सांस्कृतिक राजधानी बनाउन आन्तरिक गृहकार्य गर्दै छु ।’

‘यसमा म प्रतिबद्ध छु,’ उनले भनिन् । ललितपुर महानगरपालिकाको योजना छ । तर, अगामी आर्थिक वर्षका लागि बजेट बनाउने समय सीमा नजिकिँदासमेत सरोकारवाला गुठियारहरूसँग एक पटक पनि बैठक बसेको छैन । ललितपुर महानगरपालिकाका सल्लाकार दिलेन्द्रराज श्रेष्ठ भन्छन्, ‘यसबारे मेयरलाई पटक पटक ध्यानाकर्षण गराइसकेका छांै । तर, सोचेजति काम अघि बढ्न सकेको छैन ।’ उनले सरकारी निकायको मात्र मुख ताकेर नहुने बताए । ‘गुठियारहरूले पनि सक्दो योगदान पुर्‍याउनुपर्छ,’ उनले भने, ‘प्राय: गुठीहरू दर्ता छैनन्, भएका नवीकरण छैन । यसले सरकारी बजेट मात्र नभई दातृ निकायबाट पनि सहयोग पाउन गाह्रो हुने गरेको छ ।’

महानगरपालिकाले पर्यटन शुल्कबाट गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ राजस्व संकलन गर्‍यो । ‘जात्रा पर्वलाई पर्यटनसँग जोड्न सकेमा गत वर्षभन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिने सल्लाकार श्रेष्ठको भनाइ छ । उनले युनेस्कोले मूर्त र अमूर्त संस्कृति सम्पदालाई विश्व सम्पदामा सूचीकृत गर्ने गरेको बताए । ‘हामीले मूर्त सम्पदालाई विश्व सम्पदामा सूचीकृत गर्न सके पनि अमूर्त संस्कृतिको गर्न सकेको छैन,’ उनले भने, ‘महानगरपालिकामा पर्यटन शाखा छैन । सम्पदा शाखाले नै सबै हेर्नुपर्छ । यसले पर्यटन प्रवद्र्धन अन्तर्राष्ट्रियस्तरमा त के राष्ट्रियस्तरमा समेत गर्न सकेको छैन ।’

अहिले ठेंचोस्थित नवदुर्गा गुठीमा ८ जनाको पद रिक्त छ । नाइके, कुमारी, ब्रह्मायणी, महालक्ष्मी र सिंघिनी देवगण समात्ने चार, चिराग समात्ने दुई र सामान ओसार्ने कुमी नियुक्त गर्न बाँकी छ । नाच प्रदर्शन गर्न चिराग समात्ने गुठियार अनिवार्य चाहिन्छ । व्यवस्थापन गर्न सकेको छैन । पाटन दरबार क्षेत्रसँग सम्बन्धित मुख्य तीन कालीन पर्व छन् । लिच्छवीकालीन माजु द्य: (मानमानेश्वरी देवी), मल्लकालीन तलेजु र शाहकालीन फूलपाती भित्र्याउने पर्व । यी पर्वहरू एक आपसमा अन्तरसम्बन्ध छ ।

माजु द्य: पर्व सञ्चालन गर्ने गुठी नास भइसकेको छ । अहिले माजु द्य:को मूर्ति पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । गुठी संस्थानले लिच्छवीकालीन मन्दिर भाडामा लगाएको छ । अहिले उक्त मन्दिरमा ठेकेदारले कासा प्यागोडा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । महानगरपालिकाले मन्दिरबाट रेस्टुरेन्ट हटाउन पहल गर्नुपर्ने स्थानीय गुठियारहरू बताउँछन् । संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘कुनै बेला चाडपर्वको सरकारी संस्था जस्तो मान्यता थियो । कुन जात्रा कुन संगठनले गर्ने र कस कसले कति सघाउने नियम थियो ।

नियमबमोजिम काम गरेबापत् गुठियारले सुविधा र आर्थिक सहयोग पाउने व्यवस्था थियो । अहिले सरकारबाट दिइने प्रत्यक्ष र अप्रत्यक्ष सबै सहायता बन्द भयो । यसले पाटनको मात्र नभई उपत्यकाका अधिकांश जात्रा पर्व लोप हुँदै गएका छन् ।’ लिच्छवीकालीन पर्वसँग सम्बन्धित ७ पर्व सम्बन्धित छन् । माजु द्य: पर्व लोपसँगै विजय दशमीमा मूलचोकमा नचाइने ठेंचोको नवदुर्गा नाच, कालरात्रि पर्व, पाटन नक:बहिलको अष्टमातृका नाचको गमन पर्व, थसिमल पाँयो (खड्ग जात्रा) लगायत अन्य थुप्रै ऐतिहासिक जात्रा पर्व बन्द छन् ।

