ठडिँदै छ ह्योल्मो एकीकृत बस्ती

बस्तीमा बन्ने प्रत्येक घरको ढोका र झ्यालमा ह्योल्मो संस्कृतिको बुट्टा र कला कँुदेर बनाइएको छ ।
अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — मध्यबर्खाको झमझम पानी सहेर यहाँका स्थानीय ह्योल्मो एकीकृत आवास निर्माण गर्न जुटेका छन् ।पहिरोले जिल्लाभर हाहाकार मच्चाइरहँदा यहाँको एकीकृत बस्ती निर्माण बर्खाले रोकिएको छैन ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको तेम्बाथानमा बन्दै गरेको ५३ ह्योल्मो परिवारको एकीकृत बस्ती । तस्बिर : अनिश

भूकम्पको परकम्पले खसेको पहिरोबाट विस्थापित तेम्बाथानका बासिन्दा संस्कृतिले भरिएको एकीकृत बस्ती निर्माणमा जुटेका हुन् ।

‘सबै एकजुट भएर लागे के हुन्न र? त्यसैले पनि बर्खाले एकीकृत बस्तीको काम त्यस्तो रोक्नुपर्ने अवस्था बनेन,’ तेम्बाथानको चिटिक्क परेको दृश्य हेर्दै ६३ वर्षीया वृद्धा कर्ममाया ह्योल्मोले भनिन् । हेलम्बुको कागनी, खादुङबाट भूकम्पले पहिरोमय बनाएपछि सुरक्षित स्थान खोज्दै तेम्बाथानमा ५३ ह्योल्मो परिवार आएर बसेका थिए । ‘सबै मिलेपछि के चाहिँ नहुने हो र? दैवले पुर्‍याउँदारहेछन्,’ उनले भनिन् ।

Yamaha

ह्योल्मो संस्कृति झल्कने एकीकृत बस्ती निर्माण हुने भएपछि ह्योल्मो परिवारमा उज्यालो छाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको कथन छ । ‘प्राचीन ह्योल्मो कला र संस्कृतिले घेरिएको एकीकृत व्यवस्थित बस्ती पाउने भएपछि स्थानीय उत्साहित छन्,’ उनले भने । गाउँपालिकाको पहलमा ह्योल्मो संस्कृति झल्कने झ्याल–ढोका बनाउने तालिम दिएको उनले सुनाए ।

हेलम्बु तेम्बाथानमा अक्सफामको आर्थिक र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा तेम्बाथान एकीकृत बस्ती विकास केन्द्रद्वारा नमुना एकीकृत बस्ती ठडिँदै छ । ‘९ वटा घर बनिसकेका छन्, ३० वटाको डीपीसीको काम भइसकेको छ र १० वटामा ह्योल्मो संस्कृति झल्कने झ्यालढोका राखेर पर्खाल लगाउने काम सकिनै लागेको छ,’ जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले भने, ‘बस्तीमा बन्ने प्रत्येक घरको ढोका र झ्यालमा ह्योल्मो संस्कृतिको बुट्टा र कला कुँदेर बनाइएको छ ।’

उनले घरबाहेकका सामुदायिक भवन, ह्योल्मो जातिको पूजा गर्ने अलग्गै मन्दिरको समेत निर्माण गरिने सुनाए । मौलिकतासहितको एकीकृत बस्तीमा दैनिक ५० भन्दा बढी कामदार खटेर अभियानलाई तीव्रता दिइरहेको उनले प्रस्ट्याए ।

‘बर्खाको सुरुवातमा सडकले केही समस्या बनाए पनि हालै केही अवरोध छैन,’ न्यौपानेले भने । तेम्बाथानका वडाध्यक्ष सांगे लामाका अनुसार सडक, धारादेखि सामुदायिक भवन ह्योल्मो परिवारकै अनुदानले बनाइनेछ । जसमा एकीकृत बस्तीभित्र बनाइने सबै घरहरू स्थानीय ह्योल्मो समुदायको ‘मर्चेगुम्बा’ शैलीको हुने उनले जनाए । बस्तीको लागि मेसिनबाट ‘ईसीबी’ इन्टरलक इँटा प्रयोगमा ल्याइएको छ ।

बस्ती वरीपरी ह्योल्मो जातिको परम्परागत संस्कृति चिनाउने बालबगैंचा,ढुंगे बाटोजस्ता विभिन्न भौतिक संरचनाले सिँगारिने योजना छ ।

Esewa Pasal

प्रकाशित : भाद्र ११, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बैठक नबस्दा भएन दफावार छलफल

