कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजा लगाए सुविधा नपाइने

हेटौंडा — मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवासुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

गाँजा लगाए सुविधा नपाइने

‘गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवासुविधा उपलब्ध गराउने छैन,’ कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, ‘गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्णरूपमा विस्थापित गर्न यस्तो निर्णय गरेका हौं ।’

जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिले बिहीबार हेटौंडामा आयोजना गरेको ‘गाँजा, अफिम खेती उत्पादन र ओसारपसार’ विषयक अन्तरक्रियामा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँबाट गाँजा र अफिम खेती विस्थापित गरिने बताए । ‘यस्तो खेती गर्नेलाई गाउँपालिकाले कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने नीति बनाइरहेका छांै,’ उनले भने । पश्चिमी क्षेत्रका यी दुई गाउँपालिकामा गाँजा र अफिम उत्पादन अत्यधिक हुन्छ ।

जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको अध्यक्षता सञ्चालित कार्यक्रममा कैलाश र राक्सिराङ गाउँपालिका अध्यक्षद्वय मोक्तान र मल्लले यस्तो खेती विस्थापित गर्न प्रदेश र संघीय सरकारले पनि बजेट विनियोजन गर्नुपर्ने माग गरे ।

गाउँपालिका, वडा कार्यालय र प्रहरी प्रशासनको दबाबले मात्र पूर्णरूपमा खेती विस्थापित गर्न नसकिने र गाउँ/गाउँमा मोटरबाटो पुर्‍याउन प्रदेश र संघीय सरकारले बजेट छुट्टयाउनुपर्ने उनीहरूको माग छ । ‘मोटरबाटो पुगेपछि गाउँमा उत्पादित कृषिजन्य वस्तुहरूले बजार पाउँछन् । त्यसपछि गाँजा खेती स्वत: विस्थापित हुन्छ,’ राक्सिराङका अध्यक्ष मल्लले भने, ‘विगतका वर्षहरूभन्दा अहिले गाँजा खेती घटेको छ ।’

यी दुई गाउँपालिकाका दुर्गम क्षेत्रमा मकैबारीभित्र गाँजाको ब्याड राख्ने गरिन्छ । राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहभागी उक्त कार्यक्रममा मनहरीका अध्यक्ष एकराज उप्रेतीले आफ्नो गाउँपालिका गाँजा भारत निर्यात गर्ने नाकाको रूपमा प्रयोग हुँदै आएको बताए ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?