धमाधम बनाइँदै सडक

तीन नगरपालिका र नौ गाउँपालिकाले दसंै लक्षित गरेर सडक तयार गर्न दिएका हुन्
अनिश तिवारी

सिन्धुपाल्चोक — मुख्य तथा गाउँ पुग्ने सडक व्यवस्थित बनाउन स्थानीय सरकार एकैसाथ जुटेका छन्  । तीन नगरपालिका र नौ गाउँपालिकाले दसैं लक्षित गरेर सडक तयार गर्न दिएका हुन्  ।

(सिन्धुपाल्चोक) -मुख्य तथा गाउँ पुग्ने सडक व्यवस्थित बनाउन स्थानीय सरकार एकैसाथ जुटेका छन् । तीन नगरपालिका र नौ गाउँपालिकाले दसैं लक्षित गरेर सडक तयार गर्न दिएका हुन् । हेलम्बु गाउँपालिका पर्यटकीय हेलम्बुको प्रत्येक गाउँ जोड्ने सडकलाई ग्राभेल, मर्मत सम्भारमा जुटेको छ ।


मेलम्ची हेलम्बु तिम्बु सडकखण्डको १६ किलोमिटर बर्खामा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको छ । मेलम्चीघ्याङ, तार्केघ्याङ ,पाल्चोक भेगसम्म जोड्ने सबै सडक तयारी हुन थालिसकेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनी–भोटेनाम्लाङ, बासखर्क–बरुवा,भोताङ, गुन्साजस्तो दुर्गम गाउँ जोड्ने सडक मर्मत सकिसकेको जनाएको छ । दसैंैअघिसम्म ‘सबै सडकलाई सञ्चालनमा ल्याएर छाडिसक्छांै, त्यसैलाई केन्द्रित गरेर मर्मतसम्भारका लागि बजेट छुट्याएका छांै,’ पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टसी लामा हेल्मोले भने ।

Yamaha


दसैंलाई केन्द्रित गरेर गाउँभरको सडक मर्मत गरी तयारी हालतमा बनाउन लागेको उनको भनाइ छ । ‘सबै सडक बनिसकेपछि स्थानीयलाई दसंैका उपभोग्य सामग्री ल्याउन सजिलो पार्न लागेका छौं,’ उनले भने । बाह्रबिसे नगरपालिकाले दसंैलाई विशेष केन्द्रित गरेर गाउँभर मर्मतको अभियानलाई तीव्रता दिएको छ ।


क्षेत्री, बाहुनदेखि तामाङ, थामीलगायत अधिकांश जाति नगरभित्र बसोबास गर्ने भएकाले दसंै लक्षित गरेर सडकलाई प्राथामिकतामा राखिएको बाह्रबिसे नगरपालिकाका प्रमुख निफुन्जो शेर्पा सुनाउँछन् । ‘प्रमुख राजमार्गसँगै जोडिएका सबै मार्गलाई विस्तारै सम्भार र बजार क्षेत्रको सडक कालोपत्रे गर्दै छांै, घुम्थाङ, कर्थली, घोर्थलीजस्ता लेकाली गाउँको सडकलाई बलियो बनाउँदै छांै,’ शेर्पाले भने । उनले दसंैअगाडि सडकको पूर्वाधार भरपर्दो बनाउन १५ वटा एक्जाभेटर रातारात प्रयोग गरिरहेको प्रस्टयाए । लिशंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले गाउँपालिकाभरका बर्खामा बन्द भएका सबै सडक चल्न थालिसकेको बताए । ‘हालै ठूलोधादिङ, पेटुकमा सार्वजनिक यातायात नै चलाइसकेका छौं,’ नेपालले भने, ‘दसंैका लागि भनेर केही बाहेक सबै सडक व्यवस्थित बनाइसक्यांै ।’ लामोसाँघु जिरी सडकबाट जोडिएका मुख्य र शाखा ठूलोपाखर, धादिङ जोड्ने झन्डै तीन सय हाराहारीका सडक थप मर्मतको कार्य अहिले हँुदै छन् । बलेफी गाउँपालिकाका वडा ८ का अध्यक्ष चरिबहादुर तामाङले दसंैअघि बजार क्षेत्र सफा बनाइसक्ने र सडकको पूर्वाधार बनाइसक्ने लक्ष्य राखेका छन् । ‘दसंैलाई उल्लासमय बनाउन सडकलाई पहिलो प्राथामिकतामा राखेर काम भइरहेको छ,’ तामाङले भने ।


