कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौलिकता गुमाउँदै नैचाल

भक्तपुर — सूर्यविनायक नगरपालिका–८ आशापुरी नैचालका करिब १ सय ७० घर भूकम्पका कारण क्षतिग्रस्त भए । नैचाल क्षेत्रको क्षतिग्रस्त तामाङ बस्ती पुनर्निर्माणको अन्तिम चरणमा छ ।

मौलिकता गुमाउँदै नैचाल

करिब एक सय भन्दा बढी घर बनिसकेका छन् भने बाँकी बन्ने चरणमा रहेको स्थानीय एवं सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा सदस्य अजय तामाङ बताउँछन् । बन्न बाँकी घरको समेत डीपीसी तयार भइसकेको उनले बताए ।

भूकम्प अघि यस भेगका अधिकांश घर छिंडी, मटान, चोटा, बुईगल गरी चारतलाको परम्परागत शैलीका थिए । कलात्मक झयाल, फराकिलो बार्दली भएका थिए । भूकम्पपछि बनेका घरमा स्थानीय स्रोत साधन ढुंगा, माटोको सट्टा इँटा, सिमेन्ट र जस्तापाता प्रयोग भएका छन् । ‘हामीले मौलिकता गुमायौं,’ स्थानीय लक्ष्मी तामाङले भनिन्, ‘पुनर्निर्माणमा स्थानीय साधनस्रोत ढुंगा, माटोको सट्टा इँटा, सिमेन्ट र जस्तापाता प्रयोग भएको छ ।’

पहिले ढुंगा, माटोका तीनतले घर थियो, भूकम्पपछि बनेका अधिकांश घर आरसीसी गरेको उनीहरू बताउँछन् । ‘आरसीसी नगरेका नवनिर्मित घरमा पनि ढुंगा, माटो प्रयोग भएको छैन,’ फूलमाया तामाङले भनिन्, ‘तला भएका घरको संख्या घटयो, सरकारी मापदण्डलाई पालना गर्दा मौलिकता हरायो ।’ पुनर्निर्माणसँगै थरीथरीका जस्तापाताले गाउँ झिलीमिली भएको छ । भत्किएको घरको ढुंगा अलपत्र छाडेर महँगा इँटा गाउँमा भित्रिएका छन् ।

इँटा र सिमेन्ट लगाएर घर बनाउने फेसन नै चलेको स्थानीय बासिन्दा बताउँछन् । ‘भूकम्पअघि ढुंगाको गारो, खरको छानो भएको घर थियो,’ उनी स्मरण गर्छिन्, ‘हाम्रा सन्ततीले हाम्रो मौलिकता हेर्न पनि नपाउने भयो ।’ त्यही स्थानका जयबहादुर तामाङको घर २०७२ वैशाखको भूकम्पले क्षति भयो । चर्किएको धराप घरमै तीन वर्ष कटाएका उनको ४ जनाको परिवार पुनर्निर्माणमा लागेका छन् । धराप नै भए पनि उनको घर बाहिरबाट हेर्दा सुन्दर देखिन्छ ।

भित्रमा चिरा परेको उनले बताए । जयबहादुरको नवनिर्मित घरमा जम्मा दुइटा मात्र कोठा छ । सरकारले अनुदान लिन समयसीमा तोकेपछि एककोठे र दुईकोठे घर बनाउनेको संख्या बढेको उनी बताउँछन् । ‘भान्सा बाहिरै बनाउनुपर्ला,’ उनले भने । सरकारबाट प्राप्त हुने अनुदान गुम्ने डरले भूकम्पपीडितले मापदण्डबमोजिमको साना प्रकृतिका घर बनाउने गरेका छन् । अधिकांश नयाँ घरको छानोमा जस्तापाता प्रयोग भएको वडा सदस्य तामाङको भनाइ छ ।

‘जस्ताको टहरामा बसेका भूकम्पपीडितले नयाँ घरमा पनि जस्तापाताकै प्रयोग बढी गरेका छन्,’ उनले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेका १७ प्रकारका भूकम्पप्रतिरोधी घरको नक्साअनुसार घर बनाउने लाभग्राहीमध्ये दुई र चारकोठे घर बनाउनेको संख्या बढी छ । पछिल्लो समय ग्रामीण बस्तीमा सदरमुकामको सिको गर्दै आरसीसी घर निर्माण गर्ने लहर चलेको छ । स्थानीय स्रोतसाधन ढुंगा, माटोबाट बनेका घरसँगै ढिकी, जाँतो, हुक्का, चिलिम सबै लोभ भएको स्थानीय बताउँछन् ।

भूकम्पपछि जिल्लाको चारवटै नगरपालिकामा मौलिकभन्दा आरसीसी गरेका घर बनाउने क्रम बढ्दो छ । ‘ढुंगा र माटोका सबै घर लडे, इँटा, सिमेन्ट तथा डन्डीको प्रयोग गरी बनाएका घर बलियो होला भन्ने सोचले सबैले आधुनिक घर बनाए,’ स्थानीय पूर्णबहादुर तामाङले भने । प्राविधिकले पनि ढुंगा र माटोको भन्दा आरसीसी गरेको घरलाई अनुदानका लागि सहज रूपमा सिफारिस गर्ने गरेको उनले बताए । नगरपालिकाहरूले पनि मौलिकता जोगाउने किसिमको संरचना निर्माणका लागि कुनै विशेष पहल गरेको पाइँदैन ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?