कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक वनमा सल्ला सुके

टीकाप्रसाद भट्ट

रामेछाप — सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका करिव ९० प्रतिशत सल्लोका रूख सुकेका छन् । तत्कालीन जिल्ला वन कार्यालयले उक्त सल्लो रोपेको थियो । सल्लो सुकेपछि जंगल उराठ भएको छ ।

सामुदायिक वनमा सल्ला सुके

समुद्र सतहदेखि १ हजार मिटर माथि मात्र हुने सल्लोको बिरुवा होचो र धेरै गर्मी हुने मन्थली आसपासको क्षेत्रमा लगाउँदा उक्त कार्यालयले कुनै अध्ययन गरेको थिएन ।


जलवायु र माटो सुहाउँदो बिरुवा लगाउनुपर्नेमा वृक्षरोपणको नाममा अध्ययनबिना होचो भागमा सल्लो लगाइएको थियो । मन्थली आसापासको क्षेत्र १ हजार मिटर भन्दा होचो भागमा पर्छ ।
स्थानीय शिवप्रसाद सुवेदीका अनुसार सानीमदौ क्षेत्रमा मात्र यो वर्ष सयौं सल्लो ठाडै सुकेका छन् । ‘१० मा ९ सुकेका छन्,’ सुवेदीले भने, ‘अब हरियो गन्न सकिने मात्र बाँकी छन् ।’ उक्त क्षेत्रमा करिव १५ वर्षअघि सल्लो रोपिएको थियो । सल्लोका रूखहरू झन्डै एक फिट गोलाइसम्मका भएका थिए ।


सल्लो रोपेपछि स्थानीय जातका रूखबिरुवा नासिएका छन् । सल्लो जातको बिरुवाले वरिपरि अन्य प्रजातिका बिरुवा हुर्कन दिँदैन । स्थानीय सतिवयर, धंगेरा, बोटधंगेरा, खयर, करम लगायतका बिरुवाहरूको धेरै कमी भएको छ । ‘पहिलेका विबरुवा छैनन, सल्लो पनि मर्‍यो,’ सुवेदीले भने– वन उजाड जस्तै बनेको छ ।


डिभिजन वन अधिकृत शभ्भु तिवारीले ठूलो परिणाममा सल्लो मर्नुका पछाडि विस्तृत अध्ययन नै गर्नुपर्ने बताएका छन् ।


चिसो तापक्रममा हुने प्रजातिलाई तातो हावापानी र गर्मी हुने क्षेत्रमा लगाइएकाले सल्लो मरेको हुन सक्ने बलियो आधार रहेको उनले बताए । ‘अध्ययन गरेर मात्र बिरुवा लगाउनुपथ्र्यो,’ तिवारीले भने, ‘त्यति बेलाका साथीहरूले ख्याल पुर्‍याउनु भएनछ ।’


तिवारीका अनुसार मन्थली मात्र हैन, धेरै बेंसी क्षेत्रमा सल्लाको रूखहरू ठाडै सुकेका छन् । यसो हुनुमा जरामा लाग्ने रोग पनि हुन सक्ने आशंका उनले गरेका छन् । बाबियाखर्क, भलुवाजोर क्षेत्रमा पनि सल्लो नासिने क्रममा रहेको उनले बताए ।


तिवारीका अनुसार १ हजार मिटरभन्दा तलको भागमा सल्लो लगाउनु हुँदैन । ‘चिसो पाउन्जेल ती थेगिए, जब तातो बढ्यो मरे,’ तिवारी भन्छन्– यतिन्जेलसम्म जवरजस्ती बाँचे । तिवारीका अनुसार मन्थली आसपासको क्षेत्रमा उपयुक्त हुने बिरुवा खयर, सिसौ र साल हो । कम वर्षा हुने सुख्खा क्षेत्रमा पछिल्लो वर्ष क्यासियो फष्टाएको छ । क्यासियोलाई कम पानीमा गर्मी सहने बिरुवाको रूपमा लिइन्छ ।


जलवायु परिवर्तनका कारण पहाडको माथिल्लो क्षेत्रमा हुने बोट बिरुवाहरू होचो बेंसी क्षेत्रमा पनि पाइन थालेका थिए । चिलाउने, कुटमिरो जस्ता प्रजातिहरू बेंसीमा हुनु अनौठो मानिन्छ । ती बिरुवाहरू पनि केही वर्षको अन्तरालमा मर्न थालेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?