कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोलमा अस्पताल

प्रसव पीडा
कान्तिपुर संवाददाता

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाभित्रको दुर्गम बस्तीकी सुत्केरी व्यथा लागेकी महिलालाई गत साता गाउँले राति नोलमा बोकेर हेटाैंडा अस्पताल ल्याए  । उनलाई हेटौंडा ल्याउन चार घण्टा लाग्यो  ।

नोलमा अस्पताल

हेटाैंडा उपमहानगरपालिका १९ को पन्ध्रसोलाकी २२ वर्षीय गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि गाउँमा बर्थिङ सेन्टर नभएकाले रातारात बोकेर उनलाई हेटौंडा पुर्‍याएको स्थानीय युवा अविराम मोक्तानले बताए । ‘एम्बुलेन्सलाई खबर गर्दा पनि आएन र बाध्य भएर नोलमा बोकेर हेटाैंडा पुर्‍यायौं,’ उनले भने ।

हेटौंडा उपमहानगरपालिकाको अति दुर्गम क्षेत्रको रूपमा रहेको ज्यामिरे, पन्ध्रसोला र कुवापानीमा स्वास्थ्यचौकीको अभाव छ । ज्यामिरेमा सहरी स्वास्थ्य क्लिनिक छ तर बर्थिङ सेन्टर छैन । स्कुलको सानो भवनमा स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ । उक्त क्लिनिकमा अहेव, अनमी र कार्यालय सहयोगीसहित चार जना कार्यरत छन् । ‘क्लिनिकमा सामान्य उपचार हुने गरेको छ तर सुत्केरी यहाँ गराइँदैन,’ अहेव प्रकाश बर्तौलाले भने, ‘सुरक्षित ढंगले सुत्केरी गराउन उपकरणको अभाव छ ।’ बर्थिङ सेन्टरलाई आवश्यक पर्ने उपकरणहरू भए सामान्य ढंगले सुत्केरी गराउन हेटौंडा बोकेर लैजान पर्दैन उनले थपे ।

उक्त क्लिनिकमा मासिक रूपमा २० जना गर्भवती परीक्षण गराउन आउने गरेका छन् । उक्त क्लिनिकमा सुरक्षित ढंगले सुत्केरी गराउन सक्ने दक्ष जनशक्ति छ तर उपकरणको अभाव छ । क्लिनिकको निरीक्षण गर्न पुगेका हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बर्थिङ सेन्टरको निम्ति आवश्यक पर्ने उपकरणहरू उपमहानगरपालिकाले एक साताभित्रमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उपकरणहरू उपलब्ध हुने बित्तिक्कै सुत्केरी व्यथाका लागेका गर्भवती महिलाहरूलाई चार/चार घण्टा नोलमा बोकेर हेटांैडा लैजानुपर्दैन,’ अहेव बर्तौलाले भने ।

हेटौंडा उपमहानगरपालिकाले एक/दुई दिनभित्रका बर्थिङ सेन्टरलाई आवश्यक पर्ने उपकरण उपलब्ध गराउने उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए । ‘उक्त बस्तीमा यसै वर्ष स्वास्थ्य चौकीभवन पनि निर्माण हुनेछ,’ उनले भने । अधिकांश तामाङ समुदायको मात्र बसोबास रहेको उक्त क्षेत्रका साढे २ सय घरधुरी छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?