स्वास्थ्य केन्द्र बनाउँदै दुर्गमका बासिन्दा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका दुर्गम गाउँका बासिन्दा गाउँमै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न कस्सिएका छन् । गाउँमै स्वास्थ्य केन्द्र नभएकाले १० महिनाअघि एक सुत्केरी महिलाको रक्तस्राव भएर बाटैमा मृत्यु भएको थियो ।

उपचार गर्न इन्द्रसरोवरको सिस्नेरीस्थित स्वास्थ्य चौकीमा ल्याउँदा ल्याउँदै रक्तस्राव भएर कमला तामाङको मृत्यु भएको हो । कमलाको मृत्यु भएपछि झस्किएका गाउँलेले गाउँमै स्वास्थ्य चौकी स्थापना गर्न विनोद तामाङको संयोजकत्वमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण समिति गठन गरेका छन । उक्त समितिले एक लाख रुपैयाँभन्दा बढी रकम संकलन गरिसकेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ अन्तर्गत पर्ने दुर्गम गाउँ भालुखर्क, गोगने हांसुली, चुवावनलगायतका ग्रामीण बस्तीका बासिन्दाले गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हुन् । उनीहरूले कुखुरा, बाख्रा बिक्री गरेर सहयोग गरिरहेको सिस्नेरी स्वास्थ्य चौकीका अहेव सागर लामाले बताए । उक्त बस्ती नजिक स्वास्थ्य चौकी नभएकाले उनीहरूले गाउँमा नै स्वास्थ्य केन्द्र राख्न सहयोग जुटाउन थालेका हुन् ।

Yamaha

उक्त गाउँवाट नजिकको स्वास्थ्य चौकी आइपुग्न ३ घण्टा हिँड्नुपर्छ । चौकीबाट घर पुग्न झन्डै चार घण्टा उकालो हिँड्नुपर्छ । ‘उक्त गाउँका दमका रोगीहरू स्वास्थ्य चौकीमा उपचार गर्न आउन सक्दैनन्,’ स्थानीयवासी विनोद लामाले भने, ‘गाउँबाट स्वास्थ्य चौकी बिस्तारै आउन सक्छन् ओरालो भएकाले, फर्कन उकालो भएकाले मुस्किल पर्छ।’

उक्त गाउँमा झन्डै २ सय घरधुरी छन् । सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको र यो समस्याले विशेष गरी गर्भवती ,सुत्केरी महिला, बालबालिका तथा वृद्धवृद्धाहरू निकै मर्कामा परेका छन् ।

अधिकांश तामाङ समुदायको बसोबास रहेको उक्त गाउँमा स्वास्थ्य केन्द्र नभएकाले अधिकांश बिरामीले धामीझाँक्री लगाउने गरेका छन् । ‘स्वास्थ्य चौकीको अभावले गर्दा गाउँलेहरू अन्धविश्वासमा भर पर्न थालेकाले गाउँमा सहयोग जुटाएर बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी स्थापना गर्न लागेका छौं,’ निर्माण समितिका संयोजक तामाङले भने, ‘करिब १५ लाख रुपैयाँ चन्दा संकलन गरेर गाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिछाड्छौं ।’

गाउँपालिकाले पनि केन्द्र स्थापना गर्ने आश्वासन दिएको स्थानीयवासीले बताएका छन् । सामान्य सिटामोल या प्राथमिक उपचारका लागि घण्टौं धाउन नपरोस् भन्ने अभिप्रायले प्रत्येक घरधुरीबाट रकम संकलन गर्दै विभिन्न सहयोगी मनहरूलाई सहयोगका लागि आह्वान गर्दै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने अभियानमा स्थानीय समाजसेवीहरू जुटेका छन् । कम्तीमा १५ लाख रुपैयाँ संकलन गरेर केन्द्र स्थापना गर्ने उनीहरूको लक्ष्य छ । ढिलोमा कार्तिकसम्म उक्त रकम संकलन भइसक्ने उनीहरूको अनुमान छ ।

बर्थिङ सेन्टर स्थापना
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयवासीहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ३ वटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा बर्थिङ सेन्टर स्थापना गरेको छ ।

गढी गाउँपालिका–६ को डुम्रेकुना, ३ को मक्रान्चुल, ४ को कालीखोलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छ । गढी गाउँपालिकाले १ नम्बर वडाको रानीसेरामा बर्थिङ सेन्टर स्थापना गरेको छ।

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धसिङ्गरेबाट तेल

४ महिनादेखि धसिङ्गरेको तेल उत्पादन
एक केजी तेल निकाल्न १ सय ७५ केजी धसिङ्गरे
तेलको मूल्य प्रतिकेजी सात हजार रुपैयाँ
प्रताप विष्ट

