कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२६ घर बगे

कृष्ण थापा

नुवाकोट — जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले २६ घर बगाएको छ । दुई जना घाइते भएका छन् । केही पशुचौपायासमेत मरेका छन् । बेलकोटगढी नगरपालिका ११, अमारे खोलामा आएको बाढीले घाइते हुनेमा रामराजा तामाङ र पत्नी शुभलक्ष्मी छन् ।

२६ घर बगे

उनीहरूको घर र पसलभित्र रहेको लत्ताकपडा तथा अन्नपात बाढीले बगाएको छ । करिब ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जनाए । यसैगरी, हरिभक्त तिवारीको २ घर बगाएको छ । घटनास्थल सदरमुकामबाट १७ किमि पूर्वमा पर्छ ।

शिवपुरीगाउँपालिका ७, थानाभञ्ज्याङमा ३ घर पहिरोले पुरेको छ । मनोज तामाङ, चन्द्रबहादुर तामाङ र डिलबहादुर तामाङको घर पुरेको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले बताए । साथै पहिरोमा मनोजको ३ बाख्रा र ७ मुरी मकै पुरेको छ । डिलबहादुरको लत्ताकपडा, अन्नपातसहित करिब ६ लाख बराबरको क्षति भएको छ । यस्तै विदुर नगरपालिका २, पाटीपानीमा अर्जुन कसाईको जस्ताले छाएको टहरो पहिरोले पुरेको छ । लत्ताकपडा तथा अन्नपात गरी ६० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तादी गाउँपालिका ६, आलडाँडामा ३ घर पहिरो बगाएको छ । डोरबहादुर, सिंहबहादुर र दलबहादुर तामाङको घर पहिरोले बगाएको हो । पहिरोमा अन्नपात र भाँडाकुँडा पनि पुरिएको गाउँपालिका प्रमुख नारायणप्रसाद पाण्डे बताए । पाण्डेका अनुसार उनीहरूको १ हल गोरु, ४ गाई र २६ बाख्रासहित ३० रोपनी खेतबारी पहिरोमा पुरिएको छ ।

त्यसैगरी, पञ्चकन्या गाउँपालिका ४, थप्रेकमा ७ घर र वडा ५ भेडाबारीमा ३ घर गरी १० घर पहिरोमा परेका छन् । यसैगरी किस्पाङ, ३ मा रहेको सलाउ खोलाले ओमबहादुर तामाङ र धनबहादुर तामाङको घर र गोठ पनि पहिरोले बगाएको छ ।

पासाङ ल्हामु मार्ग अवरुद्ध
पहिरोले राजधानी आवतजावत गर्ने पासाङ ल्हामु मार्गमा अवरोध पुर्‍याएको छ । भैसे र देवीघाटमा पहिरो गएसँगै सवारीसाधन सञ्चालन हुन सकेको छैन । शुक्रबार रातिको वर्षाले देवीघाटमाथिबाट पहिरो झरेपछि गल्छी–देवीघाट सडक अवरुद्ध भएको हो । विदुर नगरपालिका १०, तिरतिरमा पहिरो गएपछि त्रिशूली–बेत्रावती खण्डको बान्द्रे र तिरतिरेमा बाटो अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै सर्वसाधारणलाई गन्तव्य पुग्न पैदल हिँडनुपर्ने बाध्यता छ । पहिरो खुलाउने काम भइरहेको गल्छी–मैलुङ सडक आयोजनाले जनाएको छ ।रसुवागढी नाकाबाट सामान बोकेर आएका कन्टेनर र यात्रु बोकेका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

रसुवागढी जाने यो एकमात्र सडक हो । त्यसैगरी गल्छी–देवीघाट खण्डको देवीघाटमा सडकमाथिबाट झरेको पहिरो पन्छाउने काम पनि भइरहेको छ । गल्छी–मैलुङ सडक निर्माणका क्रममा ठाउँठाउँमा भीर र माटो काटेर समयमा पर्खाल नलगाउँदा पहिरोको जोखिम बढेको भैंसेका दीपेन्द्र रिजालले बताए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?