कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विनियोजन विधेयकमा छलफल भएन

हेटौंडा — विनियोजन विधेयकमाथि बिहीबारको प्रदेशसभा बैठकमा कार्यतालिकाअनुसार हुन सकेन । विधेयकमा योजनाहरूको सूची समावेश नगरी व्यय अनुमानको विवरण मात्रै समावेश गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि बिहीबार छलफल स्थगित गरिएको हो ।

विनियोजन विधेयकमा छलफल भएन

सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफल सकिएर विनियोजन विधेयक प्रस्तुत हुँदासमेत योजनाहरूको सूची नल्याएको भन्दै कांग्रेसले विरोध जनाएपछि छलफल स्थगित गर्न सत्तापक्ष सहमत भएको कांग्रेस प्रमुख सचेतक राधा घलेले जानकारी दिइन् ।


तत्कालीन एमालेका मुख्य सचेतक रामेश्वर फँुयालले बिहीबार कार्यतालिकामा रहेका दुईमध्ये एक कार्यसूचीमा निर्णयार्थ प्रस्तुत भएको बताए । ‘विनियोजन विधेयकमा पनि छलफल गर्ने कार्यतालिकामा थियो, तीमध्ये एक कार्यसूचीमा मात्रै छलफल भयो,’ उनले भने, ‘आइपुग्नुपर्ने सामग्री पनि आइपुगेन, आगामी बैठकमा प्रस्तुत हुन्छ ।’


सरकारले भने विनियोजन विधेयक पारित भएपछि मात्रै योजनाहरूको सूची पेस गर्ने तयारी गरेको थियो । असार ११ गते बस्ने बैठकमा विनियोजन विधेयकमा छलफल गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ ।


विधेयक समितिमा
बिहीबारको प्रदेशसभा बैठकले कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।


आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले पेस गरेको दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । कांग्रेस सांसद प्रभात तामाङले संशोधनका सूचनाहरू सबै सदस्यहरूलाई वितरण नगरी दफावार छलफमा पठाउन नमिल्ने दाबीसहित नियमापत्ति जनाए पनि सभामुखले प्रस्ताव अघि
बढाएका थिए ।


गगन दर्शकदीर्घामा
प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले दर्शकदीर्घामा बसेर प्रदेशसभा ३ को बैठक अवलोकन गरेका छन् ।


कांग्रेस जिल्ला सभापतिको भेलामा सहभागी हुन हेटौंडा आएका उनले प्रदेशसभा बैठकबारे उत्सुकताले आफू आएको प्रतिक्रिया दिए । ‘मेरो आफ्नो प्रदेश पनि हो, प्रदेशसभा नौलो भएकोले हेर्न आएको हुँ,’ उनले भने, ‘संसदीय प्रक्रिया एउटै हो, तर माहोल नयाँ लाग्यो ।’

प्रकाशित : असार ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?