कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक स्थल बन्यो बगर

करोडौंको सहयोग जुटाएर एक्लैले बगरलाई धार्मिक स्थलमा परिणत गराउन उनलाई ८ वर्ष लाग्यो
प्रताप विष्ट

हेटौंडा — स्वार्थरहित लगनशील ढंगले काम गर्‍यो भने खोलाको बगर पनि धार्मिक स्थल बन्न सक्छ भन्ने पुष्टि भएको छ ।

धार्मिक स्थल बन्यो बगर

इमान्दारपूर्वक काम गर्नेहरूका निम्ति सहयोगी हात पनि सहजै जुट्छन् । निष्ठाका साथ एउटै व्यक्तिले काम गर्दा पनि परिणाम दिन सकिन्छ भन्ने उदाहरण बनेका छन्, हेटौंडा उपमहानगरपालिका(९ का ईश्वरी न्यौपाने ।


८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको बगर भनेर चिनिने त्रिवेणी अहिले धार्मिक स्थलका रूपमा परिणत भएको छ । धार्मिक पुस्तकहरूमा उक्त स्थलको विभिन्न किसिमका व्याख्या पाइए पनि २०६७ सालसम्म उक्त स्थल बगर मात्रै थियो ।


बहुदलीय कालमा वडाध्यक्षसमेत भएका न्यौपानेले उक्त स्थानको ऐतिहासिक महत्त्व रहेको कुरा योगी नरहरि नाथ, होमनाथ मिश्र र पण्डित देवीप्रसाद कोइरालाबाट जानकारी पाएपछि राजनीतिलाई चटक्कै छाडेर बगरलाई धार्मिक स्थलमा परिणत गर्न कस्सिएका हुन् ।


२०६७ साल जेठ ५ गतेबाट काम थालेको न्यौपानेले कहिल्यै विश्राम लिएनन् । बगर धार्मिक स्थलमा परिणत हुनुका साथै पर्यटकीय स्थलका रूपमा देशभरि परिचित बनिसकेको छ ।


साढे सात बिघा जमिनमा फैलिएको उक्त धार्मिक स्थलको निर्माण तत्कालीन जिविसअन्तर्गतको पर्यटन विकास समितिले ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यही रकमबाट सुरुवात गरेको यो अभियान अहिले करोडौंमा परिणत भइसकेको छ ।


धार्मिक स्थलमा आवश्यक भौतिक पूर्वाधार एवं मठमन्दिर निर्माण गर्न अहिले समस्या छैन । विगतमा केन्द्रीय सरकार, जिविस, नगरपालिका लगायतले सहयोग गरेका थिए भने अहिले प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० लाख र उद्योग पर्यटन मन्त्रालयले २० लाख रुपैयाँ सहयोग गरेका छन् ।


उक्त रकमले हेटौंडाको इतिहास झल्कने शिश महल र हेडम्बा राक्षसलाई भीमसेनले मारिदिएको मूर्तिसहितको भवन निर्माण भइरहेको छ । हेटौंडासँग जोडिएको महाभारतमा एक किंवदन्ती छ । पाँच पाण्डव वनवासका क्रममा यो स्थानमा आइपुगेका थिए ।


त्यति बेला हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई मारिदिए । हेडम्बा मारिएको ठाउँका रूपमा चिनिँदा चिनिँदै अपभ्रंश भएर यो स्थानको नाम हेटौंडा रहन गएको विश्वास गरिन्छ ।


विगत ८ वर्षदेखि निर्माण थालिएको यस धार्मिक स्थलमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखी धारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगँैचा रहेका छन् ।


