पर्यटकलाई परम्परागत नाच

भक्तपुर — भक्तपुर नगरपालिकाले गाईजात्रा पर्वको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आइतबार विभिन्न परम्परागत सांस्कृतिक नाच प्रदर्शन गरेको छ ।

पर्यटकलाई परम्परागत नाच

सांस्कृतिक सहर भक्तपुर अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गरी नगरपालिकाले जात्रा अवधिभर देवी, भैल, माक, लाखे, नागचा प्याख: लगायत परम्परागत नाच प्रदर्शन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष एवं गाईजात्रा मूल्यांकन समिति संयोजक रवीन्द्र ज्याख्वाले बताए ।

नगरपालिकाले प्रत्येकवर्ष जात्रा अवधिभर नगरपरिक्रमा गराउने परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक कार्यक्रमलाई प्रवद्र्धन, नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता समेत गराउने गरेको उनले बताए ।

यस वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन प्रस्तुत भएका ५४ वटा घिन्ताङघिसी र ६ माक प्याख: (बाँदर नाच) मूल्यांकन भएको समितिले जनाएको छ । भक्तपुर नगरको दत्तात्रय, तौमढी र दरबार क्षेत्र स्थित भैल, देवी, कलाली, हनुमान, फागन्दली, गाइँचा, लुसी, भालु, म्हेखा (मयूर) शेरसिंह, खिचा, कवांचा, ख्या:लगायत ७० विधाको परम्परागत (प्याख:) प्रतिस्पर्धा भइरहेको नगरपालिकाले जनाएको छ ।

सकियो गाईजात्रा
जनैपूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म ८ दिन मनाइने गाईजात्रा पर्व आइतबार सकिएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी सुरु भएको गाईजात्रा पर्व कृष्णजन्माष्टमीको साँझ नगरका टोलटोलबाट घिन्ताङघिसी नाच निकाली नगर परिक्रममा गरी सकिएको हो । भाद्रकृष्ण प्रतिपदाको दिन दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने, अरू दिन घिन्ताङघिसी नाच र व्यंग्य प्रस्तुत गरी गाईजात्रा पर्व मनाउने गरिन्छ ।

जात्रा समापनका क्रममा घिन्ताङघिसी नाच, हनुमान नाच, माकप्याँख लगायत परम्परागत नाच प्रदर्शन गर्दै नगरपरिक्रमा गरेको छ । भैरव मन्दिरहरूमा नेवारी धोती तथा हाकुपटासी लगाएका सयौं महिलाले बत्ती बालेर नगर परिक्रममा गरेका छन् ।

महिलाहरूले हातमा बत्ती र पुरुष तथा बालकहरूले शरीरमा पालामा बत्ती बालेर गाईजात्रा रुट सूर्यमढीबाट, दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुन: सूर्यमढी पुगेर जात्रा सम्पन्न गरे । शरीरमा बत्ती बालेर नगरपरिक्रमा गर्ने व्यक्तिलाई रोगले नछुने, मनोकामना पूरा हुने जनविश्वास छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?