कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकल कुखुरा जोगाउन २० लाख

लोकल कुखुराको माग व्यापक छ तर लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि बजेट विनियोजन गरेका हौंं
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकाले लोपोन्मुख स्थानीय जात (लोकल) का कुखुराको संरक्षण र प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । हाँडीखोला र मनहरी गाउँपालिका समेटेर बनेको मनहरी गाउँपालिकाले चालू आवको निम्ति २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

लोकल कुखुरा जोगाउन २० लाख

‘गाउँमा लोकल कुखुरा लोप हुन लागेको त्यसको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले चालू आवमा बजेट छुट्टयाइएको छ,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘लोकल कुखुराको माग व्यापक छ तर लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि बजेट विनियोजन गरेका हौं ।’


गाउँपालिकाले साविकको हाँडीखोला गाविस र मनहरी गाविसका एक/एकवटा युवा स्वरोजगार समूह गठन गरेर स्थानीय जातको कुखुरापालन गर्न रकम उपलब्ध गराउने नीति बनाएको छ । उक्त समूहलाई गाउँपालिकाले उपलब्ध गराउने रकममध्ये केही रकम अनुदानमा दिने अरू रकम किस्ता बन्दी निब्र्याजी ऋण स्वरूप उपलब्ध गराउने कार्यविधि बनाएको छ । ‘पहिलो वर्ष २ स्थानमा व्यावसायिक ढंगले स्थानीय जातका कुखुरा पालन गर्न अनुदानसहित ऋण उपलब्ध गराउने र दोस्रो वर्षदेखि यो संख्या र बजेट अझ बढाउने छाैं,’ गापाकी उपाध्यक्ष मनिला विष्टले बताइन् ।

मकवानपुरमा स्थानीय जातका तीन किसिमका कुखुरा पाइन्छन् । ‘तीनै थरी कुखुरा लोपोन्मुख अवस्थामा छन्,’ जिल्ला पशुसेवा कार्यालय हेटौंडाका प्रमुख डा.रामप्रकाश प्रधानले भने, ‘मकवानपुरमा स्थानीय जातका कुखुराको संरक्षणलाई प्राथमिकताको सूचीमा राखिएन भने आउँदो पुस्ताले देख्नसमेत पनि पाउँदैनन् ।’

‘जिल्लामा साखिनी, घाँटी खुइले र प्वाँख उल्टे गरी तीन प्रजाति स्थानीय कुखुरा पाइन्छन् । अहिलेसम्म कतैकतै दुर्गम गाउँ र बस्तीमा उक्त प्रजाति कुखुरा पाइन्छन्,’ डा. प्रधानले भने, ‘तिनीहरूको संरक्षण गर्न सकिएन भन केही वर्षभित्रमा नै लोप हुन्छन् ।’ यी जातका कुखुरा र यसका अन्डा पोसिलो मानिन्छ । अहिले बजारमा स्थानीय जातका कुखुरा र त्यसका अन्डाको माग व्यापक छ तर पाउन सकेका छैनन् ।

स्थानीय जातका कुखुरा पालन गर्न हाँडीखोला र मनहरी गाउँपालिकाका युवाहरू मिलेर युवा स्वरोजगार समूह गठन गरिसकेका छन् । मनहरी गाउँपालिकाले स्थानीय जातका कुखुरापालनका लागि मात्र होइन, अर्गानिक खेती गर्नका लागि २५ लाख रुपैयाँ चालू आवमा बजेट विनियोजन गरेको छ । मनहरी गाउँपालिकामा पर्ने हाँडीखोला व्यावसायिक तरकारी उत्पादनका लागि ख्याति कमाउँदै आएको छ । उक्त तरकारी खेतीमा विषादी र रासायनिक मल प्रयोग गर्ने गरिएको छ ।

गाउँपालिकाले विषादीरहित अर्थात् अर्गानिक तरकारी उत्पादन गर्न कृषकलाई प्रोत्साहित गर्न गापाले बजेटको व्यवस्था गरेको गापा अध्यक्ष उप्रेतीे भने, ‘मनहरीमा २५ बिगाहा र हाँडीखोलामा २५ बिगाहा गरेर ५० बिगाहा जमिनमा सामूहिक रूपमा अर्गानिक खेती गर्न बजेट विनियोजन गरेको हो ।’


मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले विभिन्न किसिमका रोग उत्पादन गरेकाले अर्गानिक खेतीतर्फ कृषकलाई प्रोत्साहित गर्न अनुदानसहित बजेटको व्यवस्था गरेको गापाले जनाएको छ । अर्गानिक खेती गर्न अर्गानिक मल र बीउमा गापाले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

सामूहिक रूपमा २५/२५ बिगाहामा २ स्थानमा अर्गानिक खेती गर्न कृषकहरूले गाउँपालिकामा प्रस्ताव पेस गरिसकेका छन् । गाउँपालिकाले क्रमश: विषादीरहित अर्गानिक खेतीमा जोड दिने जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?