कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ हजार ऋणले बनायो बेहाल

‘मुद्दा लड्ने पैसा नहुनु र जताततैबाट धोका भएकाले सबैतिर हारियो,’ उनले आशु खसाल्दै भनिन् ।
राजेन्द्र मानन्धर

दोलखा — जुनकिरी नाम भए पनि उज्यालो छैन जिन्दगी । मुद्दामामला नबुझ्दा सर्वस्व गुमाएकी जुनकिरी भन्छिन्, ‘अब मरियो भने पनि खर्च गर्नेसम्म पैसा छैन ।

७ हजार ऋणले बनायो बेहाल

भीमेश्वर नगरपालिका— १ की जुनकिरी विश्वकर्मालाई नाता पर्नेसँग लिएको सात हजार ऋणले त्यस्तो हालतमा पुर्‍याएको हो ।

जुनकिरीका श्रीमान् कर्णबहादुर विश्वकर्मा अहिले किड्नीको समस्याले डायोलसिस गरिरहेका छन् । कर्णबहादुरले २०५२ सालमा लिएको सात हजार ऋण बढ्दैबढ्दै अदालतकै फैसलाले खेतबारी सबै लिलामी भयो ।

६ मानाको खेत र पाँच मानाको मकैको बीउ लिलामीमा परेपछि बिरामी श्रीमान्लाई ओछ्यानमा छाडेर न्याय खोज्दै हिँडिन् । जुनकिरी अनपढ भएकीले अदालती प्रक्रिया चुकाउँदै गइन् । सल्लाह दिनेहरूबाट राम्रो सल्लाह पाइनन् । उनका तर्फबाट साक्षी बक्नेहरूले अदालतमा गएर सघाएनन् ।

साक्षीहरू बोलाएको दिन अदालत नगएर काठमाडौं घुम्न गए । जुनकिरीले भनिन्, ‘सबैबाट धोका भएपछि मुद्दा हारियो, खेतबारी सबै लिलामी भयो ।’

जुनकिरीलाई बिरामी श्रीमान् पाल्न र दुई छोरालाई पढाउने, हुर्काइबढाइ गर्ने दायित्व छ । उनी र छोराहरू बनीबुतो गरेर हिँड्छन् । खेतबारीको अन्न भएन भने उक्त परिवार भोकभोकै बस्नुपर्छ । त्यसैले उनले लिलामीमा परेको जमिन छाडिनन् । आफैंले उब्जाउ गरिरहेपछि फेरि अदालतमा मुद्दा पर्‍यो । जुनकिरीलाई अर्काको जमिनको अन्न लुटपाट गरेको ठहर भयो । त्यसबापत् आठ हजार तिर्नुपर्ने भयो ।

जुनकिरीले उक्त पैसा पनि तिर्न सकिनन् । फेरि उनलाई अर्को जनाउ म्याद छ । कानुनअनुसार उक्त पैसा नतिरेबापत् उनको घर भएको तीन सय वर्गमिटर जमिन डाँक लिलामी गरी वादीलाई भराइदिने अदालतले म्याद दिएको छ । महिला मानवअधिकारकर्मी सिर्जना कार्की भन्छिन्, ‘जुनकिरीलाई आठ हजार सहयोग गरे बाँकी तीन सय वर्गमिटर जमिन जोगिन्छ तर उनी सर्वस्व गुमेको अवस्थामा किन पुग्नुपर्‍यो, त्यसको अनुसन्धान हुनुपर्छ ।’

अदालतले प्रमाण र अदालती प्रक्रियामा फैसला गर्दै गएको देखिन्छ । जुनकिरीले अदालती प्रक्रिया टुटाएको र प्रमाणहरू जुटाउन नसकेकाले मुद्दा हार्नुपरेको बताइन् । ‘मुद्दा लड्ने पैसा नहुनु र जताततैबाट धोका भएकाले सबैतिर हारियो,’ उनले आँसु खसाल्दै भनिन् ।

त्यति थोरै पैसाको कारोबारले एउटा परिवार सुकुम्बासी हुनु न्यायको सिद्धान्त हैन । ‘तर कानुनअनुसार जुनकिरीसँग सम्बन्धित मुद्दा टुंगिसकेको पाइयो,’ पुरानो मिसिल हेरेपछि न्यायाधीश कमलराज विष्टले भने । अब अदालतमा बुझाउनुपर्ने आठ हजारको सम्बन्धमा मात्रै कानुनले मिल्लेसम्म सहुलियत दिन सकिने उनले बताए ।

जिल्ला समन्वय समिति सदस्य मुरारी सिवाकोटीले जुनकिरीको परिवार अन्यायमा परेको र मिलाइदिन खोज्दा नसिकिएको बताउँछन् । अब जुनकिरीको भन्नु जेठाजुको जमिनमा बनाएको सानो घर छ । बिरामी श्रीमान् र दुई छोरा छन् । भनिन्, ‘जालझेलमा परिएपछि अनाहकमा सबै सम्पत्ति गुम्दो रहेछ भन्ने सबैले थाहा पाऊन् ।’

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?