कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकालाई हरियाली चाहियो

‘अध्ययनअनुसार एक व्यक्तिका लागि कम्तीमा ६ भन्दा बढी रुखको दरले यहाँ हरियाली हुनुपर्छ’
अतुल मिश्र

काठमाडौँ — राजधानीलाई दिगो रूपमा स्वस्थकर, बस्नलायक बनाउन पर्याप्त रूख रोप्नुको विकल्प नरहेको विज्ञले बताएका छन् । बोटबिरुवा प्रदूषण हटाउने प्राकृतिक मेसिन भएकाले यसको समुचित उपयोगले नै राजधानीलाई स्वस्थकर बनाउन सकिने ठम्याइ उनीहरूको छ ।

उपत्यकालाई हरियाली चाहियो

‘राजधानीको प्रदूषणको स्थिति स्वास्थ्यका दृष्टिले समग्रमा निराशाजनक छ,’ वन मन्त्रालयका वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख महेश्वर ढकालले कान्तिपुरलाई भने, ‘प्रदूषणको असरले राजधानीवासीको स्वास्थ्य बिग्रिरहेको छ । श्वास प्रश्वास प्रणालीमा प्रत्यक्ष असर परिरहेको छ ।’

उनका अनुसार उपत्यकामा हरियाली अहिलेको दाँजोमा न्यूनतम पाँच गुणा बढाउँदा मात्र स्वास्थ्यका दृष्टिले उपयुक्त हुन सक्छ । डाँडाकाँडामा हरियो देखिए पनि उपत्यकामा पर्याप्त हरियाली छैन । सतहमा धेरै घर छन् । प्रत्येक घरवार आदिको निर्माण व्यवस्थित नहुँदा बढी मात्रामा धूलो उडेको छ । अव्यवस्थाको कारण बाटोघाटोमै फोहोर फाल्ने प्रवृत्तिसँगै धूवाँको प्रकोपसमेत छ ।

यति मात्र नभएर रिचार्ज नभएर भूमिगत जलको स्तर दिनहुँ तल जाँदै छ । ‘हाम्रो अध्ययनअनुसार जाडोयाममा पानी नपरेका बेला उपत्यकामा प्रदूषणको स्तर धेरै बढ्छ,’ स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमालका अनुसार त्यसताका मर्निङ र इभनिङ वाकसमेत घातक हुन्छ ।

‘राजधानीमा बस्ने व्यक्तिको अनुपातमा हरियालीको सन्तुलन कायम हुनुपर्छ’, धिमाल प्रदूषणको स्थितिको दिगो समाधानका रूपमा बढी मात्रामा कार्बन डाइअक्साइड सोस्ने र बढी अक्सिजन फाल्ने प्रकृतिका रूख लगाउनमा जोड दिन्छन् । रूखले वायु मात्र नभई ध्वनि, धूलो प्रदूषणलाईसमेत नियन्त्रित गर्छ ।

काठमाडौंको वातावरण स्वच्छ र स्वस्थ राख्न स्थायी उपाय अपनाउनु अत्यन्त आवश्यक छ । यसअन्तर्गत सडकको निर्माण गर्दा धूलो उड्न नदिईकन बनाउने विशेष व्यवस्थासँगै सवारीसाधन र उद्योग, इँटाभट्टाबाट निस्किने धूवाँ नियन्त्रणको दीर्घकालीन उपाय अपनाउनुपर्नेमा विज्ञ जोड दिन्छन् ।

‘राजधानी मृत सहर जस्तै छ,’ राजधानीमा अत्यधिक मात्रामा वृक्षरोपण गर्नुको कुनै विकल्प नरहेको आैंल्याउँदै वन तथा वातावरण मन्त्रालय, प्रदूषण नियन्त्रण तथा अनुगमन शाखा प्रमुख शंकरप्रसाद पौडेल भन्छन्, ‘यहाँ भित्री बाटो र सडक छेउमा हरियाली छैन ।’ पौडेलको अनुसार उपत्यका चारैतिर पहाडले घेरिएको कचौरा आकारको भएकाले समेत यहाँ अन्य ठाउँको दाँजोमा थप प्रदूषण देखिएको हो । यहाँ दिनभर तातो हावा माथि जान्छ, प्रदूषण राति सतहतिर आउँछ र तातो हँुदा पुन: उचालिन्छ । यो तल माथि गइरहने प्रक्रियाले यहाँको प्रदूषण धेरै समयसम्म रहिरहने उनी बताउँछन् । ‘बस्न लायक स्वस्थकर काठमाडौं बनाउन अत्यधिक हरियाली प्रवद्र्धनको कुनै विकल्प छैन’, ढकाल भन्छन्, ‘अध्ययनअनुसार एक व्यक्तिका लागि कम्तीमा ६ भन्दा बढी रूखको दरले यहाँ हरियाली हुनुपर्छ ।’ राजधानीमा झन्डै ५० लाख जनसंख्या भएको अनुमान छ ।