जिल्लामा नमुना गाउँ नगर बनाउन कस्सिएका जनप्रतिनिधिले सडकलाई केन्द्रबिन्दु बनाएर अरू योजनालाई अगाडि लगेको बताएका छन् । मेलम्ची नगरले मर्मत अवस्थाका मुख्य सडकको दुरावस्था भए पनि अन्य सडक निर्माणले फडको मारेको बताएको छ । ‘सडकको कारणले समस्या आइरहेको छ, त्यसैले यसलाई जोड दिएका छौं,’ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने ।

बाटो खोलिँदै
दोलखा (कास)– दसैंमा मनाउन घर आउनेहरूको सुविधालाई लक्षित गरी बिगु गाउँपालिकाले अवरुद्ध सबै ग्रामीण सडकहरू खोल्न थालेको छ ।


गाउँपालिकाभित्रका करिब तीन सय किलोमिटर सडक वर्षात्का कारण अवरुद्ध भएका थिए । अहिले पाँच वटा स्काभेटर सडक खोल्न व्यस्त छन् । दसंै मनाउन घर आउनेहरू गाडीबाट गाउँबस्तीमै आइपुग्न सकून् भनेर सडक मर्मतलाई तीव्र पारिएको अध्यक्ष युधृष्टि खड्काले बताए ।


उक्त गाउँपालिकाको सिंगटीदेखि लादुक ११ किलोमिटर, लादुकदेखि बराङसम्म १३ किलोमिटर, सोरुङदेखि चिलङखासम्म ३५ किलोमिटर, साङवा, आलम्पु र बिगुसम्म करिब ३५ किलोमिटर र बुक्मादेखि साङवासम्म १२ किलोमिटर सडकका अवरोध हटाएर धमाधम खोलिँदै छन् । केही दिनमा अस्थायी रूपमा सबै सडकहरूमा मोटर चल्न सक्ने गाउँपालिकाले अध्यक्ष खड्काले बताए । जिल्लाको अति दुर्गम उत्तरी क्षेत्रको बिगु गाउँपालिकामा दसैं लक्षित सडक खुलाउने अभियानमा उपभोक्तले पनि साथ दिएका छन् ।


देशका विभिन्न भागदेखि भारतबाट समेत यस गाउँका बासिन्दा मोटर नै रिर्जभ गरी दसंै मान्न आउँछन् । बाहिरबाट करिब १० हजार स्थानीय दसंैमा घर आउने अनुमान छ । उनीहरूलाई लक्षित गर्दै पालिकाले भाडामा स्काभेटर लिएर बाटो खोल्न थालिएको हो । घण्टाको चार हजार ६ सय रुपैयाँ बोलकबोलमा लिइएको स्काभेटरका साथमा पालिकाका एक प्राविधिक छन् ।

प्रकाशित : आश्विन २४, २०७५ १०:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाउँपालिकाद्वारा १७ वटा पिङ

‘संस्कृति, कलाको संरक्षण र सीपको हस्तान्तरण गर्न पिङ हाल्न लागेका हांै’
प्रताप विष्ट

हेटौंडा — गाउँ घरमा दसैंमा रमाईरमाई खेल्ने रोटेपिङ लोप हुने अवस्थामा पुगेको छ  । रोटेपिङ र लिङ्गेपिङमा रमाउनेहरू हराउँदै गएका छन्  ।

सहर उन्मुख गाउँका अधिकांश युवाहरूले रोटेपिङ देख्नसमेत पाएका छैनन् । दसैंतिहारको रमाइलोसँग जोडिएको पिङ सस्कृति हराउँदै गएकाले त्यसको संरक्षण र जर्गेना गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिकाले काठको रोटेपिङसहित १७ वटा पिङ हाल्ने भएको छ ।


