कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाले बनाए पार्क

‘सफा गर्न कुनै दिन पाँचजना भइयो, कुनै दिन ५० जना पनि जुटियो । झाडी हटाएर चौर छ्याङ्ग बनाएपछि त यो ठाउँको रूपै अर्कै भयो ।’
रमेशकुमार पौडेल

चितवन — भरतपुर नारायणगढ क्षेत्रका बासिन्दाले जोरकुसुम भन्ने ठाउँ पहिल्यैदेखि सुन्दै आएका हुन् । त्यो ठाउँमा अहिले मनोरम पार्क बनेको छ ।

युवाले बनाए पार्क

नारायणगढ–मुग्लिन सडकको सुरुवात विन्दु आँपटारीबाट उत्तरमा दियालो बंगला दरबार क्षेत्रको जंगलको पश्चिम कुनामा छ, कुसुमका दुईवटा ठूला रुख । रुखको आडको चौर अहिले पार्क बनेको छ ।


बिहान झिसमिसेमा ‘मर्निङ वाक’ गर्नेदेखि दिउँसोपख सहरको होहल्लाबाट मुक्त ठाउँ बस्न चाहनेहरू जोरकुसुम पार्क पुगेकै हुन्छन् । युवा– युवतीको जोडी यो ठाउँमा घण्टौं गपिँmदै बसेका भेटिन्छन् । चिया–खाजा खान साना तीनवटा खाजा घर त्यहीँ छन् । तल नारायणी नदीको कलकल सुनिन्छ । वरपर जंगलको हरियाली छ, चराहरू चिरबिर गर्छन् । अलि पर उत्तरतर्फ तरेली परेका पहाड र लतमन्न परेको नारायणी नदी देखिन्छ ।


‘सडकबाट नजिकै छ । तर गाडी कुदेको चाल पाइन्न । बजारबाट पनि नजिकै छ धूवाँ धूलो र हो–हल्ला छैन । जंगल छ तर असुरक्षा छैन । सानै भए नि खुला चौर छ आडैमा विशाल नारायणी बग्छ । तर नदीभन्दा अग्लो ठाउँमा यो चौर छ । यो चानचुने पार्क हैन, गज्जबकै फूलबारी हो,’ नारायणगढका सुधीर श्रेष्ठ रमेशले भने । दुई वर्षअघि सुधीरले वर्णन गरेको जस्तो थिएन यो ठाउँ । चौर पूरै झाडीमा पुरिएको थियो ।


नारायणगढ–देवघाट पैदल आउजाउ गर्नेहरू जोरकुसुम हुँदै हिँड्छन् । यो बाहेक हरेक पुस महिनामा नेवार समुदायको गुठी पूजा हुन्छ । बजारभरका नेवारहरू गुठीपूजा गर्न त्यहाँ भेला हुन्छन् । जोरकुसुम देवघाट जाने पैदलयात्री र गुठीपूजा गर्नेहरूका लागि परिचित ठाउँ थियो । तर सुधीर लगायतका स्थानीय युवाहरूको निरन्तरको मिहनेतले यसको फरक परिचय पनि निर्माण भएको हो ।


‘पुसमा गुठीपूजा हुनुभन्दा एक/दुई दिनअघि यहाँ आएर झाडी फाँड्ने गर्दथ्यौं । यो ठाउँको जुन सुन्दरता छ त्यो गुठीपूजाका लागि मात्रै नभएर अरू बेला पनि डुल्न, बस्न हुन्छ भन्ने लागेर यसलाई सफा बनाउने जाँगर चलायौं,’ सुधीरले भने । दुई वर्षअघि गुठीपूजा सकेपछि पनि सुधीर र उनका साथीको सफाइ अभियान जारी नै रहयो । अहिले पनि घरमा हुँदा र दु:खबिमार नहुँदा सुधीर साथीसँग मिलेर पार्क सफा गर्न पुगेकै हुन्छन् ।


सुधीर जोरकुसुम पार्क संरक्षण समितिका अध्यक्ष पनि हुन् । ‘सफा गर्न कुनै दिन पाँचजना भइयो, कुनै दिन ५० जना पनि जुटियो । झाडी हटाएर चौर छ्याङ्ग बनाएपछि त यो ठाउँको रूपै अर्कै भयो । मान्छेहरू आउने, डुल्ने र बस्ने, रमाउने गर्न थाले,’ सुधीरले भने । युवाहरूको जाँगरले चौर फेरिएको देखेपछि भरतपुर महानगरपालिका र देवघाट क्षेत्र विकास समिति पनि जागे ।


महानगरपालिकाले शौचालय र धारा बनाएको छ । देवघाट क्षेत्र विकास समितिले पनि शौचालय बनाएको छ । पार्क निर्माण अभियानमा सुधीरसँगै हातेमालो गर्दै आएका अर्का व्यक्ति हुन् महसुर पिया । उनको मनमा चौरलाई बार लगाउने र कुर्ची राख्ने सोच पलायो । अहिले वरिपरि फलामे पाइपको बार छ । २५ वटा कंक्रिटका बेन्चर छन् । यो कामका लागि बजारवासीले खुला हृदयले सहयोग गरेको महसुर पियाले बताए ।


यो ठाउँमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसमेत डुल्दै पुगेका छन् । भरतपुर महानगरपालिकाको वडा नं. १ मा पर्छ यो पार्क । नेकपा अध्यक्ष दाहाल यो ठाउँ देखेर मक्ख परेको र विकासका लागि थप सहयोग गर्ने वचन दिएको भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले बताए । पार्कलाई व्यवस्थित बनाउन वडा कार्यालयले यो वर्ष ४० लाख रुपैयाँ खर्च गर्दै छ ।


‘विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गर्ने अनि त्यसैका आधारमा खर्च र काम गरे यसलाई नारायणगढको मात्रै नभएर चितवनकै मनोरम क्षेत्र बनाउन सकिन्छ । नदी, जंगल र नदीले बनाएका भंगालाहरू यहाँ छन् । यस्तो ठाउँमा खाली चौर भेटिँदा बढीभन्दा बढी सदुपयोग गरौं भन्ने लागेको छ,’ सुधीरले भने ।

प्रकाशित : कार्तिक २६, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?