कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीय बजार सुनसान

‘उतिबेला पर्यटक हिँड्दा बाटो पाउन मुस्किल हुन्थ्यो, अहिले बाटामा पर्यटक देख्दा नौलो लाग्छ’
टीकाप्रसाद भट्ट

रामेछाप — पर्यटक ओहोरदोहोर गर्ने मुख्य सिजनमा रामेछापको शिवालय बजार सुनसान छ । पर्यटक ओहोरदोहोर गर्ने मुख्य गौंडोमा पर्ने उक्त बजारमा पर्यटकका लागि बनाइएका होटल रेस्टुराँहरू पनि सुनसान छन्  ।

पर्यटकीय बजार सुनसान

पर्यटक ओहोरदोहोर नगण्य छ । स्थानीय बासिन्दा व्यवसाय खोलेर बसेका छन् तर बजार पहिले जस्तो छैन ।

द्वन्द्वकै बेलादेखि उक्त मार्ग सुनसान हुँदै आएको हो । त्यसयता गौरीशंकर संरक्षण क्षेत्रको पर्यटकीय मार्ग हुँदै सगरमाथा आधारशिविरतर्फ जाने पर्यटकको संख्या लगातार ओरालो लागिरहेको छ । पर्यटक आवागमन यो सिजनमा फाट्टफुट्ट मात्र त्यस क्षेत्रबाट सगरमाथा आधारशिविरतर्फ जाने गरेका छन् । जुन संख्या हरेक वर्ष ओरालो लागिरहेको छ ।

कुनै बेला सगरमाथाको गेट भनेर चिनिने दोलखाको सुन्दर पर्यटकीय स्थल जिरीसम्म सडक मार्गबाट आउने पर्यटकले शिवालय खचाखच हुन्थ्यो । स्थानीय व्यवसायी निमा शेर्पा भन्छन्, ‘पर्यटकलाई बास मिलाउन स्थानीयलाई हम्मे हुन्थ्यो । पथप्रदर्शक, भरिया र विदेशी पर्यटकहरूको चाप बजारमा छपक्कै हुन्थ्यो ।’

उनी थप्छन्, ‘अहिले हामीले घाट कुरेका छौं, तर पर्यटक र त्यो चहलपहल पाएका छैनौं, ‘उस बेला पर्यटक हिँड्दा बाटो पाउन मुस्किल हुन्थ्यो, अहिले बाटामा पर्यटक देख्दा नौलो लाग्छ ।’

जिरीपछि पहिलो रात बिताउने थलो शिवालय बजारदेखि साङाडाँडा, देउराली, भण्डार, किन्जा जस्ता पर्यटक लक्षित बजारमा उस्तै सन्नाटा छ । धेरै व्यवसायीहरूले आफ्नो पेसा परिवर्तन गरिसके । पर्यटक लक्षित कतिपय व्यवसाय बन्द भएका छन् ।

गौरीशंकर संरक्षण क्षेत्र र प्रहरीको संयुक्त चेकजाँच चौकी शिवालयमा रहेको तथ्यांकबमोजिम गत वर्षको तुलनामा यस वर्षको सिजनमा पर्यटक आवागमन न्यून देखिएको छ । गएको वर्ष सेक्टेम्बर र अक्टोबर महिनामा १ हजार ७६ जना पर्यटक उक्त मार्ग भएर सगरमाथा आधारशिविरतर्फ गएका थिए । तर यो वर्ष सोही अवधिमा ५ सय ५० जना मात्र पर्यटक आएका छन् । ‘अब धेरै पर्यटक आउलान् भन्ने छैन,’ स्थानीय डुक्पा शेर्पा भन्छन्, ‘मुख्य सिजन सकिन लागेकाले गत वर्षको जति पनि पर्यटकको आवागमन हुँदैन ।’

पर्यटक किन घटे ? स्थानीय राजन कार्की भन्छन्, ‘निजी विमान कम्पनीहरू धेरै खुलेकाले पर्यटकहरूलाई सिधै लुक्ला पुग्न सहज भयो । अर्को सोलुको फाप्लुसम्मको सडक कालोपत्रे भएपछि त्यताबाट मात्र पैदल यात्रा गर्ने बढे ।’

गौरीशंकर संरक्षण क्षेत्रको बाटो भएर हिँड्दा अनुमति लिइरहनुपर्ने झन्झटका कारण पनि केही घटेको उनको अनुमान छ । एउटै मार्गमा गौरीशंकर र सगरमाथा संरक्षण क्षेत्र परेकाले दुवैमा प्रवेश अनुमति लिनुपर्ने बाध्यता पर्यटकलाई छ । पैदल यात्रा गर्दा स्थानीय रहनसहन, संस्कृति बुझ्न र स्थानीय हावापानीसँग घुलमिल हुन सहज हुने भएकाले थोरै पर्यटकहरू मात्र पैदल यात्रा गरिरहेका भेटिन्छन् ।

शिवालयका व्यवसायीका अनुसार उक्त मार्गबाट जानेहरू अधिकांश हवाई मार्ग हुँदै काठमाडौं फर्कन्छन् । ‘पर्यटक जाँदा र आउँदा उत्तिकै खचाखच हुन्थ्यो । जति जान्थे उति नै फर्कन्थे । अहिले करिब करिब एकतर्फी जस्तो छ,’ शेर्पाले भने ।

प्रकाशित : कार्तिक १२, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?