कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटी हल बनाउने ठाउँको विरोध

सहरी विकास मन्त्रालयबाट बजेट प्राप्त हुने भएपछि महानगरपालिकाले सिटी हल बनाउने तयारी
रमेशकुमार पौडेल

चितवन — सिटी हल बनाउने काम सुरु गर्न ५० करोड रुपैयाँ बजेट आउँदा पनि बन्ने ठाउँ तोक्न भरतपुर महानगरपालिकालाई सकस परेको छ ।

सिटी हल बनाउने ठाउँको विरोध

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी बनाउने निर्णय हुँदा प्रमुख प्रतिपक्ष कांग्रेसका जिल्लादेखि केन्द्रीय नेताहरू विरोधमा उत्रिए । त्यसपछि ठाउँ फेरेर अन्यत्र बनाउने निर्णय भएको छ । तर विरोध बढदै छ ।


क्यान्सरको जग्गामा कांग्रेसले विरोध गरेपछि भदौ २७ गते बसेको बैठकले गेस्ट हाउस चौरका नामले परिचित जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा सिटी हल बनाउने निर्णय गर्‍यो । जसमा कांग्रेसको पनि सहमति छ । तर यो निर्णय सार्वजनिक भए लगत्तै सहरको बीच भागमा रहेको खाली ठाउँ मास्न लागेको भन्दै विरोध उठ्यो । केही पार्टीहरूले निर्णय खारेज गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन् ।


सहरी विकास मन्त्रालयबाट बजेट प्राप्त हुने भएपछि महानगरपालिकाले सिटी हल बनाउने तयारी सुरु गरेको मेयर रेनु दाहालले बताइन् । महानगरले पाँच हजार जना अट्ने क्षमता भएको सुविधा सम्पन्न सिटी हल बनाउन लागेको छ ।


बजारभन्दा धेरै टाढा पनि बनाउन नमिल्ने सिटी हलका लागि कम्तीमा पाँच बिघा जग्गा चाहिन्छ । भरतपुर र नारायणगढ बजार क्षेत्रभन्दा केही पर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छ । अस्पताल भवनभन्दा अलि टाढा रहेको ठाउँको जग्गामा सिटी हल बनाउने तयारी महानगरले सुरु गर्‍यो । स्वास्थ्य मन्त्रालयको नाममा रहेको ७५ विघा जग्गाबाट महानगरले पाँच बिघा लिन खोजेको थियो ।

जग्गा दिने निर्णय मन्त्रिपरिषदमा जानै लाग्दा कांग्रेस विरोधमा उत्रियो ।महानगरकी मेयर रेनु दाहाल नगरसभाले क्यान्सर अस्पताल हाताभित्र सिटी हल बनाउन खोज्दा कसैले विरोध नगरेको तर पछि एकाएक विरोधका स्वर उठेको बताउँछिन् ।

विरोध पनि जिल्ला सभापति मात्रैले नभएर केन्द्रीय कार्यालयसहित केन्द्रीय नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसमेतले गरेका थिए । कांग्रेसका नेता बीपीको नाममा खुलेको अस्पताल असफल बनाउन सिटी हल बनाउन लागेको नेताहरूको आरोप थियो ।

अस्पताल हातामा सिटी हल बनाउँदा बिरामीलाई असर गर्ने, भविष्यमा विस्तारित कार्यक्रमहरू चलाउन अस्पताललाई जग्गा नपुग्ने तर्क गर्दै कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका नेताहरू विरोधमा उत्रेका थिए । ‘भारतमा निकै राम्रा र उत्कृष्ट क्यान्सर अस्पताल दुई बिगाहा जग्गामा बनेका छन् । यहाँ ७५ बिगाहा जग्गा भएको अस्पतालको एउटा कुनामा सिटी हल बनाउन लाग्दा पनि ठूलो विरोध भयो । ‘ठीकै छ, कांग्रेससँग टसल गरेर म त्यही नै सिटी हाल बनाउनुपर्छ भन्नेमा छैन । तर कुनै न कुनै ठाउँमा बन्छ,’ मेयर दाहालले सार्वजनिक कार्यक्रममा भनिन् ।


गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णय गर्दा कांग्रेस पनि बैठकमा सहभागी थियो । ‘जिल्ला समन्वय समितिका संयोजकले प्रस्ताव ल्याउनुभयो । मैले समर्थन गरे । कांग्रेसले विरोध मात्रै गर्छ भन्ने गलत प्रचार गर्न खोजेका कारण हामीले समर्थन गरेको हो,’ कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने । तर यो निर्णयको अहिले जनस्तरमा विरोध भएको छ ।


‘ठूला पार्टीले सहमति गरे हाम्रो वास्ता गरेनन् भनेर फेरि साना दलहरू विरोधमा निस्केका छन् । ६ वटा पार्टीका १० जना मान्छे उभिएर विरोध गर्दै छन्,’ पछिल्लो समय हुने गरेको विरोधप्रति मेयर दाहालको टिप्पणी थियो । भरतपुर क्षेत्रमा गेस्ट हाउस चौरजस्तो खुला क्षेत्र अरू छैन । केन्द्रीय अस्पताल बन्ने तयारी रहेको भरतपुर अस्पताल आडैमा छ । त्यसैले यो ठाउँ उपयुक्त नहुने तर्क उठेको छ ।


‘महानगरमा घरैघर भरिँदै जाँदा बाँकी रहेको यो खुला ठाउँ मास्न उचित हुँदैन । यसमा सिटी हल हैन हरियाली पार्क बनाउनुपर्छ भन्ने हाम्रो माग छ,’ वातावरण संरक्षण अभियानमा लामो समयदेखि सक्रिय विवेकशील साझा पार्टीका चितवन अध्यक्षसमेत रहेका भूपेन्द्र बस्नेतले भने ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?