त्रिवेणीधामको रूपमा परिचित उक्त स्थानमा दैनिक सरदर सयदेखि २ सय जना गौमुखी धारा नुहाउन, कुष्माण्ड सरोवर ढुंगा चढ्न र पूजाआजसहित अवलोकन गर्न आउने न्यौपानेले बताए । विशेषगरी माघे संक्रान्ति र कुष्माण्ड नवमीका दिन नुहाएर कुभिन्डो दान गर्ने दिन यहाँ भीड लाग्ने गर्छ । यो वर्षको कुष्माण्ड नवमी शनिबार अर्थात् मंसिर १ गते पर्छ । ‘भोलि यहाँ हजाराैं मानिस आएर नुवाईधुवाई गरेर कुभिन्डो दान गर्ने गर्छन्,’ न्यौपानेले भने, ‘कुष्माण्ड नवमीका दिन जनकपुरदेखि काठमाडाैंसमेतका भक्तजन यहाँ आउने गर्छन् ।


कुष्माण्ड सरोवरमा अवलोकनकर्ता एवं भक्तजन सरोवरमा सयर गर्न र सरोवरको मध्ये भागमा रहेको कुष्माण्ड भगवतीको पूजा गर्न २ वटा डुंगा राखिएका छन्,’ कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अध्यक्षसमेत रहेका न्यौपानेले भने, ‘दैनिक रूपमा यस क्षेत्रको महत्त्व बढदै गएको छ ।’ बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म न्यौपानेको खटाइ यही नै हुने गरेको छ ।


६२ वर्षीय न्यौपानेको खटाइ र निर्लोभीपनका साथै धार्मिक स्थलको विकासका कारणले दातृसंस्था र सहयोगी हातहरूले उनलाई विश्वास गरेका छन् । ३० औं वर्ष इमान्दार कम्युनिस्ट कार्यकर्ता भएर राजनीति गर्दै आएका न्यौपाने २०६७ सालदेखि राजनीतिलाई चटक्कै छाडेर यो धार्मिक कर्ममा लागेका हुन् ।


‘इमान्दारपूर्वक लगनशील भएर कुनै पनि काम गरेपछि सफल होइन्छ भन्ने कुरा ईश्वरी न्यौपानेबाट प्रेरणा लिनुपर्छ,’ वडाध्यक्ष लक्ष्मण भण्डारीले भने, ‘न्यौपानेको खटाइले बगरलाई सुन्दर धार्मिक स्थलका रूपमा परिणत भयो ।’ ३० वर्षको उमेरमा विदुर बनेका न्यौपानेले तीन छोरा हुर्काए तर दोस्रो विवाह गरेनन् । पत्नीको निधन हुँदा छोरा सानै थिए ।


धार्मिक स्थलको निर्माणमा उनलाई सबै क्षेत्रका व्यक्तित्व र संघसंस्थाले सहयोग गरेका छन् । कुष्माण्ड सरोवर त्रिवेणीधाम अहिले हेटौंडाको एउटा पहिचान बनेको छ । सहिद स्मारक अवलोकन गर्न आउने ९० प्रतिशत आन्तरिक एवं बाहय पर्यटक यहाँ आउने गर्छन् । ‘मान्छेले गरेपछि के नहुने रहेछ र ?,’ ७२ वर्षीय स्थानीयवासी लीलानाथ शर्माले भने, ‘एउटै मानिसको सक्रियता यस्तो राम्रो काम भयो ।’


धार्मिक कथन

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने रत्नावती, कर्णावती कौशवाही उत्तरवाहिनी नदीको संगमस्थलको रूपमा व्याख्या गरिएको छ ।


उक्त स्थानमा नवदुर्गामध्येकी चौथो कुष्माण्ड भगतवीको तपस्या गरी सिद्धप्राप्ति गरेको तथा ऋषिमुनिहरूले तपस्या गरेको र पाँच पाण्डवहरूले तीर्थ श्राद्ध तथा साधना स्थलको रूपमा यस क्षेत्रलाई प्रयोग गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।


पौराणिक मान्यता अनुसार रत्नावती (राप्ती) कर्णावती (कर्रा) र कौशबाही (कुखरेनी) नदीको संगमस्थललाई स्कन्दपुराणमा नवदुर्गामध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा क्रीडास्थलको रूपमा वर्णन गरिएकाले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्त्व रहेको प्रपन्न देवीप्रसाद कोइरालाले बताए ।

प्रकाशित : मंसिर १, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?