कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ–मुग्लिन सडक विस्तार : सजिलो ठाउँमा झन् ढिला

रमेशकुमार पौडेल

चितवन — तीन खण्ड बनाएर बिस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडकको भरतपुर आँपटारीदेखि दासढुंगासम्मको पहिलो खण्ड निर्माणका लागि तुलनात्मक रूपमा निकै सजिलो स्थान हो । तर उक्त स्थानमा नै काम भने हुन सकेको छैन् ।

नारायणगढ–मुग्लिन सडक विस्तार : सजिलो ठाउँमा झन् ढिला

यो खण्डभन्दा अप्ठयारो मानिने दोस्रो खण्ड अर्थात् दासढुंंगादेखि सिमलतालसम्म लगभग काम सकिँदा पहिलो खण्डमा अझै १० प्रतिशतभन्दा बढी काम भने बाँकी छ । सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्ड सबैभन्दा कठिन क्षेत्र हो । यहाँ पहिरोले पनि बारम्बार दु:ख दिने गर्छ । पहाड काट्ने काम पनि यही खण्डमा धेरै भएको छ । तर पहिरो पनि नआएको र पहाड पनि नकाटेको पहिलो खण्डमा तेस्रोको भन्दा केही मात्रै बढी काम छ । ३ तहको कालोपत्रे हुनुपर्ने नारायणगढ मुग्लिन सडकमा पहिलो खण्डमा तेस्रो तहको कलोपत्रे भर्खर सुरु भएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सडक बिस्तारका लागि पहाड काटदा ३ लाख ८६ हजार घनमिटर बराबरको ढुंगा, गिट्टी, बालुवा माटो लगायतका सामग्री निस्केको थियो । जसमा २ लाख घनमिटरभन्दा धेरै तेस्रो खण्डको र बाँकी दोस्रो खण्डको थियो । पहिलो खण्डमा पहाड काट्ने काम लगभग भएकै थिएन ।

पहिलो खण्ड निर्माणको जिम्मा भारतीय कम्पनी बीएलए र नेपाली कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (एससीसी) ले संयुक्त रूपमा लिएका छन् । ‘हाम्रो खण्डमा ९० प्रतिशतको हाराहारीमा काम भएको छ । तेस्रो तहको कालोपत्रे लगभग डेढ किलोमिटर भएको छ । मुख्य काम यही हो । १५ दिनमा कालोपत्रे सक्छौं,’ बीएल एससीसी जेभीका कन्ट्रयाक्ट म्यानेजर प्रभु जोशीले भने ।

नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार पहिलो खण्डको काम गर्ने समयावधि १० मे अर्थात् वैशाख २७ गते नै सकिएको हो । २० मेमा काम सक्नुपर्ने दोस्रो खण्डमा अब नगण्य काम मात्रै बाँकी छ । ३० मेमा काम सक्नुपर्ने भनिएको तेस्रो खण्डमा समय सकिए पनि ८५ प्रतिशतको हाराहारीमा मात्रै काम पूरा भएको छ । पहिलो खण्डले जुलाई १५ सम्म म्याद थप्न निवेदन दिएको छ । सजिलो ठाउँ भए पनि सामग्रीहरू समयमा नपाउँदा काम सक्न गाह्रो भएको कन्ट्रयाक्ट म्यानेजर जोशी बताउँछन् ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्दा पहिलो खण्डका लागि चाहिने गिट्टी, ढुंगा, बालुवाजस्ता निर्माण सामग्रीहरू जुगेडी खोलाबाट झिक्ने भन्ने थियो । तर त्यो खोलाको सामग्री अपुग भएको जोशीले बताए । ‘त्यहाँको सामग्रीले हामीलाई सात आठ महिना पनि पुगेन । अरू ठाउँ निकाल्न खोज्दा अनेक झन्झट बेहोर्नुपर्‍यो । मनहरी लोथरबाट समेत गिट्टी, बालुवा बोकेर ल्याउँदा कामले रफ्तार लिएन,’ जोशीले आफ्नो बचाऊ गरे । गत वर्षको असारमा तत्कालीन संसदको विकास समितिका पदाधिकारी र साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको निरीक्षण गरेका थिए । त्यति बेला सामग्रीको समस्या देखाएपछि मात्र प्रशासनले सहयोग गरेको म्यानेजर जोशीले बताए । त्यसपछि आवश्यक पर्ने गिट्टी, ढुंगा र बालुवा भरतपुर ठिमुरा नजिकको त्रिशूली नदी किनारबाट झिक्न थालेको उनको भनाइ छ । ७ महिनायता ठिमुराबाट सामग्री ल्याउन थालेपछि बल्ल राम्रोसँग काम भएको उनले बताए ।

‘कारण यो मात्रै हैन हाम्रो खण्डमा धेरै रुख पनि परे । २ सय ५० रुख काट्न प्रक्रिया पुर्‍याउँदा समय लाग्यो । पहाड काट्ने तथा पहिरोको समस्या नभए पनि हाम्रो खण्डमा फरक खालको समस्या थियो । त्यसैले काम ढिलो भएको हो ।’ जोशीले प्रष्टीकरण दिए । पहिलो खण्ड र तेस्रो खण्डमा हुने कालोपत्रेका लागि चाहिने सामग्री पनि अहिले एक नम्बरका रहेको प्लान्टले उत्पादन गर्छ ।

दुइटा खण्डका लागि एउटैले सामग्री उत्पादन गरेका कारण पालैपालो दिन बिराएर कालोपत्रे हुने गरेको छ । त्यसैले कालोपत्रेमा पनि समय लाग्ने गरेको छ । ‘लगातार काम गरे १५ दिन त लाग्छ नै तर पानी पर्ला के होला, कालोपत्रे गर्न पनि तेस्रो खण्ड र हामीले आलोपालो गरेका छौं । त्यसैले केही समय अझै लाग्छ,’ जोशीले भने ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र देशका पूर्वी र पश्चिमी भाग जोड्ने मुख्य मार्ग हो । साढे पाँच मिटर मात्रै फराकिलो सडक एसियाली मापदण्डअनुसार ९ देखि ११ मिटर चौडा बनाउन बनाउन लागिएको हो । दुई वर्षभित्र सक्ने भनेर सन् २०१५ को अप्रिलमा सम्झौता र काम सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?