यो हरियालीका लागि राजधानीको प्रत्येक सडक र नदीको किनारामा बोटबिरुवा रोप्नुका साथै खाली जग्गामा पार्क हुनु अत्यावश्यक छ । ‘रूख बिरुवाले धूलो, धूवाँ कार्बनडाइअक्साइड सोस्छ र अक्सिजन फ्याल्छ’, ढकालका अनुसार रूख बिरुवामा फुल्ने, फक्रने, फल लाग्ने हँुदा चरा, माहुरीलगायत जीवजन्तुको ‘इकोसिस्टम’ कायम हुन्छ ।

सडक मात्र नभएर हाम्रो घर, छत, कौसीलगायतका खाली ठाउँमा बगैंचा बनाएर स–साना फलफूल, सागसब्जी रोप्दासमेत हरियाली प्रवद्र्धनमा सघाउनुका साथै अक्सिजन प्राप्त हुन्छ । तुलसीको सानो बोटले समेत बढी अक्सिजन फाल्छ ।

बढीमात्रा अक्सिजन फ्याल्ने गरेकाले नै वरपीपल, स्वामी जस्ता बोट चौतारीमा रोप्ने गरिएको हो । यो रूख बिरुवा सहरमा त्यति लगाइँदैन । जरा तल जाने बिरुवा सहरका लागि लाभदायक मानिन्छ भने १२ महिना हरियाली हुने बोटबिरुवा पनि सहरका लागि उपयुक्त मानिन्छ ।

स–साना बोटबिरुवाले पनि घरभित्रको वायु प्रदूषणलाई कम गरेर मानिसको स्वास्थ्यलाई सही राख्छ । यति मात्र नभई रूख बिरुवाले सहरको सुन्दरता बढाउने, शीतलता कायम गर्ने र भू–संरक्षण गर्ने कामसमेत गर्छ । रूखले माटोलाई बगेर जान दिंदैन । ‘मात्र दुई–तीन वर्षको प्रयासले काठमाडौंलाई राम्रो सहर बनाउन सकिन्छ’, ढकाल भन्छन्, ‘यसका लागि वृक्षरोपण गर्नु आवश्यक छ ।’ विश्व स्वास्थ्य संगठनको नयाँ तथ्यांकअनुसार १० मध्ये ९ जना प्रदूषणको उच्च स्तर भएको वायुमा सास फेर्छन् । बर्सेनि विश्वमा ७० लाख व्यक्ति घर भित्र र घर बाहिरको वायु प्रदूषणले मर्ने गरेका छन् ।

यस्तो मृत्युको कारण प्रदूषित हावामा भएको स–साना कण हो । यो कण फोक्सो र मुटु एवं रक्तसञ्चार प्रणालीको भित्रसम्म छेडेर स्ट्रोक, मुटुरोग, फोक्सोको क्यान्सर, दम, श्वासप्रश्वासको संक्रमण, निमोनियालगायत रोग उत्पन्न गर्छ ।

वायु प्रदूषणसँग सम्बन्धित ९० प्रतिशतभन्दा बढी मृत्यु एसिया र अफ्रिकाको निम्न र मध्यम आय भएको राष्ट्रमा हुन्छ । डब्लूएचओका अनुसार नसर्ने रोगका लागि वायु प्रदूषण एक महत्त्वपूर्ण जोखिमको कारक हो । वायु प्रदूषणले वयस्कमा मुटुरोगको कारण हुने मृत्युको २४ प्रतिशत, स्ट्रोकले गर्दा हुने मृत्युको २५ प्रतिशत, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले हुने मृत्युको ४३ प्रतिशत र फोक्सोको क्यान्सरले हुने मृत्युको २९ प्रतिशत जिम्मेवार छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?