यी जात्रा पर्व लोपसँगै गोल्डेन टेम्पल, रुद्रवर्ण महाविहार, कुम्भेश्वर, बंगलामुखीको आम्दानीमा पनि गिरावट आएको छ । पर्यटकबाट धानिरहेका संघसंस्था, होटल तथा रेस्टुरेन्टहरूमा नराम्रो असर परेको छ । कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्य भन्छन्, ‘नाच देखाएर ललितपुर महानगरपालिकाले बर्सेनि करोडौं रुपैयाँमा आम्दानी गर्छ । तर, महानगरपालिकाले नाच सञ्चालन गर्न वार्षिक एक लाख रुपैयाँ पनि दरबन्दीको व्यवस्था गर्दैन ।’ जात्रा पर्व संरक्षण गर्न पछिल्लो समयमा यल सांस्कृतिक पर्व संरक्षण समिति सक्रिय देखिएको छ । समितिको आयोजनामा सोमबार पाटन दरबार क्षेत्रसँग सम्बन्धित नाचका गुठियारहरू छलफल गरे । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष एंव समिति संयोजक कृष्णलाल महर्जनका अनुसार नाचको संरक्षण प्रवद्र्धन गर्न दरबन्दी रकममा समयनुकूल वृद्धि हुन आवश्यक छ । ‘यसबारे महानगरपालिकालाई ध्यानाकर्षण गराउने तयारीमा छौं,’ उनले भने । पाटन हस्तकला, मूर्तिकला, ताम्रकाल, प्रस्थरकला र शिल्पकलाका लागि प्रख्यात मानिन्छ । हस्तकलाका सामग्री स्वदेशीले भन्दा बढी विदेशी रुचाउने गरेका छन् । भने नाचको अध्ययन अनुसन्धानमा गर्ने पनि बढी विदेशी आकर्षित छन् ।

जात्रा पर्व लोप भएमा विदेशी भित्र्याउन गाह्रो पर्ने पाटनका होटल व्यवसायी एंव खड्ग जात्रा गुठीका प्रतिनिधि सन्तमान महर्जन भन्छन्, ‘रात्रिकालीन पर्यटन व्यवसाय प्रवर्द्धन गर्न सकेमा महानगरपालिकाको आम्दानीसँग होटल व्यवसायी पनि फस्टाउँछ । यसले रोजगारी सिर्जना गर्छ ।’ ठेचोका नवदुर्गा गुठियारले ऐतिहासिक नाच लोप हुनबाट बचाउन ललितपुर महानगरपालिका, संस्कृति मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गोदावरी नगरापालिकामा ज्ञापनपत्र बुझाएका छन् । नवदुर्गा नाचका देवगण बाबुराज माली भन्छन्, ‘गुठीको जमिनबाट वार्षिक १२ हजार रुपैयाँको कुत भित्रिन्छ, वर्षभरिमा १२ पटक पर्व सञ्चालन गर्न लाखाैं रुपैयाँ लाग्छ ।’

उनले नाच संरक्षण गर्न गुठियारले मात्र नभई सम्बन्धित निकायले चासो दिनुपर्ने बताए । संस्कृति मन्त्रालयकी पुरातत्त्व अधिकृत जयन्ती श्रेष्ठले मन्त्रालयको बजेटले भएसम्म सक्दो सहयोग गर्ने बताइन् । ‘संघीय सरचनाअनुसार मन्त्रालयबाट सिधै स्थानीय तहमा पठाउने तयारी भइरहेको छ,’ उनले भनिन् । ठेंचोका गुठियारले सरकारी निकायमा पेस गरेको प्रस्तावमा दैनिक बिहान र बेलुका नित्य पूजा, अक्षय तृतीया, घण्टाकर्ण र पञ्चदान पर्व सञ्चालन र विधिपूर्वक होम, जप गर्न आवश्यक सामग्री खरिद गर्न समस्या भएको उल्लेख छ ।

