कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भवन निर्माण अनिश्चित

मन्थली — रामेछाप जिल्लामा निर्माणाधीन २ अस्पताल र १ स्वास्थ्य चौकी भवनको निर्माण कार्य अनिश्चित भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा निर्णय सुरु भएका बाम्ती र दोरम्बा प्राथमिक अस्पताल र गोठगाउँ स्वास्थ्य चौकी भवन निर्माणको अन्तिम तयारी भइरहेको बेला सरकारले भवन निर्माण कार्य रोकेको हो ।

भवन निर्माण अनिश्चित

बाम्ती र दोरम्बामा प्राथमिक अस्पताल निर्माणको कुराले गद्गद भएका स्थानीयवासी अहिले निराश भएका छन् । अहिलेसम्म चिकित्सकको सेवा नपाएका स्थानीय अस्पताल बन्ने कुराले हौसिएका थिए । अस्पताल भवन निर्माण रोकिनु हाम्रो स्वास्थ्य सेवामा खेलबाड भएको बाम्तीका फुर्वा शेर्पाले भने । उनले डाक्टरको सेवा नपाउँदा अधिकांश दुर्गमका बासिन्दा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यतामा रहेको बेला अस्पताल बन्ने खबरले त्यस क्षेत्रमा नै खुसीयाली छाएको भन्दै सरकारले निर्माण कार्य रोक्ने निर्णय तत्काल फुकाउनुपर्ने माग गरे ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रामेछापका प्रमुख परिक्षित कडरियाका अनुसार बोलपत्र मूल्यांकन गरी सम्झौताको चरणमा पुगेको गोठगाउँ स्वास्थ्य चौकीको खरिद प्रक्रिया माथिल्लो निकायको निर्देशनमा रद्द भएको छ ।

बाम्ती र दोरम्बा प्राथमिक अस्पतालको भने बोलपत्र आह्वानका लागि अन्तिम तयारी थियो । स्वास्थ्य संस्थाहरूको यस अघि निर्माणाधीन भवनबाहेक अन्य नयाँ भवन निर्माण कार्यका लागि भए गरेका सबै काम तत्काल रद्द गर्न निर्देशन आएपछि कार्यालयले स्वास्थ्य संस्थाको भवन निर्माणका लागि थालेका सबै प्रक्रिया रोकिएको जनाएको छ । यसबाहेक रामेछापको जिल्ला सदरमुकाम मन्थली लगायत २५ वटा स्वास्थ्य चौकी भवन निर्माणका लागि कार्यक्रम स्वीकृत भएकोमा हाल उक्त कार्यक्रम पनि अनिश्चित बनेको छ । टेन्डर भइसकेका कार्यक्रम रद्द गर्नुपरेकाले थपिएका भवन त्यसै अलपत्र परेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका अधिकांश स्वास्थ्य संस्थाहरूले सेवा सञ्चालनमा सुविधायुक्त पूर्वाधार पाएका छैनन् । बिरामी जाँच्ने स्थान, औषधि भण्डारण, सुरक्षित सुत्केरी सेवाका अतिरिक्त आपत्कालीन सेवाका लागि स्वास्थ्यकर्मीको बसोवासका लागि भवनको अभावमा कठिनाइ झेल्नु परेको जिल्ला स्वास्थ्य प्रमुख डा. प्रकाशप्रसाद शाहले बताए ।

भूकम्पपछि युनिसेफको सहयोगमा विभिन्न १४ वटा स्वास्थ्य संस्थामा प्रिफ्याब भवन बनेका र एक दर्जन स्वास्थ्य संस्थाको मर्मत सुधार भएका छन् । अझै २५ भन्दा बढी स्वास्थ्य संस्थाको भवन निर्माण सुधार हुन सकेका छैनन् ।

प्रकाशित : असार १०, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?