कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधार विकास प्रगति न्यून

मौसमअनुकूल भए पूर्वाधार विकासको प्रगति ४५ प्रतिशत पुर्‍याउने लक्ष्य
विद्या राई

काठमाडौँ — आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा काठमाडाैं महानगरपालिकाको बजेट खर्च एकदमै न्यून छ । सहरी पूर्वाधार सुधार तथा अन्य विकासको भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ ।

पूर्वाधार विकास प्रगति न्यून

चालू आवका लागि छुट्टाइएको ८ अर्ब ९८ करोड ४८ लाख ५७ हजार बजेटको वित्तीय प्रगति कुल बजेटको एकतिहाइ छ ।

भौतिक र वित्तीय प्रगतिलाई हेर्दा यस वर्ष महानगरपालिकाअन्तर्गत विकास, पूर्वाधारका योजना कमै मात्र सम्पन्न हुने देखिन्छ । ‘हालसम्ममा प्रगति हुनुपर्ने त ९८ प्रतिशत हो, शतप्रतिशतको लक्ष्य राखेर बजेट ल्याएका हौं, लक्ष्यअनुसारको प्रगति हुन सकेन,’ प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले भने । योजना सञ्चालन हुने बेला भएका केन्द्रीय तथा प्रदेश चुनाव तथा निर्वाचन आचारसंहिता, विकास निर्माणमा अवरोध गर्ने परिपाटी र वातावरणीय प्रभावले लक्ष्यअनुसार योजना सम्पन्न गर्न नसकेको उनले बताए ।

चुनाव सुरु भएदेखि अन्त्यसम्म कर्मचारीहरू चुनावमा खटिए । निर्वाचन आचारसंहिता लागू भएपछि योजना सम्झौता, बजेटका काम ठप्प बने । काठमाडौं महानगरपालिकामा खुल्ला क्षेत्रको अभाव, बाक्ला घरहरूको बीचमा निर्माण सामग्री ओसारपसार र काम गर्न असहजताले पूर्वाधार विकासका काम गर्न मुस्किल हुन्छ । प्राय : योजनाहरू बर्खा लागेसँगै सुरु हुन्छन् । ठेकेदार र उपभोक्ता समितिलाई वर्षात्का बाबजुद काम गर्न गाह्रो हुन्छ । यसकारण विकासे योजना प्रभावित हुने गर्छन् ।

चालू आवमा महानगरपालिका तथा वडास्तरीय तीन हजारभन्दा बढी सानाठूला योजना सञ्चालनमा छन् । वडाका योजना अधिकांश सम्पन्न भइसकेका प्रशासकीय अधिकृत कोइरालाले बताए । केन्द्रीय योजनाहरू, महानगरका ठूला योजना तथा अन्य ११ वटा विभागका कतिपय योजना अझै पनि सुरु भइसकेका छैनन् ।

सहरी पूर्वाधार विकास विभागअन्तर्गत पर्ने सडक मर्मत, बत्ती मर्मत, सार्वजनिक खुला क्षेत्रको संरक्षण, विकास तथा सौन्दर्यीकरण गर्ने कार्य, अन्तर नगर साझेदारी कार्यक्रम, वडा कार्यालय तथा भवन निर्माणलगायतका अधिकांश योजनाको सम्झौता हुन बाँकी छ । इन्जिनियर रामबहादुर थापाका अनुसार पूर्वाधार विकासअन्तर्गत महानगर तथा वडाका गरेर करिब ५५ जति साना तथा मझौला योजना सम्पन्न भएका छन् । डेढ सय बढी योजना सम्पन्न हुने चरणमा छन् ।

मौसमअनुकूल भए पूर्वाधार विकासको प्रगति ४५ प्रतिशत पुर्‍याउने लक्ष्य महानगरपालिकाले राखेको छ । योजनाहरू जेठ मसान्तसम्म मात्रै सम्झौता हुन्छन् । जेठ र असारभित्रमा कामको प्रगति बढ्न सक्ने अधिकृत कोइराला बताउँछन् । ‘मौसम अदलबदल भइरह्यो, पानी परिरह्यो भने सडकका योजना प्रभावित हुन्छन्, मौसमअनुकूल भए थप एक महिनामा प्रगति १० प्रतिशत बढ्छ,’ उनी बताउँछन् ।

गत वर्षको साउनमा महानगरपालिकाको नगरसभाबाट पारित गरेर कुल १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार बजेट ल्याएको थियो । ३२ वटै वडामा उक्त बजेटलाई परिचालन गरेको छ । वडाहरूलाई ठूला, मझौला र साना गरी तीन समूहमा विभाजन गरेर बजेट पारित गरेको थियो । जनसंख्या, भूगोल, क्षेत्रफल र आवश्यकताका आधारमा समूह विभाजन गरिएको वित्तीय विभाग प्रमुख शिवराज थियो । ठूलालाई दुई करोड २५ लाख, मझौलालाई एक करोड ५० लाख र सानालाई एक करोड पाँच लाखका दरले बजेट पठाइएको थियो ।

आर्थिक वर्षको सुरुवात र जनप्रतिनिधिको आगमन एकैचोटि भएकाले वडास्तरीय योजना छनोट र सञ्चालन गर्ने जिम्मा दिइएको थियो । यसले गर्दा हालसम्म कति योजना सम्पन्न भए, कति सञ्चालन भइरहेका छन्, कति बाँकी छन् तोकेर भन्न नसकिने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

महानगरले योजना सञ्चालनका लागि पेस्की दिने गरेको छ । ठेकेदारलाई २० प्रतिशत र उपभोक्ता समितिलाई योजनामा परेको कुल बजेटको एकतिहाइ पेस्की प्रदान गर्छ । पेस्की लिएपछि काम नगर्ने परिपाटी पनि हाबी छ । अटेर ठेकेदारहरूलाई कारबाही गर्ने गृह मन्त्रालयको कदमअनुसार महानगरले पनि प्रक्रिया थालेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?