कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक आयोजना: भुक्तानी नहुँदा निर्माण सुस्त

हरिहरसिंह राठौर

भीमढुंगा (धादिङ) — जिल्लामा निर्माणाधीन २२ बहुवर्षीय सडक आयोजनाको ६१ करोड रकम भुक्तानी नहुँदा निर्माण कार्यमा बाधा परेको छ । सडक डिभिजन कार्यालयमार्फत भुक्तानी हुने रकम ठूला सडक निर्माणको जिम्मा लिएका कम्पनीले गरेको कामअनुसार पाउन नसकेका हुन् ।

सडक आयोजना: भुक्तानी नहुँदा निर्माण सुस्त

सडक आयोजना निर्माण र मर्मत कार्यको जिम्मेवारीबारे संघीय र प्रदेश सरकारबीच सामन्जस्यता नहुँदा निर्माण व्यवसायीले बिल पेस गरेको एक वर्षमा पनि भुक्तानी नपाएका हुन् । सरकारले समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न थालेपछि निर्माण व्यवसायीले पनि समयमै भुक्तानी नदिएको रकमको ब्याज पाउनुपर्ने माग अघि सारेका छन् । सरकारले जिल्लाका २२ आयोजनाका निर्माण कम्पनीलाई गत वर्षकै ६१ करोड ६४ लाख ७२ हजार ७ सय ६० रुपैयाँ ७२ पैसा भुक्तानी दिन बाँकी छ ।


सरकारले नौबिसे–कलंकी सडकको सवारी चाप कम गर्न पृथ्वीराजमार्गको धार्केदेखि ठूलोखोला–भीमढुंगा सडक र सीतापाइला–भीमढुंगा हँुदै लामीडाँडा सडकलाई क्षेत्रीय तथा पर्यटकीय सडकका रूपमा विकसित गर्ने योजना अघि सारेको थियो । सर्तअनुरूप समयमा भुक्तानी नपाउँदा काम सक्न कठिनाइ भएको ठेकेदारको गुनासो छ । ‘उपकरण र मजदुरलाई भुक्तानी दिन करिब ५ करोड ऋणको ब्याज एक वर्षदेखि तिर्दै छु । करिब ७० प्रतिशत निर्माण कार्य भइसक्दा पनि पेस गरिएको बिलको भुक्तानी भएको छैन,’ नाना कन्स्ट्रक्सनका प्रोपाइटर नारायण श्रेष्ठले भने ।


भीमढुंगा–लामीडाँडा सडकअन्तर्गतकै धुनीबेसी–२ को ठूलोखोलादेखि धुनीबेसी–३ को रमाइलो चौरसम्मको ९ किलोमिटर सडक पिच गर्ने जिम्मा पाएको नाना कन्ट्रक्सनले समयमै निर्माण कार्य सम्पन्न गर्न नसक्दा उपभोक्तामा सास्तीसमेत थपिएको छ । नाना कन्ट्रक्सनले २०७३ साउनमा निर्माण सम्झौता गरेको थियो ।


उक्त कम्पनीले १४ करोड २५ लाखमा ठेक्का पाएको थियो । २०७४ कात्तिकमा नै काम सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयमै काम सम्पन्न गर्न नसकेको भन्दै कन्ट्रक्सन कम्पनीले थप १ वर्षका लागि समय माग गरेको छ । कम्पनीले समयमा बिजुलीका पोल व्यवस्थापन नगरेको, सडक मापदण्डमा पर्ने व्यक्तिगत घर सरकारले नटाएको, स्टिमेटमा उल्लेख नै नभएको पर्खाल लगाउन स्थानीयले दबाब दिएको कारण देखाउँदै समयमा काम हुन नसकेको जनाएको छ ।


भीमढुंगा–लामीडाँडा सडकअन्तर्गत भट्टेडाँडादेखि चकमकेसम्मको सडक स्तरोन्तनि (वाटरसिल) गर्ने कार्यको समयसीमा अन्तिम चरणमा पुगेको छ । काठमाडौंको नागार्जुन नगरपालिकाको भीमढुंगादेखि धादिङ गल्छीसम्मको सडकमध्ये धुनीबेसी नगरपालिका–४ को भट्टेडाँडादेखि थाक्रे चकमकेसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्तनि तथा वाटरसिल गर्ने कार्यको समयसीमा यही असार २० गते सकिएको छ । आशिष सूर्यचन्द्र जेभीले उक्त सडक खण्डको ११ किलोमिटरमा सडक चौडा, ग्याभिन जाली, मेसिनरी पर्खाल, हयुम पाइप बिछयाउने र ओटासिल गर्ने गरी २०७२ साल माघ ७ गते ठेक्का पाएको थियो । १५ महिनामा काम सक्ने गरी ठेक्का पाएको उतm कम्पनीको दुईपटक म्याद थप पछि असार २० गते निर्माण सकेको हो ।


नाकाबन्दी, तराई आन्दोलन, स्थानीय तह र संघीय चुनावका कारण काम गर्न नपाएकाले सडक निर्माणमा ढिलाइ हँुदा २ पटक म्याद थपिएको सडक डिभिजन सडक गजुरीका इन्जिनियर हरि ठकुरीले बताए । २ पटक म्याद थपिँदा निर्माण लागत बढेर १२ करोड पुगेको जिल्ला प्राविधिक कार्यालयका कन्सल्टयान्ट इन्जिनियर राजेन्द्र भण्डारीले बताए । अहिलेसम्म सडक चौडा गर्ने, ग्याभिन जाली लगाउने, मेसिनरी पर्खाल हाल्ने, हयुम पाइप बिछयाउने, बेस, सब–वेस हाल्नेलगायतका कार्यहरू सकिएर वाटरसिल गर्ने कार्य सुरु गरिएको भण्डारीले बताए ।


उक्त आशिष सूर्यचन्द्र जेभीले उक्त सडक निर्माण गरेबापत्को गरिब ५२ प्रतिशत भुक्तानी पाइसकेको छ भने अहिलेसम्म सडक ७५ प्रतिशत कार्य सकिएको प्रगति विवरण प्राविधिक कार्यालयलाई बुझाएको छ । मनसुन सुरु भएकाले दिउँसोको समयमा वर्षात् हुँदा र २५ डिग्री सेल्यिसभन्दा कम तापक्रममा काम गरेमा ओटासिल भरपर्दाे नदेखिने भएकाले समयमा निर्माण सम्पन्न गर्न मुस्किल पर्ने प्राविधिक कार्यालयको भनाइ छ ।

प्रकाशित : असार २७, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?