‘एक सय नौ मध्येमा ८५ सांसद काठमाडौंबाट जान्छन्, त्यही कारण सदस्यहरूको अनुकूलतमा बैठक बस्ने गरेका छौं ।’
नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश सभा ३ को साउन ३१ गतेको बैठक ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाए पनि २ वटा विधेयकमाथि दफावार छलफल हुन सकेको छैन ।

विषयगत समितिको बैठक बस्न नसक्दा दुई विधेयकमाथिको छलफल अघि बढ्न नसकेको हो । दैनिक प्रशासनिक काम गर्न अप्ठ्यारो पर्ने भन्दै प्रदेशको प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने भदौ १ गतेको प्रदेशसभा बैठकबाट पारित भएको छ ।

प्रदेश संस्था दर्ता सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएर संशोधन समेत दर्ता भइसकेका छन् ।

प्रदेश मामिला र शिक्षा, स्वास्थ्य, कृषि समितिको बैठक नबस्दा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालयको व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल हुन नसकेको हो । भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको कारण समितिहरूले पनि बैठक बस्न चासो देखाएका छैनन् । प्रदेशसभा बैठक बस्ने एक दिन अघि र पछि मात्रै विषयगत समितिको बैठक बस्दै आएको छ ।

प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेश सभा बस्ने एक दिनअघि दफावार छलफल हुने गरी समितिको बैठक बोलाउने बताउँछन् । ‘भदौ १७ गते प्रदेशसभा बैठक बस्ने सूचना पाएको छु, १६ गते समितिको बैठक बोलाउँछौं,’ उनले भने, ‘अधिकांश सदस्य उपस्थित हुन गाह्रो हुने भएकाले एक दिन अघिपछि गरेर बैठक बोलाउने गरेका छौं ।’

उनले संसद् अनिर्णयको बन्दी भएको भन्दै प्रदेशसभाको बैठक नै कुनुपर्ने बाध्यता रहेको सुनाए । ‘राजधानीबारे निर्णय भए ढुक्कसँग सांसदहरू बस्थे, हेटौंडा वा अन्यत्र जहाँ भए पनि छिटो निर्णय होस्,’ पौडेलले भने, ‘एक सय नौ मध्येमा ८५ सासद काठमाडौंबाट जान्छन्, त्यही कारण सदस्यहरूको अनुकूलतमा बैठक बस्ने गरेका छौं ।’ दफावार छलफलका लागि तयार भएका ५ मध्ये ३ विधेयक प्रदेश मामिला समितिमा पठाउनुपर्ने छन् ।

शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहाल भदौ १३ र १४ गते दफावार छलफलका लागि समितिको बैठक बोलाइएको बताए । ‘१३ र १४ गते विधेयकमा छलफल गर्ने गरी बैठक बोलाएका छाैं,’ उनले भने । बैठक सकिए लगत्तै प्रदेश सदस्यहरू काठमाडौं वा गृह जिल्ला जाने गर्छन् ।

मकवानपुरका केहीबाहेक कोही पनि प्रदेशसभा सदस्य हेटौंडा बस्ने गरेका छैनन् । राजधानीबारे ‘अन्योल’ रहेको भन्दै सदस्यहरूले हेटौंडामा डेरा समेत खोजेका छ्रैनन् । सदस्यहरूले लामो समयसम्म चल्ने ‘बिजनेस’ भएपछि मात्रै बैठक बोलाउन अनुरोध गर्दै आएका छन् ।

राजधानीबारे टुंगो नलाग्दा त्यसको असर प्रदेशसभा बैठकमा पर्दै आएको छ । राजधानीबारे निर्णय गर्न प्रक्रिया अघि बढाइए पनि अदालतमा रिट परेका कारण प्रक्रिया रोकिएको छ । राजधानी सम्भाव्यता अध्ययन विशेष समिति बनाउने सभाको निर्णयको विरुद्धमा उच्च अदालत पाटनको हेटौंडा इजलासमा अधिवक्ता ध्रुवप्रसाद चौंलागाईंले रिट दायर गरेर कारण देखाउ आदेश जारी भएकाले समितिको प्रतिवेदन सभामा पेस गर्न रोकिएको हो ।

रिट निवेदनमा न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले विपक्षीको नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको थियो । हेटौंडालाई नै राजधानीका लागि दाबी गरिएको रिट निवेदनमा २०७५ वैशाख १४ गते गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गर्ने गरी भएका निर्णय र सो सम्बन्धमा भएका सबै काम–कारबाही बदर गर्न माग गरिएको छ ।

साउन २१ गते सबै विपक्षीको म्याद तामेल भएकाले भदौ २१ गते सम्ममा जवाफ पेस गरिसक्नुपर्नेछ । उक्त समयसम्म पनि सबैको लिखित जवाफ नआए मुद्दाको पेसी तोकिने अदालतले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT