कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरको बजेट ३ अर्ब ३४ करोड

रमेशकुमार पौडेल

चितवन — आर्थिक वर्ष ०७५/७६ का लागि भरतपुर महानगरपालिकाले ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट पेस गरेको छ । मेयर रेनु दाहालले आइतबार नीति तथा कार्यक्रमसहित बजेट पेस गरेकी हुन् । 

भरतपुरको बजेट ३ अर्ब ३४ करोड

बजेटमा विकास अर्थात् पुँजीगत खर्चभन्दा पदाधिकारी तथा कर्मचारीको तलब लगायतमा हुने चालु खर्च धेरै छ । चालु खर्च एक अर्ब ७० करोड ४९ लाख रुपैयाँ हुने अनुमान छ । पुँजीगत खर्च एक अर्ब ६२ करोड ५६ लाख ८६ हजार रहने प्रस्तुत बजेटमा उल्लेख छ । यो नगर कार्यपालिकासँगै वडा समिति र विषयगत कार्यालयको खर्च हो । चालु खर्चतर्फ महानगरका पदाधिकारीहरूको तलब सुविधामा तीन करोड रुपैयाँ खर्च हुने अनुमान छ । कर्मचारीहरूको पारिश्रमिक तथा सुविधामा १० करोड रुपैयाँ खर्च हुनेछ ।

पुँजीगत खर्चमा सार्वजनिक निर्माणमा एक अर्ब ५८ करोड २१ लाख ८६ हजार रुपैयाँ खर्च गर्ने महानगरको योजना छ । भवन निर्माण र खरिदमा दुई करोड रुपैयाँ खर्च हुने महानगरको बजेट छ । कुल बजेटमा आन्तरिक राजस्व ५५ करोड ६० लाख रुपैयाँ मात्रै छ । चालु आर्थिक वर्षमा आन्तरिक राजस्व ६४ करोड २७ लाख उठ्ने अनुमान गरिएको थियो । तर अनुमान अनुसार उठ्ने सम्भावना नदेखेपछि आउँदो आर्थिक वर्षका लागि कम लक्ष्य तय भएको हो । गत वर्षमा आन्तरिक राजस्व जम्मा २२ करोड रुपैयाँ उठेको थियो । महानगरले करको दर र दायरा भने बढाएको छ ।

महानगरपालिकाका मेयर रेनु दाहालले पूर्वाधार विकासका साथै आर्थिक विकास, उद्योग तथा पर्यटन, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित नीति र योजना समेत समावेश गरेकी छन् । महानगरको गौरव योजनाका रूपमा रहेका चक्रपथ तथा सहायक सडकहरू महिना दिनभित्रै शिलान्यास गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । सहरका मुख्य ३ स्थानमा आकाशे पुल राख्ने दाहालले बताइन् । पूर्वाधार विकासका लागि महानगरले सार्वजनिक निजी साझेदारी कार्यक्रम (पीपीपी) सञ्चालन गर्ने दाहालको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरका ‘क’ र ‘ख’ वर्गका सडकहरूमा साइकल ट्रयाकहरू पनि हुनेछन् । नारायणी नदी किनारमा निजी क्षेत्रसँग सहकार्य गरेर मानव निर्मित सामुद्रिक तट मोडलको मनोरञ्जन पार्क बनाउने दाहालले घोषणा गरिन् । यसले नदी कटान पनि नियन्त्रण हुने उनको दाबी छ ।

प्रकाशित : असार ११, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?