कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सेवामा सुधार हुँदै

प्रताप विष्ट

हटौंडा — स्वास्थ्य संस्थाहरू स्थानीय तह मातहत ल्याइएपछि जिल्लाको स्वास्थ्य सेवमा उल्लेख्य सुधार देखिएको छ । सेवाग्राहीले नियमित स्वास्थ्य सेवा पाउनुका साथै ग्रामीण भेगका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न थालेका छन् ।

स्वास्थ्य सेवामा सुधार हुँदै

स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य संस्थाको नियमित अनुगमन र रेखदेख गर्ने गरेकाले सेवाग्राही लाभान्वित भएका हुन् । मकवानपुर गढी गाउँपालिकाले आफ्ना सबै वडामा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । ८ वडामा विभाजित गाउँपालिकामा गतवर्ष ४ मात्र स्वास्थ्य संस्था थिए ।

गाउँपालिकाले ४ स्वास्थ्य संस्था विस्तार गरी स्थानीयलाई सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, मकवानपुरगढी गाउँपालिका–७ सुकौराको स्वास्थ्य चौकीमा अहिले नियमित रूपमा स्वास्थ्यकर्मी बस्न थालेका छन् । स्थानीयले नियमित स्वास्थ्य सेवा पाइरहेका छन् । गाउँपालिकाले ५ नम्बर वडालाई शतप्रतिशत गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने वडाका रूपमा घोषणा गर्न लागेको अध्यक्ष विदुर हुमागार्इंले बताए । उनले गाउँपालिकाको ३ वडालाई कुपोषणमुक्त वडाको रूपमा घोषणा गर्ने तयारी पनि भइरहेको उनले बताए ।

‘स्वास्थ्य चौकी स्थानीय तह मातहत आएपछि नियमित रूपमा स्वास्थ्यकर्मी बस्न थालेका छन्,’ स्थानीय विद्यालयका शिक्षक दशरथ श्रेष्ठले भने, ‘जनप्रतिनिधि भएपछि स्वास्थ्य चौकीको सेवामा सुधार आएको छ ।’

मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकीमा मात्र होइन राक्सिराङ गाउँपालिकाका स्वास्थ्य चौकीको स्वास्थ्य सेवामा सुधार आएको छ । राक्सिराङ गाउँपालिकाका चैनपुर, खैराङ, काकडा र सरिखेतका चौकीका स्वास्थ्यकर्मी अहिले नियमित रूपमा उपस्थित हुने गरेका छन् । विगतमा स्थानीय कार्यालय सहायक, अनमीलगायतले सेवा प्रदान गर्ने गरेकोमा हाल स्वास्थ्य संस्थाका प्रमुख अहेव नै नियमित बस्न थालेका छन् ।

थाहा नगरपालिकाले नगरवासीहलाई सहयोग पुर्‍याउने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र पालुङको प्रयोगशालामा गरिने सबै परीक्षण नि:शुल्क गराउने व्यवस्था गरेको छ ।

सम्बन्धित वडाध्यक्ष, सदस्य गाउँपालिका अध्यक्ष र उपाध्यक्षले नियमित स्वास्थ्य संस्थाको अनुगमन गर्ने गरेका छन् । मकवानपुरगढीले स्वास्थ्य संस्थाका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ भने राक्सिराङ गाउँपालिकाले ३२ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले ८ गाउँपालिका, एक उपमहानगर र एक नगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ । जनस्वास्थ्य कार्यालयले स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेपछि प्रत्येक गाउँपालिकामा वरिष्ठ अहेवलाई स्वास्थ्य संयोजक तोकेको छ ।

मकवानपुरगढीका स्वास्थ्य संयोजक वरिष्ठ अहेव भोला चौलागार्इंले भने, ‘स्थानीय तहको मातहतमा स्वास्थ्यचौकी भएपछि स्थानीयले स्वास्थ्यचौकीबाट नियमित सेवा पाइरहेका छन् ।’ स्वास्थ्यकर्मी नियमित उपस्थित भएर सेवा दिइरहेका छन् । गाउँपालिकाबाट नै स्वास्थ्यकर्मीको तलब भत्ता निकासा हुने भएकाले पनि गाउँपालिकाप्रति स्वास्थ्यकर्मी जवाफदेही हुने गरेका छन् ।

‘गाउँपालिकाका बसिन्दाको स्वास्थ्यमा सुधार ल्याउन प्रयत्न गरिरहेका छौं,’ हुमागाईंले भने, ‘स्थानीय स्वस्थ्य नभएसम्म विकास निर्माण कार्य पनि निरर्थक हुने रहेछ ।’ ग्रामीण भेगका बासिन्दा पनि गाउँकै स्वास्थ्य चौकीबाट नियमित सेवा पाएकोमा खुसी छन् । राक्सिराङ गाउँपालिका खैराङका ७८ वर्षीय लालबहादुर ठकुरीले विगतमा सधैं हेटौंडातिर बस्ने स्वास्थ्यकर्मी गाउँमै बस्न लागको बताए ।

छाप्रोबाट नयाँ भवनमा
रामेछाप (कास)– स्याउलाले बारेको छाप्रोमा ३ वर्ष सञ्चालित गुप्तेश्वर स्वास्थ्य चौकी नवनिर्मित भवनमा सरेको छ ।

धूलो र हावा झेल्दै बिरामीको उपचारमा संलग्न स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक रामाशिष यादवले भने, ‘अहिले स्वर्गमा बसेजस्तो भान भएको छ ।’ जागिर खाएको ३१ वर्षमा यति सुविधा सम्पन्न भवनमा पहिलो पटक बिरामीको सेवा दिन थालेको यादव बताउँछन् । स्याउले छाप्रोमा स्वास्थ्यकर्मीले घाउ चिर्न लाग्दा कुकुर धपाउनुपर्ने अवस्था थियो ।

युनिसेफले रामेछापमा भूकम्पले भत्केका जिल्लाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाका भवन निर्माण गर्ने सिलसिलामा गुप्तेश्वरको भवन निर्माण गरेको हो । नयाँ भवनको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.प्रकाशप्रसाद शाह पुगेर सेवा सञ्चालन सुरु गराएका हुन् ।

६ जना स्वास्थ्यकर्मी रहेको चौकीको नवनिर्मित भवनमा स्वास्थ्यकर्मी आवाससहित ६ कोठा छन् । जिल्ला स्वास्थ्य प्रमुख शाहले भवन सञ्चालनमा आएपछि बिरामीको उपचारलगायत औषधि भण्डार गर्न तथा कार्यालय सञ्चालन गर्न सहज भएको बताए । भूकम्पले स्वास्थ्यचौकी बसेको घर लडाएको र भाडामा समेत घर नपाएपछि स्वास्थ्यकर्मीहरू छाप्रोमा बसेर सेवा सञ्चालन गर्न बाध्य भएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?