सांकेतिक भाषा सिक्न राजधानी

गणेश राई

काठमाडौँ — गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा सांकेतिक भाषा सिक्दै फरक क्षमता भएका प्रशिक्षार्थी (माथि) र सांकेतिक भाषा सिकाउँदै प्रशिक्षक । तस्बिर : कविन अधिकारी

रिसाल स्वयं बहिरा हुन् तर प्रशिक्षार्थीमध्ये धेरैजना साङ्ग थिए । वनस्थलीकी सीता पौड्याल सात वर्षीया छोरी कान नसुन्ने भएकाले उनीसँग कुराकानी गर्न सांकेतिक भाषा सिकेको बताउँछिन् । ‘नानीसित कुराकानी गर्ने र उसको समस्या बुझेर अघि बढाउन सांकेतिक भाषा सिक्दै छु,’ उनले भनिन् ।

भोटेबहालकी १९ वर्षीया दृष्टि सिंहले बुबा (देवेन्द्रमान सिंह) बहिरा भएकाले सांकेतिक भाषा सिकेको बताउँछिन् । ‘मैले सांकेतिक भाषा सिक्नु बुबालाई सहयोग गर्नु हो,’ भर्खरै कक्षा १२ उत्तीर्ण गरी बीबीए पढ्ने तयारीमा रहेकी उनले भनिन्, ‘मेरी ठूली आमाले बहिरा महिला सिर्जनशील संस्था सञ्चालन गर्नुभएकाले त्यहाँ दोभाषेको काम पनि गर्छु ।’

बालुवाटारकी शान्ति महर्जन दाजु र भाउजूसँग सहज रूपमा कुराकानी गर्न सांकेतिक भाषा सिकेको सुनाउँछिन् । ‘हामीले बहिरा होस्टल चलाएका छौं, त्यहाँ पनि सहयोग गर्दै आएको छु,’ उनले भनिन् । रसुवाका रेशम लामा भर्खरै राजधानी झरेर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएका छन् । उनी कान कम सुन्छन् । रुकुमको मुसिकोट नगरपालिका–१० स्थित प्रभात मावि, दोपाइका शिक्षक खडगबहादुर विक बर्खे बिदामा सांकेतिक भाषा सिक्न राजधानी आइपुगेका छन् । उनी कान कम सुन्छन् ।

चार वर्षदेखि निजी स्रोतबाट पढाउँदै आएका उनले सांकेतिक भाषा नजान्दा समस्या परेको बताए । ‘अरूलाई पनि सांकेतिक भाषा सिकाउने लक्ष्यसहित सिक्न आएको हुँ,’ उनले भने । पर्वतबाट आएकी लक्ष्मी शर्मा पनि कान सुन्दिनन् । उनी भर्खरै नक्सालस्थित बहिरा माविमा कक्षा ११ मा भर्ना भएकी छन् । भाषा प्रभावकारी बनाउन प्रशिक्षणमा सहभागी भएको उनी बताउँछिन् ।

सिन्धुपाल्चोककी तुलसी बजगाईं कक्षा १२ की छात्रा हुन् । सांकेतिक भाषा जानेपछि आफ्नै ठाउँमा फर्केर अरूलाई प्रशिक्षण दिने उनको योजना छ । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाका अध्यक्ष दीपेन्द्र रुम्दाली राईले भर्खरै सांकेतिक भाषा प्रशिक्षणको ६ महिने कोर्स पूरा गरेका छन् । ‘सहर बजारका बहिराले दोस्रो श्रेणीको नीलो अपांगता परिचयपत्र पाउँछन्,×’ बहिरा व्यक्तिको समस्या उठान गर्न सांकेतिक भाषा जान्नैपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘परिचयपत्रका आधारमा मासिक ६ सय रुपैयाँ सुविधा पनि लिन्छन् । तर गाउँघरमा बहिराले पाउने सुविधाबारे कुनै जानकारी छैन । उनीहरूकै हक–अधिकारको विषय उठान गर्न सांकेतिक भाषा सिकेको हुँ ।’

Yamaha

२०४५ सालमा स्थापित संघ देशकै एक मात्र नियमित सांकेतिक भाषा प्रशिक्षण दिने संस्था हो । संघले ६/६ महिनाको सांकेतिक भाषा प्रशिक्षण दिने गरेको अध्यक्ष सत्यदेवी वाग्लेले बताइन् । पढ्नका निम्ति साङ्गले ६ महिनाको ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । बहिरा प्रशिक्षार्थीले भने ६ महिनाको एकमुष्ट ३ हजार तिर्नुपर्छ, नसक्नेले नि:शुल्क प्रशिक्षण लिन्छन् ।

