कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्ती बचाउन मनोहरा फर्काइयो

लीला श्रेष्ठ

भक्तपुर — काठमाडौं र भक्तपुरको सिमानामा पर्ने मनोहरा खोलाको कटानले बस्ती जोखिममा परेपछि प्राकृतिक बहाव परिवर्तन गरिएको छ । कागेश्वरी मनोहरा र चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडाको समन्वयमा शुक्रबार २०२१ सालको नापीअनुसार खोलाको बहाव परिवर्तन गरिएको हो ।

बस्ती बचाउन मनोहरा फर्काइयो

मनोहरा खोला कटानले चाँगुनारायण नगरपालिका–४ का कुइँकेल गाउँ, मगर गाउँलगायतका करिब २ सय घर जोखिममा परेका छन् ।

चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, नगर कार्यपालिका सदस्य सपना तामाङ, वडा सदस्य दिनेश खनाल, स्थानीय बासिन्दा, नगरपालिकाका अमिन शालिकराम तिमिल्सिनाको उपस्थितिमा कुइँकेल गाउँ (फेरा खुसी) बाट जहरे खहरेसम्मको करिब ३ सय मिटर खोलाको बहाव परिवर्तन गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाको सहमति लिई २०७४ साउन २६ मा मनोहरा फर्काउने निर्णय गरिएको थियो । सोही निर्णयबमोजिम खोलाको जग्गा अतिक्रमण गरी अन्नबाली, बंगुरपालन, कुखुरापालन गरिबसेका व्यवसायीलाई खोलाको जग्गा छोड्न पत्राचार गरेको नगर सदस्य खनालले बताए ।

खोलालाई साविक रूप दिई व्यक्ति र सार्वजनिक पर्ति जग्गा छुट्टयाउन सिमांकन गरी अतिक्रमण भएको जग्गामा बनेको संरचना हटाउन पटकपटक पत्राचार तथा सूचना सार्वजनिक गर्दा पनि अटेर गरेकाले स्काइभेटरको प्रयोग गरी खोला फर्काएको जनाएको छ ।

मनोहरा खोलाले ५ वर्षदेखि बस्ती कटान गर्दै आएको छ । खोला कटानले करिब ३ सय घर प्रभावित भएको स्थानीय भोला कुइँकेलले बताउँछन् । खोला फर्काएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बुधबार रातिको वर्षाले कुइँकेल गाउँ, मगर गाउँमा करिब २० मिटर कटान गरेको उनले बताए । खोला फर्काउने कार्य सकिएसँगै प्रस्तावित मनोहरा करिडोर निर्माण गरी सार्वजनिक तथा निजी जग्गा छुट्टयाइने नगर सदस्य खनालले जनाए ।

डुबानमा परेका भूकम्पपीडितको बिचल्ली
भक्तपुर नगरपालिका–७ बासिकचाकी पुव्यश्वरी कवांले ओछयान भिजेपछि मात्र टहरा डुबेको पत्तो पाइन् । भूकम्पपछिको करिब ३८ महिना कष्टपूर्ण दिन गुजारिरहेकी कवांको जीवनमा बुधबार रातिको वर्षासँगैको बाढीले थप बिचल्ली पारेको छ । ‘निदाइरहेकी थिएँ, बाढीका कारण ओछयान भिजेपछि ब्युँझिँएँ,’ उनले भनिन्, ‘भूकम्पपछिको चौथो वर्ष हिलोमै बित्यो ।’ सिपाडोल, जगाती र अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक–जगाती सडकको ढल भूकम्पपीडितको अस्थायी शिविरमा पसेपछि डुबानमा परेको उनले बताइन् ।

भूकम्पपछि सोही शिविरमा बसोबास गरिरहेकी ७० वर्षीया आशमाया शिल्पकारको पीडा पनि उस्तै छ । ‘रातभर टहरा जलमग्न भयो, खाद्यान्न, लत्ताकपडा केही निकाल्न पाइएन,’ उनले भनिन्, ‘हिलोमा लतपत्तिएको सामान काम नलाग्ने अवस्थामा पुगेको छ ।’ भूकम्पले घरबाट विस्थापित गरेको पीडितलाई बाढीले टहराबाटै हटाउन लागेको उनले बताइन् । ‘कतिपय सामग्री बाढीसँगै बग्यो,’ उनले दुखेसो पोखिन् । बासिकचामा जग्गा भाडामा लिएर करिब ३० भूकम्पपीडित अस्थायी टहरा निर्माण गरी बसोबास गरिरहेका छन् ।

बासिकचामा जस्तै मंगलाछें, लिवालीलगायत क्षेत्रमा अवस्थित शिविरमा बसोबास गर्ने भूकम्पपीडित डुबानका कारण थप बिचल्लीमा परेका छन् । लगातारको वर्षासँगै सूर्यविनायक नगरपालिका–८ सिपाडोल क्षेत्रबाट आएको बाढीले बासिकचा क्षेत्र डुबानमा पर्‍यो भने हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि बालकोट, सिरुटार कौशलटार, गठ्ठाघर, सागबारी, नयाँ ठिमी, शंखधर चोक, एसएस चोक, ब्राइटर, कमेरोटार, राधेराधे, सृजनानगर, सल्लाघारी, निकोसेरा, दुवाकोट, जगाती, लिवाली क्षेत्रका सयौं घर, भूकम्पपीडितको टहरा, अस्पताल, विद्यालय डुबानमा परे ।

स्थानीयका अनुसार २०५२ पछि २०७२ र बुधबार भक्तपुरको चारवटै नगरपालिकामा क्षति पुग्ने गरी हनुमन्ते खोलामा बाढी आयो । हनुमन्तेमा आएको बाढी बस्ती पसेपछि करिब ५ सयभन्दा बढी आंशिक विस्थापित हुन पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांक छ ।

बढ्दो सहरीकरण, अव्यवस्थित आवास तथा जग्गा अतिक्रमणका कारण खोला साँघुरिँदै गएकाले डुबान हुने गरेको हो । वर्षासँगै आउने विपद् व्यवस्थापनका लागि स्थानीय तहका जनप्रतिनिधिले विपद् तथा जोखिम व्यवस्थापन योजना बनाई कार्य गर्नुपर्ने त्रिचन्द्र/ख्वप: कलेजका वातावरण विज्ञानका उपप्राध्यापक कमलराज गोसाईंले बताए ।

प्रकाशित : असार ३०, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?