कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खर्च सकिएपछि बिरामी अलपत्र

फातिमा बानु

काठमाडौँ — नर्भिक अस्पतालको बेड नम्बर २४६ मा सुतेका छन् । चार दिनदेखि सलाइन पानीको भरमा सास फेरेका छन् । मुखमा अक्सिजन जोडिएको छ, बोल्दा पनि लर्बराउँछन् ।

खर्च सकिएपछि बिरामी अलपत्र

पाँच दिनअघि उनी काठमाडौंको माइतीघर सडकमा मुखभरि फिज निकालिएको अवस्थामा बेवारिसे भेटिएका थिए ।

माइतीघर नजिकको सेन्टजेभियर कलेजका विद्यार्थी समूहले उनलाई नर्भिक पुर्‍याएका रहेछन् । उनी हुन्, गोरखाका भरतबहादुर उपरकोटी, उनको मुटुमा गम्भीर समस्या छ, मिर्गौलामा पनि समस्या छ । शरीरमा रगतको अत्यधिक कमीका कारण उनी जीवनमरणको अवस्थामा छन् । अस्पतालको विपन्न (बेवारिसे) बेडमा उनको उपचार भइरहेको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालको आईसीयू कक्षमा १९ दिन भर्ना भई उपचार गरेपछि खर्चविहीन हुन पुगेको उनकी श्रीमती शान्ता उपरकोटीले सुनाइन् । उनले भनिन्, ‘औषधि किन्ने पैसा सकिएपछि हामी फेरि गाउँ फर्कियौं, उता गएपछि उहाँलाई झनै च्याप्न थाल्यो ।’ बढ्दो मुटु व्यथाका कारण गाउँमा उनी बोल्न, खानसमेत छाडेछन्, ओछ्यानै परेछन् ।

शान्ता भन्छिन्, ‘सास फुस्कने बेला भो भनेर धेरै दिन आँगनमा सुनपानी छर्केर राखेको, न सास जान सक्यो, न उठेर हिँड्न सके ।’ शान्ता सोझो स्वभावकी छिन्, निरक्षर र निर्दोष । गाउँका मान्छेले जिल्ला जनस्वास्थ्य कार्यालयबाट विपन्न बिरामीको सिफारिसपत्र बनाउन सघाएपछि दम्पती उपचारका लागि राजधानी आएका रहेछन् । नि:शुल्क उपचार पाउने कागज भए पनि बस्नेखाने खर्च नहुँदा सडकमै सुतेछन् ।

बिरामी उपरकोटी भन्छन्, ‘म यो अस्पताल आइपुगेँ, कसले ल्यायो मलाई होस छैन ।’ दुई पिन्ट रगत हालेपछि उनी होसमा आएको उनको उपचारमा संलग्न डा. जेपी जैसवालले बताए । उपचार पाए पनि औषधि किन्न उनीहरूसँग खर्च छैन, खाना खानेसमेत खर्च नहुँदा अलपत्र छन् । शान्ता भन्छिन्, ‘गाउँ पुगेर ऋण खोजूँ भने यहाँ कुरुवा कोही छैन, उहाँलाई उठाउनेदेखि, दिसापिसाब सबै मैले गराइदिनुपर्छ ।’

बिरामी उपरकोटीलाई आफ्नो रोगी अवस्थाभन्दा पनि घरमा गाईवस्तुको चिन्ता बढी छ । ढोकासमेत नभएको खुलै घरबाट अन्नपात चोरी हुने पीर छ । उनी भन्छन्, ‘घरमा गाईवस्तुलाई घाँसकुँडो दिने कोही छैन, मरिसके होलान् ।’ उपचार नगरी घर जाने जिद्दी श्रीमान्ले गरेका कारण शान्ता दिक्क भइसकिन्, घर जाने खर्च कसरी खोज्ने भन्ने पिरलोले उनी आफैं बिरामीजस्ती भएकी छन् । भन्छिन्, ‘उहाँले मलाई कान्छी बनाएर भित्र्याएपछि छोराछोरी कोही बोल्दैनन्, हामी मरे पनि उनीहरूलाई वास्ता छैन ।’ सरकारले गरिब र बेवारिसे बिरामीका लागि निजी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्देशिका जारी गरेको छ । बिरामी आफैं यस सेवाबारे जानकार नहुँदा उपरकोटीजस्तै अलपत्र पर्ने गरेका छन् ।

स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार विपन्न नागरिकले निजी अस्पतालबाट चिकित्सक परामर्शदेखि ल्याब, रेडियोलोजी, नर्सिङ सेवा पाउने व्यवस्था छ । यसका लागि बिरामीले नगरपालिका जिल्ला जनस्वास्थ्य कार्यालय वा स्वास्थ्य मन्त्रालयबाट सिफारिसपत्र ल्याएर उपचार गर्ने अस्पतालमा बुझाए नि:शुल्क सेवा पाइन्छ ।

यसका लागि प्रत्येक निजी अस्पतालले कुल बेड संख्याको १० प्रतिशत छुट्याउनुपर्ने हुन्छ ।मन्त्रालयद्वारा सिफारिसपत्रका शल्यक्रियासहितको उपचार पूर्ण नि:शुल्क गर्नुपर्ने भनेको छ । निजी अस्पतालबाट विपन्न बिरामीले शल्यक्रियामा भने नि:शुल्क सेवा पाएका छैनन् । नर्भिकमा भर्नारत उपरकोटीको पनि शल्यक्रिया गर्नुपर्ने भए नगरिदिने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?