कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलबाट सवारी सञ्चालन

रसुवा — बाढीले क्षति पुर्‍याएको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलाको पुल मर्मतसँगै बिहीबारबाट डिभिजन सडक कार्यालय नुवाकोटले यातायात सञ्चालन गर्न अनुमति दिएको छ ।

पुलबाट सवारी सञ्चालन

एक महिनाअघि बाढीले पुलको जगमा क्षति गरेको थियो । मर्मत सकिएकोले पुलबाट यातायात सञ्चालन गर्न अनुमति दिएको डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजन प्रमुख निरज शाक्यले बताए ।

घट्टेखोला पुल मर्मत भए पनि नाका नजिकै पहिरो गएकाले चीन जोडने एक मात्र अन्तर्राष्ट्रिय रसुवागढी नाकामा यातायात सञ्चालन हुन सकेको छैन् । पहिरोले क्षति गरेको रसुवागढी नाका नजिकैको सडक निर्माण गर्न बाँकी रहेको शाक्यले बताए । नाका नजिकैको पहिरो हटाउनका लागि ब्लास्टिङ गर्नुपर्ने छ । ब्लास्टिङ गर्न रसुवागढी जलविद्युत् आयोजनाले कम्प्रेसर उपलब्ध गराउने भएको छ ।

बाढीले क्षति गरेको घट्टेखोलाको पुल मर्मत गर्न पनि रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको आयोजना प्रमुख छवि गैरेले बताए । खोपाङ भीरमा पनि सडक छेउमा वाल लगाउने र सडकको कुनामा ब्लास्टिङ गर्ने तयारी डिभिजन सडक कार्यालय गरिरहेको छ । अहिले त्रिशूली खोला नजिकै गएको पहिरो हटाउने काम भइरहेको छ । धुन्चे–रसुवागढी सडक खण्डको आधा दर्जन ठाउँमा पहिरो झरेको छ । पहिरो गएको ठाउँमा सडक सुचारु गर्न डिभिजन सडक कार्यालय, रसुवागढी जलविद्युत् आयोजना, मैलुङ स्याफ्रु निर्माण कार्यदल र नेपाली सेनाले काम गरिरहेका छन् ।

रसुवागढी नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका– ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध गरेपछि एक महिनादेखि नाका ठप्प छ ।

नाकामा यातायात ठप्प भएपछि स्याउ, लसुनलगायत सामग्री कुहिन थालेका छन् । चाडवार्डका लागि नेपाल ल्याउन लागिएका अर्बाैं मूल्यका सामान चीनको केरुङमा थन्किएका छन् । करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएको व्यवसायीले बताएका छन् । भूकम्पले तातोपानी नाका बन्द भएपछि प्रमुख नाकाका रूपमा सञ्चालित रसुवागढी नाकासमेत अवरुद्ध हुँदा व्यवसायीले झन्झट बेहोर्नुपरेको छ ।

यातायात अवरुद्ध हुँदा सामान बोकेका सयौं कन्टेनरहरू बाटैमा अलपत्र परेका छन् । स्याउलगायत कुहिने सामग्रीहरू व्यवसायीले बोकाएरै राजधानी ल्याइरहेका छन् । यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प छ । दैनिक करोडौं राजस्व असुल हुने नाका सुनासान छ । एक महिना भयो भन्सारमा राजस्व नउठेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?