कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजा विस्थापनमा ग्राभिटी रोपवे

ढुवानी गर्न भ्याईनभ्याई
प्रताप विष्ट

कैलाश (मकवानपुर) — जिल्लाको दुर्गम गाउँमा ग्राभिटी रोपवे सञ्चालनमा आएसँगै गाँजा खेती करिब करिब विस्थापित भएको छ । अर्को विकल्प नभएका किसान जीविकोपार्जनकै लागि गाजा खेती गर्थे ।

गाँजा विस्थापनमा ग्राभिटी रोपवे

जब आफ्नो उत्पादनले बजार पाउने भयो, स्थानीयले लागू पदार्थ गाँजा खेतीलाई चटक्कै छाडे । अहिले उनीहरूको पाखा र खेतमा तरकारी लाग्न थालेका छन् । स्थानीय भन्छन्, ‘इज्जतको खेती गर्न पाइन्छ भने बद्नामी काम किन गर्ने ।’

अमेरिकी सरकारको सहयोगमा नेपालमा पहिलोपटक निर्माण गरिएको रोपवे (रज्जुमार्ग) लामो समयदेखि बन्द छ । तर मकवानपुरको दुर्गम क्षेत्रमा अहिले भने गुरुत्व बलबाट चल्ने ग्राभिटी रोपवेलाई सामान ओसार्न भ्याईनभ्याई भएको छ । रोपवे निर्माणपछि गाउँबाट गाँजाखेती पूर्णरूपमा विस्थापित भयो । यसको निर्माणले दुर्गम गाउँवासीलाई मालसामान ढुवानी गर्न निकै सहज भएको छ ।

स्थानीय कैलाश गाउँपालिका ९ साविकको नामटार गाविसमा ४ वर्षअघि ग्राभिटी रोपवे निर्माण गरिएको हो । ०७१ असोज १ देखि यो सञ्चालनमा ल्याइएको थियो । नामटारको कपचेरी र घैराङ डाँडाबीचमा रोपवे निर्माण गरिएको छ ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा १ हजार २ सय १४ मिटर लम्बाइको रोपवे बनाइएको थियो । घैराङडाँडामा उत्पादन हुने तरकारीलगायत कृषिजन्य वस्तु सहजै नामटार बजारसम्म ओसार्न रोपवे बनाइएको हो । घैराङमा उत्पादित वस्तुहरू नामटार झारिएपछि हेटौंडा, वीरगन्ज, काठमाडौंलगायत बजार पुर्‍याउन सहज भएको छ ।

त्रिभुवन राजपथसँग नामटार जोडिएको छ । स्थानीय चुनियाबाट नामटार बजार ६ किलोमिटरमात्र छ । चुनिया–नामटार सवारी आवतजावत गर्छन् । रोपवेको कारणले घैराङवासीका कृषिजन्य उत्पादन बजारमा ल्याउन र उपभोग्य सामान एवं निर्माण सामग्री गाउँ लैजान सहज भएको छ । ‘रोपवेले गर्दा मालसामान लैजान र ल्याउन धेरै सजिलो भयो,’ स्थानीय लालबहादुर थिङले भने, ‘रोपवेका कारणले गाउँले तरकारी खेतीमै व्यस्त छन् ।’

रोपवे बन्नुअघि घैराङडाँडा गाँजाखेतीका लागि नाम चलेको थियो । गाजाका कारण बदनामी कमाएको गाउँमा तरकारी खेतीले नाम चम्काएको छ । तरकारीबार्ट घैराङवासीले वार्षिक डेढ करोड रुपैयाँ गाउँ भित्र्याउँछन् । खसीबोका पालन पनि यहाँको अर्को आम्दानीको स्रोत बनेको वडाध्यक्ष सुमन लटौलाले बताए । खसीबोका पनि रोपवेमै राखेर बजार पुर्‍याइन्छ । बिहानदेखि बेलुकासम्म रोपवेलाई मालसामान ढुवानी भ्याईनभ्याई छ ।

स्थानीय उपभोक्ताको ४ लाख रुपैयाँसहित २५ लाख लगानीमा रोपवे बनेको हो । रोपवेमा २ वटा भारी बोक्ने क्यारी छ । घैराङडाँडाबाट नामटार कपचेरी स्टेसन झर्दा एक क्विन्टल ढुवानी गर्छ । उक्त परिमाण नामटार पुर्‍याउन मात्र १ मिनेट ५५ सेकेन्ड लाग्छ । माथि भने ३० केजी मात्र ढुवानी गर्छ । ‘घैराङडाँडादेखि नामटार बोकेर ल्याउँदा २ घन्टा लाग्थ्यो,’ उपभोक्ता समिति सचिव सीताराम रुम्बाले भने, ‘रोपवेमा २ मिनेट पनि लाग्दैन ।’ रोपवेका २ वटा क्यारी कहिल्यै खाली नहुने रुम्बाले बताए । रोपवेमा मालसामान ढुवानी गर्न स्थानीय लाइन लागेर बस्छन् ।’

रोपवे प्रयोग गरेबापत् प्रतिकेजी २ रुपैयाँ भाडा तिर्नुपर्छ । ठूलो खसीबोका लग्दा ६० र सानोको ५० रुपैयाँ भाडा लाग्छ । यसको सञ्चालनका लागि २ जना स्थानीय प्राविधिक राखिएको छ । उपभोक्ता समितिले रोपवे सञ्चालन गर्न ठेक्कामा दिने गरेको छ । गत आवमा २ लाख १० हजार रुपैयाँमा ठेक्का उठेको थियो । चालू वर्षमा भने ४ लाख १० हजारमा ठेक्का दिएको समितिले जनायो ।

ग्रामिटी रोपवे घैराङडाँडाकै बस्तीलाई लक्षित गरी बनाइएको हो । यहाँ १०५ परिवार बसोबास गर्छन् । तामाङ समुदायको बसोबास रहेको उक्त बस्ती तरकारीका लागि ऊर्वरभूमि मानिएको छ । गुरुत्वाकर्षण शक्तिबाट सञ्चालित उक्त रोपवेले माथिबाट तल आउँदा जति केजी सामान ल्यायो सोही समयमा तलबाट माथि जाने क्यारीले एक तिहाइ मात्र ढुवानी गर्न सक्छ । यो सञ्चालनका लागि विद्युत् र इन्धन केही पनि चाहिँदैन । उक्त रोपवे मकवानपुरको पहिलो भए पनि यो धादिङ र गोरखामा पनि सञ्चालित छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?