कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता लिने बढे, कर्मचारी घटे

चितवन — नागरिकता लगायतका सेवा लिन चितवन जिल्ला प्रशासन आउनेको संख्या बर्सेनि बढ्दो छ । तर कार्यालयमा कर्मचारी भने कटौती हुने गरेका छन् ।

नागरिकता लिने बढे, कर्मचारी घटे

जिल्ला प्रशासन कार्यालयको समीक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सेवा लिन आउनेको चापअनुरूप कर्मचारीको व्यवस्था हुन नसकेको बताए ।

चितवन जिल्ला प्रशासनले गत आर्थिक वर्षमा वशंजका आधारमा १८ हजार ८ सय ४ नागरिकता र नौ हजार ६ सय १४ थान प्रतिलिपि नागरिकता वितरण भएको छ ।

वैवाहिक अंगिकृत र अंगिकृतसमेत गरेर ६२ नागरिकता वितरण भएको प्रजिअ बस्नेतले जानकारी दिए । यो संख्या अघिल्ला वर्षहरूको भन्दा धेरै हो । ‘नयाँ नागरिकता मात्रै कुरा गर्ने हो भने पनि गत आवमा त्यसअघिको आर्थिक वर्षमा भन्दा दुई हजार थानभन्दा बढी वितरण भएको छ,’ बस्नेतले भने । सेवा लिनेहरूको संख्या बढेपछि कर्मचारीहरू थपिन्छन् । कम्तीमा पनि कटौती हुँदैनन् । तर चितवन जिल्ला प्रशासनमा भने कार्यरत कर्मचारीहरूको दरबन्दी कटौती भएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडा कार्यालयमा रहेको सातवटा अधिकृतको दरबन्दी घटेर तीनमा झरेको छ । पहिला प्रशासन हेर्ने पाँच जना शाखा अधिकृतहरूको दरबन्दी थियो । कानुन अधिकृत र लेखा अधिकृतसमेत गरेर सात जना शाखा अधिकृतको दरबन्दी कार्यालयमा थियो ।

अहिले कानुन र लेखा अधिकृतको दरबन्दी कटौती भएको छ । ‘प्रशासन तर्फका पाँच जना शाखा अधिकृतको दरबन्दी पनि कटौती भएर तीन जनामा झरेको छ । यिनै तीन जनाले सबै सेवा हेर्नुपर्ने छ,’ सूचना अधिकारी सिम्खडाले भने । चितवनको जनसंख्या र सेवा लिन आउनेको चाप हेर्दा यहाँ कम्तीमा पनि चार जना शाखा अधिकृत आवश्यक भएको उनले बताए । तर भएकाले नै पालैपालो गर्नुपरेको छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?