कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रसरोवरका दुई वडा बालमैत्री

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिकाको ४ र ५ वडा (साविक फाखेल गाविस) लाई बालमैत्री घोषणा गरिएको छ । मंगलबार एक समारोहबीच उक्त घोषणा गरिएको हो । प्रदेश ३ मा बालमैत्री वडा घोषणा गरिएको यो पहिलो हो ।

इन्द्रसरोवरका दुई वडा बालमैत्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विश्व बालश्रमविरुद्ध दिवसको अवसरमा मंगलबार इन्द्रसरोवरका २ वटा वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् । मन्त्री पण्डितले घोषणा प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे । सरकार देशलाई समृद्ध र विकसित बनाउने अभियानमा अघि बढेको भन्दै उनले त्यसका लागि बालमैत्री घोषणा कार्यले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे, प्रदेश सांसद माधव पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बूढालगायतले बालमैत्री वडा घोषणामा पहिलो हुनु खुसीको कुरा भए पनि पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

दुई वडाले बालमैत्री स्थानीय शासनका सूचकमा ९५ प्रतिशत पूरा गरेको संयुक्त बालमैत्री वडा घोषणा मूल समारोह समितिका संयोजक एवं इन्द्रसरोवर ५ नम्बर वडा अध्यक्ष धनराज महर्जनले बताए । घोषणा कार्यक्रम अघि निकालिएको झाँकीसहितको र्‍यालीपछि स्थानीय तथा राष्ट्रिय कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । महिला तथा बालबालिका कार्यालय हेटांैडाले साविकको फाखेल गाविसलाई बालमैत्री गाविस घोषणा गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको थियो ।

थाहामा आँखा अस्पताल बन्दै
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा तिलगंगा आँखा अस्पतालले सामुदायिक आँखा अस्पताल स्थापना गर्न लागेको छ ।

थाहा नगरपालिका–३ थानाबजारनजिक सामुदायिक कार्यक्रमअन्तर्गत आँखा अस्पताल स्थापना गर्न लागिएको हो । अस्पताल स्थापना गर्न नगरपालिकाले २ रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गा सम्याउने र राजमार्गसँग जोड्न सडक खोल्ने काम भइरहेको छ । भिजन हिमालय अस्ट्ेरलियाको सहयोगमा तिलगंगा आँखा अस्पतालले सामुदायिक आँखा अस्पताल स्थापना गर्न लागेको मेयर लवशेर विष्टले बताए ।

‘आँखाका रोगीलाई काठमाडौं र हेटौंडा जान नपरोस् भनेर अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराएका हौं,’ उनले भने । करिब एक करोडको लागतमा निर्माण हुने आँखा अस्पतालमा दैनिक रूपमा आँखा परीक्षण गरिने र मासिक रूपमा आँखाको शल्यक्रिया गर्ने सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । उनका अनुसार अस्पताल निर्माण एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?