जात्रामा रम्दै प्राचीन सहर

यो पर्वलाई महोत्सवकै रूप दिइएकाले स्वदेश र विदेशबाट समेत दर्शनार्थी आइरहेका छन्
दिउँसो लाखे (जोङ राकस) र रातिको लाखे (बल्निय राकस) रोचक हुन्छ
राजेन्द्र मानन्धर

दोलखा — प्राचीन सहर दोलखा बजारवासी जात्रामा रमेका छन् । यहाँको ‘गुँला पर्व’ महोत्सवले सबैलाई एकजुट गराएको हो । सबै प्राचीन बजारमा मेला भर्ना ओइरिएका छन् ।

दोलखा बजारमा ‘गुँला पर्व’ का अवसरमा लाखे नाच प्रदर्शन गरिँदै । तस्बिर : कान्तिपुर

नेवारी बस्तीहरूमा यति बेला जात्राको मौसम छ । बजारमा प्रत्येक वर्ष यस्ता जात्रा भए पनि यस पटक आयोजित गुँला महोत्वसले प्राचीन राज्यको अस्तित्व सम्झाइरहेको छ । पुर्खाले जेजस्तो गरेर जात्रा देखाउँथे, त्यस्तै सीप र शैली पछयाउन महोत्सव गरिएको भीमेश्वर नगरपालिका २ का अध्यक्ष विराज श्रेष्ठले बताए ।

यी युवा अध्यक्ष कहिले ढोलक ठोक्छन् त कहिले लाखे बन्छन् । हरेक जात्रामा आफैं सहभागी हुन्छन् । उनीलगायत युवा टोली बाजा बजाउँदै करिब २१ किलोमिटर टाढा कालिञ्चोकसम्म पुगे । पुर्खाले दिएको यो क्रमलाई युवाले यस वर्ष पनि निरन्तर दिए, विशेष रूपसाथ । बूढापाकाले जात्रापर्व गर्ने जिम्मा पछिल्लो समय युवाको जिम्मा लगाएको उनी बताउँछन् ।

Yamaha

यसरी नै एक पुस्ताबाट अर्को पुस्तामा जात्रा र पर्वहरू हस्तान्तरण हुँदै आएको स्थानीय कला र संस्कृतिका जानकार तीर्थनारायण जोशीले बताए । मन्दिर, मूर्ति, कला र संस्कृतिले भरिएको दोलखा बजारमा वर्षभरिका जात्रापर्वमध्ये गुँला पर्व पनि एक हो । घण्टाकर्ण चतुर्थीबाट यो जात्रा सुरु हुन्छ ।

यस वर्ष यो पर्वलाई महोत्सवकै रूप दिइएकाले स्वदेश र विदेशबाट समेत दर्शनार्थी आइरहेका छन् । स्थानीय भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठका अनुसार घण्टाकर्ण, बौद्ध स्तूपा, मठमन्दिरमा बाजासहित परिक्रमा गरिन्छ । दिउँसो लाखे (जोङ राकस) र रातिको लाखे (बल्निय राकस) रोचक हुन्छ ।

जनैपूर्णिमाको दिनमा कालिञ्चोक भगवतीलाई आरधाना गरी दोलखामा दु:ख दिने राकस (लाखे) को संहार गरिन्छ । उक्त दिन उपकर्ण यज्ञ, पोखरीमा पौडिने प्रतिस्पर्धात्मक जात्रामा रमाइलो गर्न मानिस राजकुलेश्वर पोखरीमा भेला हुन्छन् ।

पाँच रात देखाइने भैरव–कुमारीको जात्रा अनौठो हुन्छ । एक जनाले रातभरि ढोलक बजाइरहनुपर्छ । बजाउन रोके अनर्थ हुने मान्यता छ र त्यहीँ ढोलकको तालमा भैरव र कुमारी नाच्छन् । भैरव, कुमारीलगायत सेनामेनाले नाच्दै दोलखा बजारका विभिन्न टोल, मन्दिर, डबली परिक्रमा गर्छन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

पाइप जोगाउन ढुंगाको भुवा

राजेन्द्र मानन्धर

दोलखा — जिल्लामा सिँचाइका पाइप डढेलोबाट जोगाउन नौलो प्रयोग थालिएको छ– ‘ढुंगाको भुवा’ ।ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो ।

सिँचाइका पाइपलाई आगो, बाँदर र टुट्नफुट्नबाट जोगाउन ढुंगाको भुवाले बाहिरबाट ढाकिँदै । तस्बिर सौजन्य : डिभिजन सिँचाइ कार्यालय

यो सिमेन्टभन्दा सस्तो पर्छ । यसको प्रयोग मुलुकमै पहिलोपटक गरिएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयलाई यस वर्ष जिल्लाको करिब ७० किमि सिँचाइ पोलिथिन पाइपबाटै गर्नुपर्ने बाध्यता छ । यस्तोमा जंगलको बीचबाट पाइप लैजाँदा डढेलोले नष्ट हुने जोखिम रहन्छ ।

यही समस्याको भरपर्दो उपाय खोज्दै ‘रकउल’ प्रविधि अपनाइएको हो । ‘यो प्रविधि नौलो हो,’ सिँचाइ डिभिजन प्रमुख कृष्णप्रसाद रिजालले भने, ‘४४ मिटर पोलिथिनलाई अग्निनिरोधक बनाइसकिएको छ ।’

भूकम्पपछि जिल्लामा ढुंगा, गिट्टी, बालुवाको अभावसँगै मूल्य बढ्यो । सिमेन्ट, बालुवा र ढुंगाको कुलो बनाउन डकर्मीसमेत पाइएन । यस्तोमा कार्यालयसँग पोलिथिन पाइप बिछ्याउनुको विकल्प रहेन ।

अहिले डढेलोले बढी प्रभावित नाम्दुस्थित बेताने जंगली क्षेत्रमा उक्त प्रविधि प्रयोग गरिँदै छ । पाइपलाई रकउल, त्यसमाथि जाली र प्लेनसिटले बेरेर आगो लगाई परीक्षणसमेत गरिँदै आएको छ ।

रकउल छुँदा जिउ चिलाउने र खटिरा आउने भएकाले बाँदरले पनि पाइप बिगार्न पाउँदैन । मानिसले पनि हत्तपत्त काट्न सक्दैन । रकउल प्रयोग गर्दा प्रतिमिटर २ हजार रुपैयाँ खर्च लागेको छ । यो ढुंगा, सिमेन्ट र बालुवाको प्रयोगबाट कुलो बनाउनुभन्दा सस्तो रहेको सम्बद्ध अधिकारीहरू बताउँछन्।

रकउल गरिएको पाइपमा ‘लाइफटाइम ग्यारेन्टी’ रहने कार्यालयको दाबी छ । उक्त डिभिजनअन्तर्गत सिँचाइका १ सय ६ वटा योजना छन् । सबै योजनामा रकउल प्रयोग बढाउँदै लैजाने कार्यालयको तयारी छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT