कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक जग्गा संरक्षण गरिने

काठमाडौँ — तारकेश्वर नगरपालिकाले नगरभित्रका सबै सार्वजनिक जग्गा संरक्षण गर्ने गरी कार्य भइरहेको जनाएको छ । गत वर्ष चैत अन्तिमतिर सबै वडामा सार्वजनिक जग्गाको लगत संकलन गरी नगरपालिकामा बुझाउन अनुरोध गरेको थियो ।

सार्वजनिक जग्गा संरक्षण गरिने

सोही अनुरूप वडाहरूले अभिलेखीकरण गरिसकेका छन् भने केहीले सुरु गर्न लागेको जनाएका छन् । साबिकको मनमैजु गाविस र अहिलेको ८, ९, १० र ११ वडामा त्यस्ता जग्गाको पहिचान भइसकेको छ । वडा नं. ८ का अध्यक्ष मनोज घिमिरेले चारै वडामा गरी ३ सय २८ रोपनी पर्ती जग्गा रहेको बताए ।

उनले भने, ‘यो वडामा धेरै पहिलेदेखि नै जग्गा मिचेका पनि छन् । कसैले आँगन, कसैले बारी बनाएर कोहीले भने सार्वजनिक जग्गाको साँधैमा घर बनाएर ओगटेका छन् ।’ जनप्रतिनिधिविहीन अवस्थामा जग्गा मिचिएको भए पनि अब त्यस्ता जग्गाको पहिचान भइसकेको र तारबार गरी संरक्षण गरिने उनले बताए ।

झन्डै ३८ रोपनी सार्वजनिक जग्गा भएको वडा नंं. १० मा अतिक्रमण केही बढी छ । वडाध्यक्ष अमृत थापा भन्छन्, ‘त्यस्ता जग्गा टुक्राटुक्रा छन् । विभिन्न व्यक्तिहरूले घर टहरा बनाएको देखिएको छ ।’ केहीले कम्पाउन्ड वाल सार्वजनिक जग्गासम्मै पर्ने गरी बनाएको भेटिएको छ ।

वडा नं. ११ की अध्यक्ष बिन्दा बुढाथोकी २६ रोपनीभन्दा बढी सार्वजनिक जग्गामा तारबार लगाउने कामको सुरुवात भइसकेको बताउँछिन् । लगभग २४ रोपनी सार्वजनिक जग्गा भए तापनि जग्गा मिचेको खासै नभेटिएको उनको भनाइ छ । त्यसता जग्गा संरक्षणका लागि वडाको बैठक बसिसकेको र चाँडै नापीनक्साअनुसार तारबार गरिने उनले बताइन् ।

वडा नं. १ तथा नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले उक्त वडामा सार्वजनिक जग्गा धेरै भएको बताए । त्यस्ता स्थानमा घरटहरा बनाइएको उनले बताए । यसका साथै २ र ३ नं. वडामा पनि सार्वजनिक जग्गा धेरै छ । तारबारको सुरुवात भने ६ नं. वडाबाट गरिएको छ । ‘नगरपालिकाले तारबार गर्नका लागि २५ लाख रूपैयाँ छुट्याएको छ,’ सापकोटाले भने ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिको कर्तव्य र अधिकारमा पुरातात्त्विक, ऐतिहासिक र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पनि पर्छ । हाल २०२२ सालको नापीअनुसार सार्वजनिक जग्गाको पहिचान गरिएको हो ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?