‘संस्कृतिको जर्गेना र पिङ संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाका सबै वडाहरूमा दसैंमा पिङ हाल्न लागेका छौं,’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले भने, ‘संस्कृति, कलाको संरक्षण र सीपहरूको हस्तान्तरण गर्न पिङ हाल्न लागेका हौं ।’ काठको रोटेपिङ बनाउने कालिगढ (सिकर्मी)हरू नै गाउँमा नपाउने अवस्था पुगिसकेको छ । रोटेपिङको प्रचलन हराएकाले गाउँमा भएका कालिगढहरूले सीप पनि हस्तान्तरण गर्ने अवसर पाएका छैनन् ।


‘सीप हस्तान्तरण गर्न र गाउँमा अर्गानिक ढंगले दसैं मनाउनका लागि गाउँपालिकाले प्रत्येक वडामा २/२ वटा र गाउँपालिकाको कार्यालय रहेको केन्द्रमा काठको रोटेपिङ हाल्न लागेको छ,’ अध्यक्ष हुमागाईंले भने, ‘वडा–वडामा रोटेपिङ हाल्न कालिगढको अभाव र काठको पनि समस्या देखियो, अर्को वर्ष वडा–वडामा एक/एकवटा रोटेपिङ हाल्ने र लिङ्गेपिङको संख्या पनि वढाउनेछांै ।’


लिङ्गेपिङको लागि हरियै रूख वा बाँस भए पनि हुन्छ तर रोटेपिङको निम्ति आवश्यक पर्ने काठहरू सुकेको हुनुपर्छ । एउटा रोटेपिङको निम्ति बलियो जातको ३० क्युफिटभन्दा बढी काठ आवश्यक पर्छ । चुच्चे खोला सामुदायिक वनले रोटेपिङको निम्ति काठ उपलब्ध गराउने र गाउँमा रहेका उमेरपाका भएसकेका सिकर्मीहरूले रोटेपिङ बनाउने जनाएका छन । ८ वडामा विभाजित उक्त गाउँपालिकाका प्रत्येक वडामा २/२ वटा लिङ्गेपिङ हाल्ने जनाएको छ । गाउँमा पिङहरू भए भने दसैंतिहारमा मदिरा सेवन गरेर होहल्ला गर्ने र तासजुवा खेल्ने विकृतिमा पनि कमी आउने स्थानीय रामजी सापकोटाले बताए । गाउँपालिकाले पिङको संस्कृतिलाई जीवन्त राख्न खोजेकोमा खुसी हुँदै उनले भने, ‘पिङ हाल्न गाउँपालिका र वडा समितिले स्थानीयवासीलाई सहभागिता गराउनुपर्छ ।’


मकवानपुमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका छन । गाउँपालिकाले आफ्नै अगुवाइमा रोटेपिङसहित सवै वडामा पिङ हाल्न लागेको यस जिल्लाको यो मात्र एक गापा हो ।


यसैगरी, मनहरी गाउँपालिकाले हाँडीखोलामा एउटा र मनहरीमा एउटा लिङ्गेपिङ हाल्ने योजना बनाएको छ । ‘गत वर्ष पनि २ वटा लिङ्गेपिङ हालेका थियौ’गापा अध्यक्ष एकराज उप्रेतीले भने,‘यो वर्ष पनि त्यसै गर्छौं ।’ पिङ संस्कृति मासिइसकेको थियो स्थानीय तहका जनप्रतिनिधिहरूले ध्यान पुर्‍याए भने जोगिन्छ कि भन्ने स्थानीय बूढापाकाहरूलाई लागेको छ । ‘भौतिक पूर्वाधारहरू निर्माण गरेर मात्र विकास नहुने भएकाले संस्कृतिहरूको जर्गेना गर्नुपर्छ,’ स्थानीयवासी सापकोटाले भने ।


तीन दशकअघिसम्म गाउँ/गाउँमा रोटेपिङ र लिङ्गेपिङ हुन्थ्ये । निधारमा रातो टीका, कानमा जमरा सिउरेर र नयाँ कपडा लगाएर पिङमा घुइँचो लाग्थ्यो । अहिले त्यो क्रम घट्दो मात्र होइन, लोपोन्मुख अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

प्रकाशित : आश्विन २४, २०७५ १०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT