कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ हजार लाभग्राहीसँग अझै भएन सम्झौता

पुनर्निर्माण
३७ महिनामा ५ हजार ५ सय घर पुनर्निर्माण
प्रताप विष्ट

हेटौंडा — भूकम्पले घर भत्काएको तीन वर्ष बितिसक्दा पनि मकवानपुरका करिब ७ हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन ।

७ हजार लाभग्राहीसँग अझै भएन सम्झौता

लालपुर्जाविहीन, सुकुम्वासी लगायतका कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवास पुनर्निर्माण सम्झौता हुन नसेको हो । इन्सेक मकवानपुरले बुधबार हेटांैडामा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमनाथ तिमिल्सिनाले मकवानपुरमा लाभग्राहीहरू ३१ हजार ८ सय १७ जना रहेकामा २४ हजार ८ सय ८७ जनासँग मात्र सम्झौता भएको बताए । यसअनुसार ६ हजार ९ सय ३० लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन ।

यस्तै, मकवानपुरका २३ हजार ९ सय ६९ भूकम्पपीडितले पहिलो किस्ताको अनुदान रकम लगेका छन् । जिल्ला कार्यान्वयन इकाईका अनुसार १४ हजार ८ सय १५ लाभग्राहीले दोस्रो किस्ता बुझेर लगेका छन् । तेस्रो किस्ता ५ हजार ७ सय ५७ लाभग्राही लगिसकेका छन् । जिल्लामा १४ हजार ६ सय २८ निजी भवन निर्माणाधीन छन् । तीन वर्षमा सरकारी र गैरसरकारी संस्थाको अनुदान सहयोगमा ५ हजार ४ सय ८३ निजी भवन पुनर्निर्माण भएका छन् । गुनासो दर्ता २६ हजार ९ सय ८७ वटा परेकामा २३ हजार ९ सय ६० वटा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाइएको छ । सबै गुनासा फछर्योट गरिएका छन् । बाँकी सबै जिल्ला र स्थानीय तहबाट फछर्योट गरिएको छ । यस अवधिमा ६ जना लाभग्राहीहरूले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । भवन बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन् ।

यसैगरी, मकवानपुरमा ५ हजार १ सय ४९ प्रवलीकरण लाभग्राही छन् । तीमध्ये १ हजार ९ सय ४४ सँग अनुदान सम्झौता भएको कार्यान्वयन इकाईका प्रमुख तिमिल्सिनाले बताए । १ हजार ८ सय ८९ लाभग्राहीले पहिलो किस्ता रकम लगिसकेको उनले बताए । प्रवलीकरणतर्फका लाभग्राहीले पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा ५० हजार गरी एक लाख रुपैयाँ अनुदान पाउने छन् ।

तिमिल्सिनाका अनुसार जग्गाधनी पुर्जा अभाव, सकुम्बासी, पुनर्बासको मुद्दा, बहुस्वामित्व, लाभग्राहीको मृत्यु, लाभग्राही विदेशमा रहेका, सम्पर्कमा नरहेका तथा घरायसी विवादलगायतका कारण भूकम्पपीडितहरूसँग अनुदान सम्झौता हुन नसकेको हो । त्यसमध्ये अधिकांशको जग्गाधनी पुर्जा अभावको समस्या छ । सरकारले यो गाँठो फुकाउने प्रयास गरेको भए पनि व्यवहारमा परिणत हुन सकेको छैन ।

सरकारले जग्गा दर्ता गर्न निवेदनको माग गर्दै तेस्रो पटकसम्म सूचना जारी गरिसकेको छ । यो अवधिमा हालसम्म १ हजार ६ सय ४३ निवेदन परेका छन् । तर कार्यान्वयनमा आएको छैन । लाभग्राहीको सूचीमा रहेका लालपुर्जाविहीनहरूको संख्या ४ हजार २ सय ५७ रहेको छ भने २ सय १३ जना सुुकुम्वासी छन् ।

४३ जना लाभग्राहीको मृत्यु भइसकेको तथ्यांक छ भने १ सय ७० जना विदेशमा छन् । ८१ जना लाभग्राहीको बहुस्वामित्वमा जमिन छ । अहिलेको गतिले ५ वर्षमा पनि निजी आवास पुनर्निर्माण कार्य पूरा हुन मुस्किल रहेका जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको युनिट स्थानीय तहमा राखेर पुनर्निर्माणलाई तीव्रता दिइनुपर्ने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?