कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई महिना टिकेन सवा करोडको तटबन्ध

नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ ।
रमेशकुमार पौडेल

चितवन — नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ ।

दुई महिना टिकेन सवा करोडको तटबन्ध

सवा करोडको तटबन्ध असारमा मात्र तयार भएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबारबाटै कटान सुरु भएको बताए । भदौको अन्तिम अन्तिममा चितवनमा पानी कमै परेको छ । यो बेलामा बाढीले दु:ख दिन्छ भनेर जिल्लावासीले सोच्दै सोचेका छैनन् । तर मंगलबार दिउँसो चितवन जिल्ला प्रशासनले जारी गरेको सूचनाले भने जिल्लावासी झसंग भए ।

चितवनको पश्चिम क्षेत्र मेघौलीमा नारायणीले कटान गरेको र १२ सय घर प्रभावित हुन सक्ने भन्दै प्रशासनले सजग रहन सूचना निकालेको थियो । यो समस्या पुरानै हो । अघिल्लो वर्ष साउनमा पनि यस्तै त्रास बढेको थियो । तत्कालीन जनताको तटबन्ध कार्यक्रम र हालको नारायणी नदी नियन्त्रण आयोजनाले तटबन्ध बनाएका कारण ढुक्कसँग निदाउने स्थानीयको आशा अहिले पनि पूरा भएन ।

तटबन्ध भत्केका कारण भरतपुर महानगरपालिका–२८ का बस्तीहरू सालवास, सिसावास, पर्सा बजार, लौखुरी, गोलाघाट र अन्द्रौलीमा बाढी पस्न सक्ने भनेर प्रशासनले सूचना जारी गरेको थियो । त्यसको तीन दिन हुँदा पनि न नदीको भेल घटेको छ न स्थानीयको त्रास कम भएको छ । नदीको तह कम हुने कामना गर्नुबाहेक छेकबारका लागि अहिले भरपर्दो उपाए पनि त्यहाँ छैन ।

नारायणी नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी गौतम भण्डारीका अनुसार लगभग सवा सय मिटर तटबन्ध भत्केको छ । त्यो तटबन्ध तीन मिटरभन्दा अग्लो र पाँच मिटर फराकिलो थियो । ‘जति भत्कियो त्यसले सवा करोड रुपैयाँ बराबरको लगानी खेर गयो,’ सूचना अधिकारी भण्डारीले भने । गएको असारमा मात्रै तटबन्धको काम पूरा भएको उनले बताए ।

‘यता जिल्लामा पानी खासै नपरे पनि नारायणीको जलाधार क्षेत्र रहेको पहाडी क्षेत्रमा लगातार पानी पर्दा ठूलो भेल आएको हो । जुन ठाउँको तटबन्ध फुट्यो त्यहाँ नारायणीको धेरै भँगालोले लगातार हानि रहन्छ । त्यही भएर जोगाउन सकिएन,’ भण्डारीले भने । निर्माणअघि अध्ययन गरेर डिजाइनअनुसार काम गरे पनि विपतका अगाडि कसैको केही नलाग्ने उनले बताए ।

अनुगमनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई स्थानीयले नदीतर्फ हाँगासहितका रुख राखेर छालको प्रहार रोक्ने तरिका अपनाएको जानकारी गराए । जालीमा ढुंगा बालुवा भरेर पर्खाल लगाउन अहिले समस्या छ । मंगलबार साँझ त्यस्तो पर्खाल लगाए पनि नदीको भेलले भत्काएको थियो ।

‘सुरु सुरुमा स्थानीय र वडाध्यक्षहरूले नै सकेको प्रयास गर्नुभएछ । नदीको भेल कम भएन । कटान रोकिएन । त्यसपछि जिल्लामा गुहार लगाउनुभयो,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । तटबन्धको आडैमा छवटा घर छन्, जसमध्ये पूर्णबहादुर कुमालको धानखेत कटान भएर नदीले आँगन छुन थालेको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले तटबन्धन कटान भएको र नदीको भेल बढदै गए गाउँ पस्ने खतरा रहेको निक्र्यौल गरेको छ । यसो भएमा १२ सय घरधुरी प्रत्यक्ष प्रभावित हुने र धानबाली पनि नोक्सान हुने बैठकले निचोड निकालेर जोगाउने उपाएहरू सुरु गरेको छ ।

सेना, प्रहरी र सशस्त्र प्रहरी गाउँमा तैनाथ गरेको बताउँछन् । बस्नेतले चारवटा सुरक्षित आश्रय स्थल तय गर्दै हजार थान त्रिपालसमेत मगाएको बताए ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?