कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी पर्नासाथ सबै जाग्राम

जुनसुकै बेला पहिरो झर्ने खतरा
राजकुमार कार्की

सिन्धुली — आकाशमा कालो बादल मडारिनासाथ आँधीसारा बासिन्दाको होस गुम्छ । मुसलधरे पानी पर्‍यो भने उनीहरू कहिल्यै सुत्दैनन् । सबैमा त्रास हुन्छ, कतै सलल बगाउने त होइन ?गोलन्जोर गाउँपालिका भीमेश्वर आँधीसारामा पहिरोका कारण दर्जनौं घर जोखिममा छन् ।

पानी पर्नासाथ सबै जाग्राम

भूकम्पपछि गएको पहिरोले ७ घर सार्की परिवार त्यतिखेर विस्तापित भए । बाँकी रहेकामा पनि पहिरो एकातिरबाट झरेको छ, अर्कोतर्फ भूकम्पले पूरै धाँजा फाटेको छ, स्थानीय सृजना थापाले भनिन्, ‘अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प छैन ।’

थातथलोलाई एकै पटक छोडेर हिँडिहाल्ने अवस्था नभएको उनी बताउँछिन् । ‘जुनसुकै बेला पहिरो झर्ने खतरा गाउँमा छ,’ उनले भनिन् । भीमेश्वरकै बाराडाँडामा भूकम्पले धाँजा फाटेकाले ३० घर जोखिममा छन् । वडाका प्राविधिक गुणराज चौलागार्इंका अनुसार ठूलो पानी परेमा पहिरो झरेर बारा गाउँ नै बगाउने खतरा छ । सरकारले जोखिम भएका स्थानमा विशेषज्ञ खटाई स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाइदिनुपर्ने उनको तर्क छ ।

०७२ को विनाशकारी भूकम्पपछि कमलामाई नगरपालिका ३, जलकन्याका सबै स्थान पहिरोको जोखिममा छन् । ०४१ सालमा सिस्नेखोलाको शिरमा ठूलो पहिरो गएको र त्यही पुन: बग्ने खतरा रहेको गाविस पूर्व अध्यक्ष राजन अधिकारीले बताए । ‘सिस्नेभीर भूकम्पले छियाछिया परोको छ,’ उनले भने, ‘वर्षातमा त्यो बगे सिंगै वडा बग्ने खतरा हुन्छ ।’ भूकम्पले धेरै स्थानमा धाँजा फाटेकाले बग्ने खतरा प्रबल भएको उनले सुनाए । चार सयभन्दा बढी परिवार पहिरोको जोखिममा रहेका छन् ।

महाभारत उत्तरतर्फका दर्जनभन्दा बढी वडा पहिरोको जोखिममा छन् । सुनकोसी गाउँपालिकाको मझुवा, पुरानो झाँगाझोली, कुशेश्वर–दुम्जा, घ्याङलेक गाउँपालिकाको नेत्रकाली, बस्तीपुर, तामाजोर, हरिहरपुरगढी गाउँपालिकाको हरिहरपुरगढी, गोलन्जोरको बासेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ, फिक्कलको खाङसाङ, रत्नावती, पोखरी, मरिणको कपिलाकोटलगायतका वडा पहिरोको जोखिममा छन् । कपिलाकोट कात्तिके खलंगामा झन्डै एक किलोमिटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाजा फाटेकाले पूरै बस्ती नै बग्ने हो कि भन्नेमा त्रास छ ।

स्थानीय मानबहादुर सिञ्जालीको घरको बीच भागबाट धाँजा फाटेको छ । घरको बीचबाट नै जमिन चिरिएकाले रातमा निद्रा नपर्ने उनले सुनाए ।

पूरा डाँडो चिरा परेको छ, पानी पर्न थालेपछि के होला, उनले भने, ‘झन् पूर्वतिर पानी परेर पहिरो झरेको सुनेपछि हामी आत्तिएका छौं, बर्खाको बेला आफ्नो थातथलो छोडेर कहाँ जानु, उपाय छैन्, पहिरो जान थाल्यो भने भाग्ने ठाउँसमेत छैन ।’ तत्कालीन संसदीय अनुगमन समितिले समेत जिल्लाको दर्जनभन्दा बढी स्थान जोखिममा रहेको प्रतिवेदन बुझाएको छ । तर ती स्थानमा जाँच गरेर बस्ती सार्ने काम हुन सकेको छैन ।

विशेषज्ञ टोली झिकाएर पहिरोको जोखिममा परेकालाई बेलैमा सार्न नसके ठूलो क्षति बेहोर्नुपर्ने पत्रकार कृष्णहरि घिमिरेको तर्क छ । ढुंग्रेभन्ज्याङ र केवरेको पहिरोको कारण सदरमुकाम सिन्धुलीमाढीसमेत खतरामा छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?