कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडीमा थपिँदै होमस्टे

रमेशकुमार पौडेल

चितवन — निकुञ्ज सीमा जोडिएको माडी नगरपालिकामा होमस्टे थपिने क्रम बढेको छ । आन्तरिक एवं बाहय पर्यटकको आगमन बढेसँगै होमस्टे पनि बढ्न थालेको हो । यसका लागि माडी नगरपालिकाले स्थानीयलाई सहयोग गर्ने भएको छ ।

माडीमा थपिँदै होमस्टे

माडी ८, शिवद्वारामा ०७२ पुस १२ देखि होमस्टे सुरु भएको हो । त्यहाँ पुन मगर समुदायले सञ्चालन गरेका ११ होमस्टे छन् । ‘माडी टाढा पर्छ । जंगली जनावर तथा वर्षामा खोलाले दु:ख दिने ठाउँ हो । होमस्टे त बनायौं यो ठाउँमा बस्न को आउँला र भन्ने डर थियो,’ होमस्टे सञ्चालक समिति अध्यक्ष मनबहादुर पुन मगरले भने । सदरमुकाम भरतपुरबाट ५० किमि टाढा पर्छ माडी ।

होमस्टे सञ्चालन भएयता आउने पाहुना साढे ८ हजार नाघेको उनले सुनाए । फागुन, चैतमा होमस्टे खचाखच हुन्छ । कुनै दिन ठाउँ नभएर बस्न आएकालाई फर्काउनुपर्ने हुन्छ । शिवद्वाराको होमस्टेले पाएको यो सफलताले गर्दा माडी नगरपालिकाले यो वर्ष २० होमस्टे बनाउन सहयोग गर्ने मेयर ठाकुर ढकालले बताए । वडा १ को वनकट्टा र वडा ३ को बघौडामा १०/१० होमस्टे बन्नेछन् ।

वनकट्टामा बोटो र बघौडामा थारू समुदायको बसोबास छ । ‘यी दुई ठाउँमा सामुदायिक भवन बनाउन नगरपालिकाले सहयोग गर्नेछ । आएका पाहुनालाई सांस्कृतिक कार्यक्रम देखाइनेछ,’ मेयर ढकालले भने, ‘होमस्टे घरधनीले आफ्नै खर्चमा तयार गर्ने छन् । तर रकम आवश्यक परे नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । बनेका घरमा आवश्यक सबै समान कुर्सी, पलङ, बिछयौना नगरपालिकाले दिने उनले बताए । ‘समितिहरू बनेका छन् । आउँदो वैशाखसम्म होमस्टे सञ्चालनमा आउनेछन्,’ उनले भने ।

शिवद्वारामा पनि होमस्टे थपेर २० पुर्‍याउने योजना रहेको उनले सुनाए । ‘अझै पनि माडी आउने बाटो राम्रो छैन । बाटो राम्रो भए माडीमा जति पनि पाहुना आउँछन् । होमस्टे बने राम्रै हुन्छ । यहाँको पर्यटनमा राम्रो प्रभाव पर्छ,’ शिवद्वारा होमस्टे सञ्चालक समिति अध्यक्ष मनबहादुर पुन मगरले भने । तीनतर्फ निकुञ्ज र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको माडी उपत्यका मनोरम छ ।

निकुञ्ज घुम्न देश–विदेशबाट बर्सेनि २ लाखको हाराहारीमा पर्यटक आउने गर्छन् । अधिकांश पर्यटक बास बस्न सौराहा पुग्छन् । पछिल्लो समय सौराहाभन्दा बाहेक क्षेत्रमा पनि पर्यटकीय होटल धमाधम बन्दै छन् । तर माडीमा सामान्य होटल पनि खुलेका छैनन् । होमस्ेटमार्फत पर्यटकलाई माडी चिनाउने र ठूला पर्यटकीय पूर्वाधारमा पनि जोड दिने योजना रहेको नगरप्रमुख ढकालले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?