थाहा (मकवानपुर) — साउने संक्रान्तिमा लुतो फाल्दा पडाउन र दहीको ठेकी माझ्न प्रयोग गर्ने गरेको मछिनो कसैले पैसा तिरीतिरी किन्लान् भनेर दामन क्षेत्रका बासिन्दाले सोचेका थिएनन् । अझ त्यही स्याउलाबाट तेल निस्किन्छ भन्ने त उनीहरूलाई कल्पनै थिएन ।

मकवानपुरको थाहा नगरपालिका—४ नयाँगाउँमा धसिङ्गरेको तेल निकाल्न धसिङ्गरेको पात र डाँठ भट्टीमा उसिन्दै ।तस्बिर : प्रताप

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–४ नयाँगाउमा धसिङ्गरे (मछिनो) को तेलको उत्पादन सुरु गरिएको छ । ‘पहिले वन पाल्ने चलन नभएको बेला त मछिनोको धेरै सोत्तर बनाइयो, यो पनि जडीबुटी नै हो भनेर त थाहै थिएन,’ स्थानीय बासिन्दा मानबहादुर लोल भने ।

स्थानीय क्षेत्रमा मछिनो र जडीबुटीको नाम जान्नेहरूले धसिङ्गरे भन्ने यो जडीबुटीबाट गाउँघरमै धमाधम आम्दानी गरेका छन् । स्थानीय दुर्गामाया बलले भनिन्, ‘हामी त घरमै भएको चिज नचिनेर पो गरिब भएका रहेछौं ।’ मकवानपुरको महाभारत पर्वत शृंखलाको वरपर प्रशस्त मात्रामा पाइने धसिङ्गरेको सदुपयोग गरी आय आर्जन गर्न स्थानीय चिनारी धसिङ्गरे तेल उद्योगले ४ महिनादेखि उत्पादन सुरु गरेको छ ।

‘धसिङ्गरेको तेल उत्पादन गर्ने मेसिन चाँडै ल्याएको भए पनि तेल उत्पादन सुरु गरेको चार महिना मात्र भयो,’ उद्योगका अध्यक्ष राजेश केसीले भने, ‘उत्पादन सुरु गर्न ढिला भो ।’ उक्त मेसिन च्वाइस नेपालले उपलब्ध गराएको हो । मेसिनको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने उद्योगले जनाएको छ । अहिले यसको प्रतिमहिना ६० किलो तेल उत्पादन क्षमता रहेको छ ।

गाउँमै धसिङ्गरेको तेल उद्योग खुलेपछि दामनलगायत उक्त क्षेत्रका बासिन्दा दंग परेका छन् । उद्योगमा कार्यरत तीन जनाले रोजगारी पाएका छन् भने, जंगलबाट मछिनो बोकेर ल्याउने ९ जनाले पनि आय आर्जनको काम पाएका छन् । । वस्तुभाउ चराउन जाँदा मछिनो ल्याएर पनि स्थानीय बासिन्दाले आम्दानी गरिरहेका छन् । उनीहरूले प्रतिकिलो धसिङ्गरेको १२ रुपैयाँमा बिक्री गर्छन् ।

एक केजी तेल निकाल्न करिब १ सय ७५ केजी धसिङ्गरे चाहिन्छ । डाँठसहितको धसिङ्गरेलाई डिस्टिलेसन प्रविधिबाट पकाएर बाफमा परिणत गरी फेरि चिस्याएर तेल निकालिन्छ । उत्पादित तेल प्रतिकेजी ७ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । च्वाइस नेपालले नै उक्त उद्योगमा उत्पादित तेल खरिद गर्ने गरेको छ । ‘बजारको समस्या छैन,’ अध्यक्ष केसीले भने, ‘मागअनुसारको उत्पादन गर्न सकिएको छैन ।’

उत्पादित तेल शरीर मालिस गर्न, मञ्जन र आयोडेक्स प्रयोग हुने उद्योगले जनाएको छ । कच्चा पदार्थ संकलन गर्दा डाँठ काट्ने र यसरी डाँठ काटा धसिङगरेको बोट अझ मौलाउने गरेको छ । थाहा नपा–४ स्थित ऋषेश्वर सामुदायिक वनमा धसिङ्गरेको जंगल नै छ । उक्त उद्योगले ऋषेश्वर सामुदायिक वनलाई प्रतिकेजी धसिङ्गरेको ५० पैसा राजस्व बुझाउने गरेको छ । उक्त उद्योगलाई दैनिक ५ सयदेखि ६ सय केजी धसिङ्गरे आवश्यक पर्छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT