कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] बाह्रबिसेमा थामिएन पहिरो, सुरक्षित ठाउँको खोजीमा स्थानीय भागभाग

बस्ती नै जाेखिममा
अनिश तिवारी

सिन्धुपाल्चोक — सोमबार रातिको अविरल वर्षाले गर्दा गएको पहिरो नरोकिँदा बाह्रबिसे नगरपालिका ४ को भिरकुना र ३ को कोसिनडाँडाको बस्ती नै जोखिममा परेको छ । बिहानदेखि सुरु भएको वर्षात् अझै नरोकिँदा यहाँका ३० परिवार सुरक्षित स्थान खोज्दै तल्लोगाउँ झरिरहेको स्थानीय मेखबहादुर श्रेष्ठले बताए ।

[अपडेट] बाह्रबिसेमा थामिएन पहिरो, सुरक्षित ठाउँको खोजीमा स्थानीय भागभाग

‘अहिले विस्थापित भएका ११ परिवार भागेर तलको गाउँ छिमेकीको घरमा शरण लिन गएका छन्, अरुको समेत भागभाग भएको छ,’श्रेष्ठले फोनमा भने ।


उनले प्रहरीलाई खबर गर्न प्रयासरत रहेको सुनाए । 'सुरुआतमा पहिरो थामिएको जस्तो लागेको थियो, पानी पर्न नरोकिएपछि रातमा ठूलो बन्दै गएको छ' उनको कथन छ । रातमा केही नदेखिने र पहिरो खसेको आवाज ठूलो आइरहेकाले सबैमा त्रास छाइरहेको उनले जनाए । ‘पहिरोको डरले सबैको सातो गएको छ, रात परेकाले केही पत्ता लगाउन सकेका छैनौं, जे पनि भएको हुन सक्छ,’उनले भने । बिजुली नभएकाले अन्धकारमा छामछुम गरेर मोबाइल बालेर भाग्नु परेको उनले बताए ।

उनका अनुसार कोसिनडाँडाबाट खस्न सुरु भएको पहिरोले तल्लो बस्ती भिरकुनाको टोलटोलको गाउँलाई धरापमा पार्दै लगेको छ ।


सुरक्षार्थ प्रहरी खटाउन लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले बताए । ‘दिउँसो पुग्दा खासै मानवीय क्षति हुन पाएको थिएन्, अब रातमा केही समस्या हुन सक्छ, बुझेर खटाइनेछ,’उनले भने ।


ग्रामीण भेगका बाह्रबिसे नगरको गाती सिर्गार्चे, मार्मिङको तामाङ टोलदेखि घुम्थाङ, कर्थली हुँदै पलाती, भिरकुनाका बस्तीमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । ‘माथि कुरा गरेर प्रहरीलाई उद्धारार्थ पठाउने तयारी थालिसकेका छौं,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने ।


...............

सोमबार रातीको अविरल वर्षाले बाह्रबिसे नगरपालिका–४ भिरकुना र ३ कोसिनडाँडामा पहिरो खस्दा ५ परिवार विस्थापित भएका छन् ।


कोसिनडाँडाबाट खस्न सुरु भएको पहिरोले तल्लो बस्ती भिरकुनाको गाँउ जोखिममा पर्दै गएको प्रहरीले जनाएको छ । ‘दिनहुँको वर्षाले खसेको पहिरोसँगै बस्ती बग्न थालेको छ,’ भिरकुनाका मेखबहादुर श्रेष्ठले भने, ‘बस्तीका ३० परिवारको घर उच्च जोखिममा परेको छ ।’ विस्थापित भएका परिवार छिमेकमा आफन्तको आश्रयमा बसे पनि बस्ती नै जोखिममा परेपछि स्थानीय आत्तिन थालेका छन् ।

बाह्रबिसे नगरको गाती सिर्गार्चे, मार्मिङको तामाङ टोलदेखि घुम्थाङ, कर्थली हुँदै पलाती, भिरकुनाका बस्तीमा पहिरोले असर गरेको छ । ‘प्रहरीलाई उद्धारार्थ पठाउने तयारी थालिसकेका छौ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?