कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिकांश स्थानीय तह भाडामा

हेटौंडा — स्थानीय तहको निर्वाचन सम्पन्न भएको १४ महिना बित्न लाग्दा पनि मकवानपुरका अधिकांश गाउँपालिका र वडा कार्यालयहरू विद्यालय, सामुदायिक भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन् ।

अधिकांश स्थानीय तह भाडामा

केही गाउँपालिका र थाहा नगरपालिकाले वडा कार्यालयहरू निर्माण गरिरहेका छन् । तर, यही आवमा सम्पन्न हुनुपर्ने थियो हुन सकेको छैन ।

जिल्लाका ८ गाउँपालिकामध्ये ५ वटाको आफ्नै भवन छैन । त्यस्ता गाउँपालिकाले भाडामा घर लिएर, विद्यालय र सामुदायिक भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।

मकवानपुरको सुदूरपूर्वमा पर्ने बाग्मती गाउँपालिकाको केन्द्र झुरझुरेमा राखिएको छ । ‘झुरेझुरेमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौं,’ अध्यक्ष सर्केश घलानले भने, ‘कार्यालय भवन निर्माणको तयारीमा छौं, भवनको अभावले व्यवस्थित कार्यालय सञ्चालन गर्न सकिएको छैन ।’

कैलाश गाउँपालिकामा साबिकको गाविस भवन पनि थिएन । सुरुमा भूकम्पले चिरैचिरा बनाएको कृषि विकास कार्यालय सेवा केन्द्रको भवनमा कार्यालय राखिएको थियो ।

उक्त सेवा केन्द्रको भवन अत्यन्त सानो भएकाले गाउँपालिकाका प्रमुख र उपप्रमुख बस्ने कार्यकक्षको अभाव थियो । केही समयपछि कालिकाटारमा नेपाली सेनाले सामुदायिक भवन निर्माण गरेको थियो । त्यही भवनमा प्रमुख र उपप्रमुखको कार्यकक्ष राखिएको छ । उक्त कार्यकक्ष पनि व्यवस्थित छैन ।

गर्मीमा छाना तातेर बस्नै सकिँदैन । भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न घरै छैन । उक्त गाउँपालिकाले १२ लाखको लागतमा वडा ५ को कार्यालय भवन गोगनेको चौकीटारमा निर्माणाधीन छ । ‘चालु आवभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता थियो,’ वडाध्यक्ष छेकु लामाले भने, ‘ठेकेदारको ढिलासुस्तीका कारण निर्माण सकिएको छैन ।’

कैलाश गाउँपालिकाको मात्र होइन राक्सिराङको हालत पनि उस्तै छ । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा राखिएको छ । विद्यालयको छात्रावासमा गाउँपालिकाको कार्यालय राखिएको छ । छात्रावास निर्माणाधीन थियो । ‘छात्रावासको निर्माण गरी गाउँपालिकाको कार्यालय राखेका छौं,’ अध्यक्ष राजकुमार मल्लले भने, ‘गाउँपालिकाको भवन निर्माण गर्न बजेट छुट्याएका थियौं, प्राविधिक अभावले भवन निर्माण गर्न सकिएन ।’

यसैगरी भीमफेदी गाउँपालिकाले पनि घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । ‘गाउँपालिकाले भवन निर्माण नगरिसकेकाले भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौं,’ अध्यक्ष हिदम लामाले भने ।

सुगम क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले पनि रजैयामा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । इन्द्रसरोवर, मकवानपुर गढी र बकैया गाउँपालिकाले साबिकको गाविसको जीर्ण र सानो भवनवाट कार्यालय सञ्चालन गरिरहेका छन् । ‘साबिकको गाविस कार्यालय भवन सानो र जीर्ण छन्,’ मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले भने, ‘गढीको साविकको गाविस भवनवाट जेनतेन काम गरिरहेका छौं, अब आफ्नै भवन आवश्यक छ ।’

मकवानपुरका ८ गाउँपालिकामा ७१ वटा वडा छन् । तीवडामध्ये ५० वडाको आफ्ना भवन छैनन् । भाडामा लिएर वडा कार्यालयहरू सञ्चालन भइरहेका छन् । केही वडा कार्यालयहरू गाउँघर क्लिनिक कार्यालयमा राखेर सञ्चालन गरेका छन् भने केही वडा साविकको गाविस भवनमा राखिएको छ ।

सबैभन्दा सानो र थोरै वडा भएको इन्द्रसरोवर गाउँपालिकाको एकमात्र वडाको आफ्नो भवन छैन । उक्त वडाको कार्यालय सामुदायिक भवनमा राखेर सञ्चालन गरिएको छ । ४ वटा वडाको आफ्नै अर्थात् साविकको गाविस कार्यालय भवन छ । त्यही भवनलाई वडा कार्यालय बनाइएको छ ।

उक्त गाउँपालिकाको ५ नम्बर वडा कार्यालय सामुदायिक भनवमा राखिएको अध्यक्ष जीवन लामाले बताए । जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले सबैभन्दा ठूलो बकैया गाउँपालिकामा १२ वटा वडा छन् । तीमध्ये ३ वटा वडाको मात्र आफ्नो कार्यालय भवन छ । ९ वटाको छैन ।

प्रकाशित : असार २३, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?