होम, जप गर्न मात्रै ६६ हजार रुपैयाँ, पाटन दरबार क्षेत्रमा नाच व्यवस्थापन, बाजा मर्मत, मुकुट रंगरोगन, धिमे बाजा खलक, इन्द्र बाजा, कसही खलक व्यवस्थापन र समापन पूजा गर्न ५ लाख रुपैयाँ आवश्यक उल्लेख छ । हरिसिद्धि भवानी देवी गुठियार र खोकनाका रुद्रायणी गुठियारहरूले पनि नाच संरक्षणको अभावले सञ्चालनमा कठिनाइ भएको भन्दै ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । हरिसिद्धि भवानी देवी गुठीका नाइके राइटर महर्जन भन्छन्, ‘महानगरपालिकाले चालू आर्थिक वर्षमा नाच सञ्चालन गर्न छुट्याएको १० लाख रुपैयाँ कर्मचारीले तालिम दिएर सक्कायो ।’

रुद्रायणी गुठीका नाइके बेखनर महर्जनले भने यस्तै स्थिति रहिरहे नाच बन्द गर्नुपर्ने अवस्था आउने बताए । ‘सरकारबाट गुठीको जग्गा सबै रैकरमा परिणत भयो,’ उनले भने, ‘अहिले नाच गुठियारहरूले व्यक्तिगत रूपमा रकम राखी सञ्चालन गर्दै आइरहेका छौं ।’ पाटन–कुमारी राख्ने ठाउँ साँधुरो छ । त्यसमाथि भूकम्पले धराप छ । कुमारी गुठीका व्यवस्थापक सिद्धिरत्न बज्राचार्य भन्छन्, ‘गुठी घर पुनर्निर्माण गर्न बजेट छैन ।’ भक्तपुरको नवदुर्गा नाच पनि जेतनेत चलिरहेको स्थानीय गुठियारहरूको भनाइ छ ।

भक्तपुर नवदुर्गा गुठियार शिवराम वनमालाले नाच नाजुक अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रपतिको पटकपटक ध्यानाकर्षण गराइसकेको बताए । ‘सरकारी पक्षले संरक्षण गर्ने आश्वासन मात्र दिने गरेका छन्,’ उनले भने, ‘जनप्रतिनिधि आएको महसुस भएन ।’ उपत्यकाका तीनै जिल्लामा ८ वटा देवी नाच सञ्चालन गर्ने गुठी छन् । प्रत्येक १२ वर्षमा नचाइने काठमाडौंको नरदेवी पनि यस वर्ष जेनतेन सञ्चालन भयो ।

आर्थिक समस्याकै कारण दुई वर्षअघि भद्रकाली खड्ग सिद्धि नाच पाटन दरबार क्षेत्रमा नचाइएन् । कीर्तिपुरको बाघभैरव नाच सञ्चालन गर्न पनि उस्तै समस्या रहयो ।दरबारमा परम्परा यस्तो थियो पाटन दरबार क्षेत्रमा सुरुमा दसैंको अवसरमा नक:बहिलको अष्टमातृका नाच एक साता नचाइन्छ । लगत्तै ठेंचोको नवदुर्गा नाच चार दिन नचाइन्छ । त्यसपछि एक महिना कात्तिक नाच प्रदर्शन गर्ने परम्परा छ ।

विजया दशमीमा लिच्छवीकालीन मानमानेश्वरी देवी मूल चोकमा ल्याइन्छ । त्यहाँबाट मंगलबजार चारदोबाटोमा पुर्‍याइन्छ । चारदोबाटोमा ठेंचोको नवदुर्गा मू द्य: (मुख्य देवता) र मानमानेश्वरी देवी बीच एकआपसमा तीन पल्ट ढोगभेट दर्शन गराउने परम्परा छ । त्यसपछि भैरव, काली र बाराही देवगणले नृत्यसहित मानमानेश्वरी देवीलाई फूलमाला चढाइन्छ । उक्त फूलमाला बुङमतीका नाइकेले बुङमतीमा पुर्‍याई हयगृव भैरवको जात्रा आरम्भ गर्ने चलन थियो । पुन: फूलमाला पाटनमा ल्याई खड्ग जात्रा सञ्चालन प्रचलन थियो । हाल यो परम्परा बन्द भइसकेको छ ।

प्रकाशित : वैशाख २९, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?