१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

टहरामाथि नै पहिरो

भूकम्पपीडित सधैं त्रासको बास
अनिश तिवारी

सिन्धुपाल्चोक — बल्लतल्ल बनाएको टहरा पहिरोले पुरेपछि त्रिपुरासुन्दरी गाउँपालिका घोर्थली गैह्राबारीका कसाइ गुरुङ अब कहाँ जाने भन्ने अन्योलमा छन् । ऋण गरेर हालेको टहरासहित भएको भूभाग भास्सिएपछि गुरुङका सबै खुसी खोसिएको छ ।

टहरामाथि नै पहिरो

‘खै अब कहाँ जाने हो, आफ्नो बस्ने ठाउँ नै पहिरोले पुर्‍यो,’ उनले भन्छन्, ‘छिमेकीको जग्गामा आश्रय लिएर कतिन्जेल बाँचिएला र ?’ साता दिनदेखि अलिअलि गरेर भास्सिरहेको पहिरो बुधबार बेलुकीको वर्षाले त पूरै बगायो । अब उनीलगायत १२ परिवार बासकै समस्या परेका छन् । ‘ऋण खोजेर घर बनाउने सोच्दै थिएँ,’ उनले भने, ‘घर त काँ बन्नु, बस्ने टहरा नै बगायो ।’ पिस्करको थामीटोल, मूलाटोल, खडकाटोललगायतका बस्ती पहिरोको अति जोखिममा परेका छन् । गैह्रीबारीका बाँकी ८ परिवार पनि डरैडरमा रात बिताइरहेका छन् ।

आफ्नो बस्ती नै पहिरोको जोखिममा परेपछि सुनकोसी गाउँपालिका कालिकागाउँका ३० र थुम्पाखरका १७ परिवारको बिजोग भएको सुनकोसी गाउँपालिका उपप्रमुख लक्ष्मी पौडेलले बताइन् । ‘यहाँका अधिकांश भूकम्पपीडितले टहरै ढालेको छ,’ उनले भनिन्, ‘कतिपयका बगेका छन्, बस्तीपिच्छै भास्सिएर पहिरो जान थालेको छ ।’ केही भूकम्पपीडित सुरक्षित स्थान खोजेर गए पनि अन्यत्र जाने ठाउँ नभएका धेरै पहिरो पन्छाएर बसेका छन् ।

जिल्लाको दुर्गम भेगदेखि सीमावर्ती क्षेत्रसम्मका सडक, पुलदेखि बस्ती पहिरोले धरापमा पार्दै लगेको प्रहरीले जनाएको छ । वर्षाले गर्दा भूभाग भासिँदा मेलम्ची नगरपालिका ४ खनालथोकका १२ घर उच्च जोखिममा छन् । बस्तीको तलमाथि नै सडक खनिएकाले पहिरो लागेको कारणले त्यहाँको पूरै गाउँ जोखिममा परेको छ । जुगल गाउँपालिकाको बराम्चीस्थत चनौटेमा निर्माणाधीन विद्यालय र बस्तीमा खसेको पहिरोले स्थानीय त्रासमै बसिरहेका छन् ।

चिनियाँ कम्पनीले बनाइरहेको रत्नराज्य मावि भवन माथिको ढिस्को पानीसँगै बग्न थालेपछि त्रास फैलिएको बराम्चीका वडाध्यक्ष सनत अधिकारी बताए । ‘बुधबारदेखि झनै पहिरो बढदै गएको छ,’ उनले भने, ‘यस्तै हो भने बस्ती तसनहस बनाउनेछ र ठूलो क्षति हुने सम्भावना देखिन्छ ।’

पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म पहिरोले तहसनहस बनाएपछि यस क्षेत्रमा त्रासमय वातावरण बनेको छ । सडक, पुलदेखि विभिन्न भौतिक संरचनाका साथै सयाैं बस्ती पहिरोको उच्च जोखिममा छन् । ‘वर्षातका कारण जिल्लाभर पहिरो खसेको देखिन्छ, यति घर जोखिममा छन् भनेर यकिन गर्नै सकिने अवस्था छैन,’ जिल्ला प्रहरी प्रमुख विमलराज कर्णेलले भने, ‘पहिरोले क्षतिग्रस्त स्थानमा उद्धार गर्न प्रहरी पुगिसकेको छ ।’ पहिरोको जोखिम भएका अधिकांश स्थानबाट सुरक्षित क्षेत्रमा सरिसकेको र त्यही बसेकालाई सावधानी अपनाउन सुझाएको उनले सुनाए ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?