‘बजेट अक्षरमै सीमित’
सरकारले यस वर्ष बहिरा समुदाय र सांकेतिक भाषालाई पहिलोपटक बजेट वक्तव्यमा सम्बोधन गरेको छ । तर, बजेट भने छुट्याएको छैन । बजेटको ४३ औं बुँदामा छ, ‘नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभाषे तालिम र यसको व्यावसायिक विकासलाई प्रोत्साहित गरिनेछ ।’ राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारी आयोगको सिफारिसलाई लिएर बजेटमा सम्बोधन गरिए पनि रकम विनियोजन नगरिएको बताउँछन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पीडित महिलाका लागि ओसीएमसी

प्रताप विष्ट

हेटाैंडा — विगत ७ वर्षदेखि हेटाैंडा अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) पीडित महिलाहरूका निम्ति साहरा बनेको छ ।

यौनजन्य र घरेलु हिंसामा परेका महिलालाई औषधि उपचार, कानुनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता नाघिसकेको अवस्था थियो । ओसीएमसीको पहलमा हेटौंडा अस्पतालका चिकित्सकले उनको अनिच्छामा भएको गर्भ फालिदिएका थिए ।

ओसीएमसीको पहलमा किशोरीलाई बलात्कार गर्ने पुरुषलाई प्रहरीमार्फत पक्राउ गराएर कानुनी कारबाही पनि गरिएको थियो । किशोरीलाई ३ दिन ओसीएमसीमै राखेर उपचारपछि पठाएको थियो । यसैगरी ११ वर्षीया बलात्कृत बालिकालाई ओसीएमसीमा नै ७ दिन राखेर उपचार गर्नुको साथै मनोपरामर्श दिइएको थियो । बसामाडीकी २८ वर्षीया महिला पति र सासूबाट निर्घातसँग कुटिएर उपचारका निम्ति अस्पताल ल्याइएको थियो ।

चिकित्सकहरूले ओसीएमसी प्रमुख बालकुमारी ढकाललाई खबर गरिदिए । उनले ओसीएमसीमा ल्याएर ती महिलाको उपचार गरिन् । महिला प्रहरी सेलमा खबर गरी निर्घात कुटपिट गर्ने पति र सासूलाई प्रहरी कार्यालयमा झिकाउने काम गरिन् ।

‘पीडित महिलाहरूका लागि ओसीएमसी भरपर्दो साहरा बनेको छ,’ प्रहरी महिला सेलकी प्रमुख दीपा कार्कीले भनिन्, ‘यौनजन्य र घरेलु हिंसामा परेकाहरूले औषधि र कानुनी उपचार पाउँदै आएका छन् ।’ हेटौंडा अस्पतालको परिसरमा सञ्चालित संकट व्यवस्थापन एकद्वार प्रणालीले सञ्चालन गरेका सेवाहरू मुलुकभरमै उत्कृष्ट भएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू यहाँ अवलोकन गर्न आउने गरेका छन् । गत आवमा भरतपुर, सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीको टिम अवोलकनका लागि यहाँ आएका थिए ।

२०६८ मा हेटाैंडा अस्पतालसहित मुलुकमा ५ अस्पतालमा ओसीएमसी सेवा सञ्चालन गरिएको थियो । ‘यहाँको सेवा प्रभावकारी भएकाले अन्य अस्पतालका स्वास्थ्यकर्मीहरू यहाँ अवलोकन गर्न आउने गरेका छन्,’ डा. कमल दवाडीले भने, ‘विभाग र मन्त्रालयले पनि हेटाैंडाकै ओसीएमसीलाई अवलोकनका लागि सिफारिस गर्ने गरेको छ ।’ स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएका थिए भने आवमा ०७३/७४ मा ३ सय २१ पीडित महिलाले सेवा लिएका थिए ।

गत आवमा ४ सय ११ पीडितले ओसीएमसीबाट सेवा लिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरमा गत आवमा घरेलु हिंसाका घटना ४ सय ६ वटा भएका थिए । लैंगिक हिंसाका ५२ घटना भएका थिए ।

‘चालू आवको १५ दिन ५ महिलाले सेवा लिइसकेका छन्,’ ओसीएमसीकी प्रमुख ढकालले भनिन्, ‘पीडित महिलाहरूले यसलाई आफ्नो सुरक्षित माइती घर ठान्ने गरेका छन् ।’ उक्त संस्थामा २ स्वास्थ्यकर्मी मात्र छन् । सरकारले ओसीएमसीलाई गत आवमा १२ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT