१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

राजमार्गमा यात्रु ठगिँदै

हरिहरसिंह राठौर

धादिङ — मर्मत क्रममा राजमार्ग अवरुद्ध भएपछि सडक छेउछाउका होटलहरूलाई यात्रु ठग्ने प्रशस्त वहाना मिलेको छ । चाडवाड नजिकिँदै गर्दा सवारी साधन र यात्रुहरूको चाप बढेको छ ।

राजमार्गमा यात्रु ठगिँदै

नागढुङ्गा–पिपलामोड सडक मर्मतको क्रममा असोज १५ गतेदेखि हरेक रात राजमार्ग बन्द गर्न थालेपछि यात्रुहरू सडकमै अलपत्र पर्ने गरेका छन् ।


विशेष गरी राजधानी आउने लामा दूरीका सवारी साधनहरू खाना र नास्ताका लागि रोक्ने धार्के, एक्लेफाँट, ढॉडे, सिक्रेखोला, २० किलो, नौबिसेमा नियमित सवारी साधनहरू रोकिन्छन् । हरेक रात ९ बजेदेखि सडक बन्द हुने भएपछि अलपत्र परेका यात्रुहरू न त बास बस्ने लज छन् न त सस्तो र मीठो खाना पाउने होटल छन् । धार्केदेखि नौबिसै हुँदै खानीखोला, सिक्रेखोलासम्म यात्रुलाई नास्ता मात्रै दिने दर्जनौं होटलहरू छन् ।


खानीखोलाको राजमार्गसँगै जोडिएको मच्छिन्द्रनाथ होटलले गत सातासम्म एक सय पर्ने चिकेन म:मको मूल्य १५ गतेदेखि १ सय ४० असुल्ने गरेको छ । उक्त होटलले नास्ता , फास्टफुड र कुरमुरे, आलुचिप्स लगायतका सवै जंकफुडमा ३० देखि ४० प्रतिशत वृद्धि गरेको छ । धार्केस्थित ऑधीखोला होटलमा ग्राहकले माछामा कीरा परेको फोटो सामाजिक सञ्चालमा हालेर स्थानीय प्रशाासनलाई समेत खबर गरे । सलाङ्गघाटस्थित चितवन होटलमा खानाको होटलमा राखेको मूल्यसूची भन्दा ३० रुपैयाँ बढी असुलेपछि विवाद गर्न खोज्दा पानीको बोतल दिएर चुप लगाएको ग्राहकले नै बताएका छन् ।


गत सातासम्म मात्रै ५० रुपैयाँ पर्ने आलु र चाउचाउ एक २ दिनमै दुनाको ८० लिन थालेका छन् । ७० जिल्लाबाट राजधानी आउने सार्वजनिक बस, ढुवानी साधनहरू, निजी र सरकारी सवारीहरूका यात्रुले दैनिक यिनै होटल प्रयोग गर्छन् । सालको पातको दुनामा ६ वटा पकौडाको मूल्य ७० देखि ९० रुपैयाँ, आलु चप प्रतिगोटा २५ रुपैयाँ, चाउचाउ ४० रुपैयाँ, बिस्कुट ६० रुपैयाँ, पकाएको यौटा चाउचाउ ३ जना लाई बाँडेर १ सय ८० रुपैयाँ, उसिनेको अण्डा २५ रुपैयाँ, चना प्रतिप्लेट ६० रुपैयाँ, ४० को आलु चिप्स, कुरकुरे ६० रुपैयाँ, बोतलको पानी ३० रुपैयाँ असुलिँदै आएको छ ।


सडक छेउका यी पसलहरू कतै पनि दर्ता छैनन् र पसलमा जिल्लामा लागू गरिएको कुनै मूल्यसूची पनि छैन । राजमार्गका पसलहरूमा चर्को मूल्य तिर्ने सर्वसाधारण यात्रुहरू मात्रै हुन्नन् । निजी गाडीमा आएका सम्भ्रान्त, सरकारी कार्यालयका कर्मचारी सबै हुन्छन् । एकीकृत अनुगमनको अभावमा राजमार्गमा मनपरी बढेको स्वीकार गर्दै जिल्ला कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालले जनशक्ति अभावमा पनि नियमित अनुगमन हुन नसकेको बताए ।


स्थानीय प्रशासन, जिल्ला वन, सडक डिभिजन, घरेलु, कोष तथा लेखा नियन्त्रक, खाद्य तथा गुणस्तर विभाग सबै एकजुट भएर सधैं सँगै अनुगमन गर्न कठिनाइ भएकाले मनपरी भएको हो । हाल कर्मचारी अभावमा पनि अनुगमन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए ।


जिल्ला होटल संघका अध्यक्ष राजकुमार प्याकुरेलले ‘अवैध रूपमा सञ्चालित नास्ता पसल र होटलहरूकै कारण धादिङको राजमार्ग क्षेत्र वदनाम भएको र स्थानीय प्रशाासनले महँगी नियन्त्रण, अवैध होटल व्यवसाय नियन्त्रणकोमा ध्यान नदिई दर्ता भएका होटलहरूलाई मात्रै तह लगाउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित : आश्विन १८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?