कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यक्तिगत खर्चमा ६ एम्बुलेन्स

रामेछाप — पूर्णबहादुर लामा (कान्छाराम) ले शनिबार रामेछापवासीका लागि फेरि अर्को गुन लगाएका छन् । उनले एकैपटक ६ वटा एम्बुलेन्स प्रदान गरे । एकैपटक ६० लाखभन्दा बढीको व्यक्तिगत लगानी गरी एम्बुलेन्स हस्तान्तरण गरेर उनी जिल्लाका एक्ला दानवीर भएका छन् ।

व्यक्तिगत खर्चमा ६ एम्बुलेन्स

योसमेत उनले व्यक्तिगत रूपमा एम्बुलेन्स खरिद र मर्मतबापत खर्चिएको रकम १ करोड पुगेको छ ।

यसअघि पनि उनले जिल्लाका विभिन्न भागमा ३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेका थिए । शनिबार थपिएकासहित अब जिल्लाको दुर्गम क्षेत्रमा उनले सहयोग गरेका ९ वटा एम्बुलेन्स सञ्चालन हुनेछन् । तामाङले हस्तान्तरण कार्यक्रममा भने, ‘अझै १ शववाहन र ३ वटा एम्बुलेन्स आउँदै छन्, म चाँडै समुदायलाई प्रदान गर्छु ।’

हेर्दा एउटा परियोजनाजस्तै लाग्ने उनको सहयोगका लागि कसैको एक पैसा परेको छैन । उनको नामबाट दर्ता भएको कान्छाराम कन्स्ट्रक्सनलाई उनले सौजन्यको रूपमा राखेका छन् । अनि आफ्ना बुबाआमाको नाममा स्थापित शेरबहादुर तामाङ–जमुना तामाङ प्रतिष्ठानको नाम । जिल्लामा दु:ख परेका बेला धेरैले सम्झने नाम हो कान्छाराम ।

दुर्घटना होस् या सिकिस्त बिरामी, रामेछापको नागरिकलाई सन्चो नभएको कुरा थाहा पाएपछि उनी आफैं हेलिकप्टर लिएर उद्धारमा पुग्छन् । प्रीतिमा ६० वटाभन्दा बढी अरिंगालले टोकेर सिकिस्त भएका बिरामीलाई उनले हेलिकप्टरमार्फत उद्धार गरी बचाए ।

रामेछापको पालेवनमा भएको बस दुर्घटनामा परेका बिरामीलाई २ पटक हेलिकप्टरबाटै ओसारेर उनले पुण्य कमाएका छन् अनि खिम्तीमा गत वर्ष आएको बाढीपहिरोमा किचिएका ७ जनालाई उनले हेलिकप्टर ल्याएर उद्धार गरेका थिए । धारा बनाउन पाइप होस्, या सडक खन्न डोजर, मन्दिरलाई गजुर, गुम्बामा बुद्धको मूर्ति होस् या विद्यालयमा जस्तापाता उनी सहयोग माग्न जानेलाई रित्तो हात फर्काउँदैनन् । सहयोग गरेबापत कुनै सर्त पनि राख्दैनन् ।

गएको निर्वाचनमा कान्छाराम संघीय संसद् सदस्यमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । तर, पराजित भए । निर्वाचनमा होमिँदा उनले आफूलाई भोट हाल्नु नहाल्नु जनताको मर्जी भन्दै जिल्लावासी दाजुभाइको सुविधाका लागि आफ्नो कर्म नछोड्ने बताएका थिए । विगत वर्षहरूमा गरेका स्वास्थ्य सेवाका कुरा सुनाउँदै उनले भनेका थिए, ‘म चाँडै एम्बुलेन्स थप्छु, प्रक्रिया सुरु भइसकेको छ ।’

रामेछापको चुचुरे र ठोसे क्षेत्र समेटेर १, धोबी क्षेत्र समेटेर १ र ओख्रेनी क्षेत्रमा १ गरी केही वर्षअघिदेखि उनले सहयोग गरेका ३ वटा एम्बुलेन्स सञ्चालनमा थिए ।

शनिबार हस्तान्तरण भएका ६ वटामध्ये प्रीति कुभुलाई एक, साँघुटार देउरालीलाई १, गेलु चनखुलाई १, दोरम्बा डडुवालाई १, बेथान हिलेदेवीलाई १ र माकादुम खाँडादेवीलाई १ रहेका छन् । शनिबार मन्थलीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले एम्बुलेन्सको साँचो एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरे ।

कार्यक्रममा देउवाले मानव सेवामा कान्छारामले गरेको योगदानको खुलेर प्रशंसा गरे । उनले विकट रामेछापमा सडक पुगेर पनि साधन नपुग्दा नागरिकले खेप्नुपरेको सास्ती अब अन्त्य हुने विश्वास व्यक्त गरे । कतिपय दुर्गम क्षेत्रका बासिन्दा साधन नपाएर सुविधा सम्पन्न अस्पतालसम्म पुग्न नसकेको बताउँदै देउवाले भने, ‘एम्बुलेन्सको पर्याप्तताले अब साधनको अभावमा कुनैले अकालमा मर्नु पर्दैन ।

कार्यक्रमका अधिकांश वक्ताले कान्छारामको समाजप्रतिको योगदान उच्च रहेको भन्दै प्रशंसा गरे । ‘सामाजिक कार्यमा कान्छारामको सहयोगको सबैले प्रशंसा गरेका छन् । यो मानवजगत्का लागि ठूलो पुण्यको काम हो,’ गेलु चनखु एम्बुलेन्स सञ्चालक समितिका संयोजक खिलेन्द्रबहादुर खत्रीले भने, ‘सरकारले गर्न नसकेको सहयोग एक व्यक्तिबाट भयो ।’

प्रकाशित : असार २४, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?