कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोला र नदीलाई ढलमुक्त गरिने

लीला श्रेष्ठ

काठमाडौँ — सरकारले आउँदो वर्षको बजेट सार्वजनिक गर्दै काठमाडौं उपत्यकाको सभ्यताको रूपमा रहेका वाग्मती, विष्णुमती, रुद्रमती, इक्षुमती, इन्द्रमती, मनोहरा, हनुमन्ते, नख्खु खोला लगायतका नदीहरूलाई ढलमुक्त गरी फोहोरमुक्त बनाइने घोषणा गरेको हो ।

खोला र नदीलाई ढलमुक्त गरिने

उपत्यकाका तीनवटै जिल्लाको मुख्य चुनौतीको रूपमा यिनै खोला तथा नदीहरू छन् ।


वाग्मती नदीलाई सफाइ अभियानकै रूपमा अघि बढाउँदा समेत फोहोर मुक्त बनाउन सकेको छैन भने, हनुमन्ते सफाइ अभियानकै क्रममा छ । सफाइ अभियानका अभियन्ताहरूसमेत सहरको ढल सहरभित्रै व्यवस्थापन नगरेसम्म खोला तथा नदी सफा नहुने तर्क राख्दै आएका छन् ।


अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेस गर्दै सरकारले उपत्यकाको ट्राफिक तथा सवारीसाधन व्यवस्थापनका लागि केबुलकार, मेट्रोरेल तथा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन तथा डीपीआर सम्पन्न गरी निर्माण कार्य अघि बढाइने घोषणा गरेका छन् ।


वर्षौंदेखि मुख्य समस्याको रूपमा रहेको कोटेश्वर–जडीबुटी ट्राफिक जामलाई छुटकारा दिने लक्ष्यसहित सरकारले आगामी वर्ष अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपि लोकमार्गको खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सर्वेक्षण गरी सुरुङमार्ग निर्माण प्रारम्भ गरिने घोषणा गरेको छ ।


त्यस्तै, सरकारले घर–जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै इजाजत लिएर मात्रै घर–जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको घोषणा गरेका छन् । सरकारले दुई वर्षभित्र जग्गा धनीपुर्जा विद्युतीय बनाउने र भू–उपयोग सम्बन्धी कानुन संसद्को चालु अधिवेशनमा पेस गर्ने भएको छ ।


अघिल्लो आर्थिक वर्षमै विस्तार सहितको गुरुयोजनामा थालेको वीर अस्पतालको निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ । उच्च प्रविधियुक्त रोग निदान केन्द्रको रूपमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मृगौला उपचार केन्द्र काठमाडौंमा स्थापना गरिनेछ । स्वच्छ, हराभरा र प्रदूषण मुक्त नेपाल अभियान सञ्चालन गरी जैविक विविधता तथा जलवायु परिवर्तन अनुकूलमा सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक र गैरसरकारी क्षेत्रबीच सहकार्य गरिने भएको छ ।


काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनि, धूलो, वायु प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापन गर्न सहयोग गरिने बजेटमा उल्लेख छ । काठमाडौंमा हस्तकला बिक्री तथा प्रदर्शनीस्थल निर्माण कार्यलाई अघि बढाइने भएको छ । सबै प्रदेशमा प्रदर्शनी कक्ष स्थापना गरिने उल्लेख गरेको छ । कीर्तिपुरस्थित जातीय संग्रहालयलाई नेपालको परम्परा, भाषा, संस्कृति, रीतिरिवाज र रहनसहन झल्काउने गरी राष्ट्रिय सांस्कृतिक संग्रहालयको रूपमा विकास गर्न पूर्वाधार निर्माणका लागि आवश्यक रकम छुट्याएको छ ।
भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ । रानीपोखरी, धरहरा, काष्ठमण्डप लगायतका सम्पदाहरूको पुनर्निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।


मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको कामलाई यथाशीघ्र सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी वितरण कार्य सुरु गर्न पर्याप्त बजेट विनियोजन गरेको छ । सरकारले साझा यातायात सहकारी संस्थाको ललितपुरस्थित जमिनमा सार्वजनिक निजी/सहकारी सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?